काठमाडौं । गुल्मीको धुर्कोट गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको गृहप्रवेश कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिकाको प्रशासनिक सेवा प्रवाहलाई थप व्यवस्थित, सहज र प्रभावकारी बनाउने उद्देश्यले निर्माण गरिएको नयाँ भवनमा धार्मिक विधिअनुसार पूजाआजा तथा अनुष्ठानसहित गृहप्रवेश गरी आजैदेखि सञ्चालनमा ल्याइएको उपाध्यक्ष सीता गिरीले जानकारी दिइन् ।
गाउँपालिकाको केन्द्र बर्बोटमा निर्माण गरिएको नयाँ प्रशासकीय भवनलाई स्थानीय तहको संस्थागत पूर्वाधार विकासका दृष्टिले महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइएको गिरीले बताइन् ।
नयाँ भवनबाट गाउँपालिकाका विभिन्न शाखाको कामकाज व्यवस्थित हुनुका साथै सेवाग्राहीलाई एउटै स्थानबाट प्रशासनिक सेवा लिन सहज हुने उनको भनाइ छ। भवन निर्माणसँगै कार्यालय व्यवस्थापन, कर्मचारीको कार्यसम्पादन र नागरिकलाई प्रदान गरिने सेवाको गुणस्तरमा समेत सुधार आउने विश्वास उनले व्यक्त गरिन् ।
स्थानीय तहको सेवा प्रवाहलाई नागरिकमैत्री बनाउने लक्ष्यसहित निर्माण गरिएको भवनले गाउँपालिकाको प्रशासनिक तथा संस्थागत क्षमता अभिवृद्धिमा योगदान पुर्याउने अपेक्षा स्थानीय बासिन्दाले गरेका छन् ।