‘ग्यास्ट्रिक’ भनेर नबस्नूहोस्, हर्ट अट्याकको संकेत पनि हुनसक्छ’

धूम्रपानको लत र निष्क्रिय जीवनशैलीका कारण युवावस्थामै मुटुरोगको जोखिम बढ्दो

बैंकिङबाट बीमामा बिन्जु

बीमा कम्पनीको सञ्चालक, व्यवसायमा पनि संलग्न

आफ्नो पीडा भुलेर सामाजिक काममा सक्रिय वेदबहादुरको कथा

बाढीबाट क्षतिग्रस्त बनेको घरलाई टेको बनाएर हामीले पारीसम्म तर्न फड्के बनायौं ।

देउवा आए १५औं महाधिवेशनको उद्घाटन सत्रको अध्यक्षता गर्नुहुन्छ : राणा

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री उदयशमशेर राणाले केही नेता तथा कार्यकर्ताले महाधिवेशन प्रक्रियामा सहभागी नहुँदैमा पार्टी विभाजन भएको भन्न नमिल्ने बताएका छन् । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै राणाले असन्तुष्ट पक्षले राखेका माग सम्बोधन गर्न पार्टीले अधिकतम लचकता अपनाएको दाबी गरे ।  उनले नेता डा. शेखर कोइरालाले राखेका सातबुँदे र निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले राखेका पाँचबुँदे माग सम्बोधन भइसकेको बताए । उनका अनुसार क्रियाशील सदस्यता अद्यावधिक गर्ने, १४औं महाधिवेशनको सूचीमा रहेका सदस्यलाई कायम राख्ने तथा पुराना केन्द्रीय सदस्यलाई समायोजन गर्नेलगायत मागमा पार्टी सहमत भइसकेको छ । राणाले पार्टीबाट केही नेता तथा कार्यकर्ता टाढिएर महाधिवेशनमा सहभागी नभएको विषयलाई पार्टी विभाजनका रूपमा बुझ्न नहुने बताए । ‘पार्टी फुट्ने त कुरै आएन । हामी महाधिवेशन गरिरहेका छौं । कतिपय नेता तथा क्रियाशील सदस्य साथीहरू अधिवेशनमा भाग मात्र नलिएको हो । अहिले पार्टी हामी एउटै छौं,’ उनले भने । राणाले पूर्वसभापति शेरबहादुर देउवा १५औं महाधिवेशनमा सहभागी हुन आए उद्घाटन सत्रको अध्यक्षता गराउन पार्टी तयार रहेको बताए । ‘शेरबहादुर दाइ आइदिनुभयो भने त्यो अधिवेशनको उद्घाटन उहाँले नै गर्नुहुन्छ । त्योभन्दा बढी हामीले के गर्ने ? घाँटी नै काटेर दिन चाहिँ अलि गाह्रो होला, तर अरू सबै हामीले दिइसक्यौँ भन्ने मलाई लाग्छ,’ उनले भने । तर विशेष महाधिवेशनबाट निर्वाचित वर्तमान नेतृत्वले आफ्नो पद छाडेर पुनः पुरानै नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्न नसक्ने उनले स्पष्ट पारे । ‘अब विशेष महाधिवेशनबाट आएको नेतृत्वले सबै कुर्सी छोडेर उहाँहरूलाई फेरि स्वागत गरेर तपाईंहरू नै कुर्सीमा बस्नुस् भन्न हामी सक्दैनौं,’ राणाले भने । उनले महाधिवेशनको तयारीमा ‘गिभ एन्ड टेक’ हुने भए पनि यसपटक असन्तुष्ट पक्षका माग सम्बोधन गर्न पार्टीले आफ्नो तर्फबाट अधिकतम लचकता अपनाएको दाबी गरे । यसैबीच, राणाले सरकार सेवा प्रवाहमा भन्दा सामाजिक सञ्जालमा बढी सक्रिय रहेको आरोप लगाए । सरकारका गतिविधि र कार्यशैलीमा परिपक्वताको अभाव देखिएको उनको टिप्पणी थियो ।

सरकारको निर्णयले फ्युचर मोटर्सको आम्दानीमा १८.६२ प्रतिशत गिरावट

काठमाडौं । फ्युचर मोटर्स प्रालिको गत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन आम्दानी १८.६२ प्रतिशतले घटेर १ अर्ब ५९ करोड ९० लाख रुपैयाँमा सीमित भएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ९६ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको आम्दानी ३६ करोड ६० लाख रुपैयाँले घटेको हो । यसअघि कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा १ अर्ब ३० करोड २० लाख रुपैयाँ र आर्थिक वर्ष २०७९/८० मा २१ करोड ९० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यससँगै कम्पनीको आम्दानी आर्थिक वर्ष २०७९/८० देखि २०८१/८२ सम्म तीव्र रूपमा बढे पनि गत आर्थिक वर्षमा भने गिरावट आएको देखिएको छ । कम्पनीका अनुसार गत आर्थिक वर्ष सञ्चालन आम्दानी घट्नुको प्रमुख कारण यातायात व्यवस्था विभागले जेठदेखि देशभर सार्वजनिक यातायातका नयाँ सवारीसाधनको दर्ता स्थगित गर्नु हो । सार्वजनिक यातायातका सवारीसाधन दर्तामा भएको रोकले विद्युतीय यात्रुवाहक भ्यानको बिक्रीमा समेत असर पारेको कम्पनीले जनाएको छ । यसअघि कम्पनीको सञ्चालन आम्दानी बढ्नुमा सीजी मोटर्सको बलियो डिलरसिप सहयोगले मुख्य भूमिका खेलेको थियो । उक्त सहयोगबाट बिक्री परिमाण र बजार पहुँच विस्तार हुनुका साथै नेपालको व्यावसायिक यातायात क्षेत्रमा विद्युतीय यात्रुवाहक भ्यानको माग बढ्दा कम्पनीको कारोबार विस्तार भएको थियो । सवारीसाधनको आपूर्ति तथा वितरण प्रणालीमा आएको सुधारले पनि बिक्री तथा कारोबारको गति बढाउन सहयोग गरेको कम्पनीले जनाएको छ । फ्युचर मोटर्स प्रालि सन् २०२२ मार्च १६ मा स्थापना भएको नेपालमा आधारित अटोमोबाइल कम्पनी हो । कम्पनीले विद्युतीय सवारीसाधन (ईभी) को वितरण तथा मर्मतसम्भार सेवा प्रदान गर्दै आएको छ । कम्पनीको मुख्य कारोबार विद्युतीय यात्रुवाहक भ्यानमा केन्द्रित छ । कम्पनीले अन्तर्राष्ट्रिय ब्रान्डका ११ सिट, १४ सिट र १६ सिट क्षमताका विद्युतीय यात्रुवाहक भ्यान बिक्री गर्दै आएको छ । यस्ता सवारीसाधन विद्यालय, संस्थागत कर्मचारीको आवतजावत, पर्यटन तथा अन्य व्यावसायिक र संस्थागत यातायात प्रयोजनका लागि लक्षित छन् । फ्युचर मोटर्सले बढ्दो विद्युतीय सवारीसाधनको मागलाई लक्षित गर्दै सार्वजनिक तथा संस्थागत यातायातका लागि विद्युतीय सवारीसाधनको बजार विस्तार गर्दै आएको छ । कम्पनीको व्यावसायिक सञ्चालन इतिहास भने करिब चार वर्षको मात्रै रहेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० देखि व्यावसायिक सञ्चालन सुरु गरेको हो । कम्पनीको चुक्ता पुँजी ४ करोड रुपैयाँ रहेको छ । गोविन्द घिमिरे र वीरेन्द्र मण्डल कम्पनीका प्रमुख सेयरधनी हुन् । उनीहरूको संयुक्त स्वामित्व कम्पनीको कुल सेयरको ८१ प्रतिशत रहेको छ । कम्पनीको व्यवस्थापन गोविन्द घिमिरेले गर्दै आएका छन् । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट करिब ८० करोड रुपैयाँ ऋण लिएको छ । विद्युतीय सवारीसाधनको बजार विस्तारसँगै कम्पनीले कारोबार बढाउँदै आए पनि सार्वजनिक यातायातका नयाँ सवारीसाधन दर्तामा भएको रोक, बजारमा रहेको तीव्र प्रतिस्पर्धा तथा कम्पनीको तुलनात्मक रूपमा छोटो सञ्चालन इतिहास आगामी व्यवसाय विस्तारका लागि ध्यान दिनुपर्ने पक्षका रूपमा रहेका छन् । 

असाेज १५ गतेपछि दशैंको अग्रिम टिकट बुकिङ खुल्ने

काठमाडौं । दशैं-तिहारलाई लक्षित गरी सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ आगामी असोज १५/१६ गतेपछि खुलाउने तयारी गरिएको छ । तर, देशभरको सडकको अवस्था अझै अनिश्चित रहेकाले सडकको अवस्थाको अध्ययनपछि मात्रै टिकट बुकिङ खोल्ने निर्णय हुने भएको छ । यातायात व्यवस्था विभागका अनुसार केही दिनयता भइरहेको अविरल वर्षाका कारण विभिन्न सडकको अवस्था बिग्रिएको र कतिपय स्थानमा यातायात सञ्चालनमै समस्या रहेकाले अग्रिम टिकट बुकिङको मिति टुंगो लाग्न सकेको छैन । यसअघि असोज ५ गते बसेको बैठकमा मौसम खुलेपछि सडकको अवस्था अध्ययन गरेर असोज १५/१६ गतेदेखि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा छलफल भएको थियो ।  यातायात व्यवस्था विभागका निर्देशक मणिराम भुसालले आगामी दिनमा सडकको अवस्था हेरेर बुकिङ खोल्ने  निर्णय गरिने बताए । उनका अनुसार यसका लागि केही दिनभित्रै सम्बन्धित निकायसँग बैठक बस्ने तयारी छ । ‘पहिला बाटोको अवस्था हेरिन्छ । कहाँ कस्तो बाटो छ, त्यसको अवस्था कस्तो छ भन्ने हेरेपछि मात्रै बुकिङ खोल्ने निर्णय हुन्छ,’ उनले विकासन्युजसँग भने ।  विभागले यसपटक अग्रिम टिकट बुकिङमा अनलाइन प्रणालीलाई प्राथमिकता दिने तयारी गरेको छ । अनलाइनबाट टिकट लिन नसक्ने यात्रुले भने सम्बन्धित यातायात कम्पनीको आधिकारिक काउन्टर तथा आधिकारिक परिचयपत्र बोकेका कर्मचारीमार्फत मात्रै टिकट लिन विभागले आग्रह गरेको छ । अनधिकृत व्यक्ति तथा बिचौलियाबाट टिकट लिँदा यात्रु ठगिन सक्ने भएकाले यात्रुलाई पनि सचेत रहन विभागले आग्रह गरेको छ । दशैं-तिहारमा गत वर्षकै हाराहारीमा यात्रुको चाप हुने अनुमानसहित व्यवस्थापनको तयारी भइरहेको विभागले जनाएको छ । त्यसका लागि यातायात व्यवसायी, ट्राफिक प्रहरीलगायत सम्बन्धित निकायको सहभागितामा विभिन्न जिल्लामा समिति गठन गर्ने, नागरिक सहायता कक्ष तथा हेल्थ डेस्क सञ्चालन गर्ने तयारी छ । उपत्यकाबाट बाहिरिने मुख्य नाकामा पनि यात्रुको चाप व्यवस्थापनका लागि विशेष योजना बनाइएको छ । थानकोट-नागढुंगा, कोटेश्वर, फर्पिङ, कलंकी, बालाजु, जगाती तथा साँगा भञ्ज्याङलगायत क्षेत्रमा यात्रु सहायता कक्ष स्थापना गर्ने तयारी गरिएको छ । भाडा नबढ्ने, बढी लिए कारबाही यातायात व्यवस्था विभागले यसपटक सार्वजनिक सवारीको भाडा नबढ्ने जनाएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा परिवर्तन नगरेसम्म हाल कायम भाडादर नै लागू हुने विभागको भनाइ छ । निर्देशक भुसालका अनुसार सरकारले तोकेको अधिकतम भाडाभन्दा बढी रकम असुल्ने व्यवसायी तथा सवारी सञ्चालकमाथि कडा कारबाही गरिनेछ । यात्रुले सम्बन्धित रुटको अधिकतम भाडादर यातायात व्यवस्था विभागको वेबसाइट तथा यात्रु सहायता कक्षबाट जानकारी लिन सक्नेछन् । तोकिएको भन्दा बढी भाडा असुलेमा नजिकको ट्राफिक प्रहरी वा सम्बन्धित निकायमा तत्काल जानकारी गराउन विभागले आग्रह गरेको छ ।  ‘तोकिएको अधिकतम भाडाभन्दा बढी कसैले लिएको पाइएमा कडा कारबाही हुन्छ,’ भुसालले विकासन्युजसँगको कुराकानीमा भने, ‘बढी भाडा लिएको जानकारी यात्रुले गराए तत्काल कारबाही हुन्छ ।’ २५० किलोमिटरभन्दा लामो रुटमा दुई चालक चाडपर्वका बेला लामो दूरीका सवारीसाधनमा चालकको थकानका कारण दुर्घटना हुन नदिन २५० किलोमिटरभन्दा लामो दूरीमा दुई जना चालक अनिवार्य राख्ने व्यवस्था कार्यान्वयन गरिने भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा एसपी नरेश सुवेदीले लामो दूरीका सवारीमा दुई चालक राख्ने कानुनी व्यवस्था कार्यान्वयनका लागि यातायात व्यवसायी तथा समितिहरूलाई आग्रह गरिसकिएको बताए । उनका अनुसार चालकले लामो समय निरन्तर सवारी चलाउँदा थकानका कारण दुर्घटनाको जोखिम बढ्ने भएकाले दुई चालकको व्यवस्था प्रभावकारी रूपमा लागू गरिनेछ । त्यस्तै, चाडपर्वका बेला लागूऔषध सेवन गरी सवारी चलाउने प्रवृत्ति नियन्त्रण गर्न ट्राफिक प्रहरीले ब्रेथलाइजरलगायतका माध्यमबाट चेकजाँच बढाउने तयारी गरेको छ । चाडपर्वको समयमा अनधिकृत टिकट काउन्टर तथा बिचौलियाबाट यात्रु ठगिने समस्या नियन्त्रण गर्न यात्रुलाई आधिकारिक काउन्टरबाट मात्रै टिकट लिन आग्रह गरिएको छ । ट्राफिक प्रहरीले विगतका चाडपर्वमा देखिएका बढी भाडा असुल्ने, क्षमताभन्दा बढी टिकट काट्ने, एउटै सिटमा धेरै टिकट जारी गर्ने तथा यात्रुलाई ठगी गर्ने गतिविधिलाई नियन्त्रण गर्न विशेष निगरानी गर्ने जनाएको छ । नागरिक सहायता कक्षमार्फत यात्रुले टिकट, भाडा, सवारीको अवस्था तथा सडकको अवस्थाबारे जानकारी लिन सक्ने व्यवस्था गरिनेछ । सवारीको क्षमताभन्दा बढी यात्रु बोक्ने तथा टिकटभन्दा बढी यात्रु चढाउने सवारीमाथि पनि निगरानी गरिने ट्राफिक प्रहरीले जनाएको छ । सहायता कक्षबाट ओभरलोडिङ, एउटै टिकटमा धेरै यात्रु, सिट नपाएर उभिएर यात्रा गर्नुपर्ने अवस्थालगायतका विषयमा अनुगमन गरिनेछ । ट्राफिक प्रहरीले यातायात व्यवसायी तथा यातायात क्षेत्रका मजदुरसँग अन्तक्र्रिया गरी यात्रुको सुरक्षित र सहज आवागमन सुनिश्चित गर्न सचेतना तथा जिम्मेवारीबोधका कार्यक्रमसमेत सञ्चालन गर्ने जनाएको छ । सडकको अवस्था हेरेर मात्रै बुकिङ अग्रिम टिकट बुकिङमा ढिलाइ हुनुको मुख्य कारण देशभरको सडकको अनिश्चित अवस्था रहेको यातायात व्यवसायीहरूले बताएका छन् । नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौलाले अहिलेको प्राथमिकता अग्रिम टिकट खोल्नुभन्दा यात्रुलाई सुरक्षित रूपमा गन्तव्यसम्म पु¥याउनु भएको बताए । उनका अनुसार धादिङलगायतका विभिन्न स्थानमा सवारीसाधन लामो समयदेखि बाटोमै रोकिएका छन् । कतिपय गाडी दुई दिनदेखि आठ दिनसम्म विभिन्न स्थानमा रोकिएर बसेको उनले बताए । ‘सडकको अवस्था देशभर अन्योल छ । खोल्दैमा फेरि भोलिपर्सि अर्को समस्या आउँछ कि भन्ने अवस्था छ,’ सिटौलाले विकासन्युसँग भने, ‘अहिले केही समय हेर्छौं । यात्रुलाई सुरक्षित ढंगले यात्रा गराउनु ठूलो कुरा हो । ’ सिटौलाका अनुसार यातायात व्यवसायीले चाडपर्वको समयमा भाडा बढाउने माग गरेका छैनन् । तर, भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएपनि सरकारले यथावत राख्नुपर्नेमा उनको जोड छ ।  उनले भने,‘भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएपनि सरकारले बढाउनु हुँदैन् । ‘अहिले जे भाडा छ, त्यही भाडामा यात्रुलाई लैजान्छौं,’ उनले भने ।  सरकारले अनलाइन टिकटिङलाई प्राथमिकता दिने तयारी गरे पनि यसको कार्यान्वयन अझै प्रभावकारी हुन नसकेको यातायात व्यवसायीहरूको भनाइ छ । महासंघ अध्यक्ष सिटौलाले अनलाइन टिकटिङसम्बन्धी सरकारी कार्यविधि अझै स्पष्ट रूपमा कार्यान्वयनमा आउन नसकेको बताए । उनका अनुसार विभागमार्फत अघि बढाइएको विषयसमेत अझै टुंगिन बाँकी रहेकाले चाडपर्वमा उपलब्ध प्रविधिको अधिकतम प्रयोग गरेर टिकट व्यवस्थापन गर्नुपर्ने अवस्था छ । सडक, सवारी र प्रदूषणको एकीकृत जाँच चाडपर्वमा यात्रुको सुरक्षित आवागमनका लागि यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, सडक विभाग, वातावरण विभागलगायतका निकायबीच समन्वय गरेर काम गर्ने तयारी गरिएको छ । सडक विभागसँग सडक मर्मत तथा सडकको अवस्थाबारे समन्वय गरिनेछ भने सवारीसाधनको यान्त्रिक अवस्था र प्रदूषण परीक्षणमा पनि ध्यान दिइनेछ । उपत्यका ट्राफिक प्रहरीका अनुसार चाडपर्वमा मुख्य सडक तथा नाकामा मात्रै नभई मठ-मन्दिर, व्यापारिक केन्द्र तथा बढी भीडभाड हुने स्थानमा पार्किङ व्यवस्थापनमा समेत ध्यान दिइनेछ । यसका लागि सम्बन्धित निकायबीच समन्वय गरेर एकीकृत संयन्त्रमार्फत काम गर्ने तयारी गरिएको छ ।  यातायात व्यवस्था विभागले भने चाडपर्वका समयमा यात्रुको सहज र सुरक्षित आवागमनलाई प्राथमिकतामा राखेर सडकको अवस्था, सवारीसाधनको अवस्था, टिकट व्यवस्थापन, भाडा अनुगमन तथा यात्रु सहायता कक्ष सञ्चालनलाई एकसाथ अघि बढाउने जनाएको छ ।