भक्तपुरमा पनि रात्रिकालीन बस चलाउन काठमाडौं महानगरको प्रस्ताव
काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गर्न भक्तपुरका स्थानीय तहलाई प्रस्ताव गरेको छ । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले भक्तपुरको भक्तपुर नगरपालिका र मध्यपुर थिमी नगरपालिकालाई उक्त प्रस्ताव गरेकी हुन् । काठमाडौं र ललितपुरका स्थानीय तहले सञ्चालन गरेको रात्रिकालीन यातायात सेवामा जोडिन उनले भक्तपुरका स्थानीय तहलाई पनि आग्रह गरिन् । उनका अनुसार गत वैशाख १ गतेदेखि काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका र चन्द्रागिरि नगरपालिकाको सहकार्यमा साझा यातायातले रात्रिकालीन यातायात सेवा सञ्चालन भइरहेको छ । रात्रिकालीन बस सेवा काठमाडौं बाहिरका क्षेत्रमा विस्तार गर्नुपर्ने माग बढेको उनले बताइन् । अब सेवा विस्तारका लागि भक्तपुरका स्थानीय तहहरूले पनि साझेदारी गर्नुपर्ने उनको भनाइ छ । श्रमिक तथा मध्यम वर्गका लागि रात्रिकालीन बस सेवा अत्यावश्यक देखिएको उनले बताइन् । उनले प्रारम्भिक चरणमा यातायात सेवा सञ्चालनमा केही घाटा देखिएको बताइन् । त्यसलाई सबै स्थानीय तहले व्यहोर्ने गरी सेवा सञ्चालन गर्न उनले जोड दिइन् । रात्रिकालीन सार्वजनिक यातायात सेवा सञ्चालन हुने सबै स्थानीय तहबीच वित्तीय साझेदारी गरेर सेवालाई दीर्घकालीन सञ्चालन गर्नुपर्ने बताइन् । यातायात सेवालाई दिगो बनाउन सकेमा यात्रु संख्या बढ्ने उनको भनाइ छ । श्रमिक वर्गलाई लक्षित गरी सेवा सञ्चालन भएकाले स्थानीय तहले नै वित्तीय साझेदारी गर्नुपर्ने देखिएको बताइन् । सेवा सञ्चालन हुने पालिकाहरूले लागत साझेदारी गरेमा कुनै एक स्थानीय तहमा मात्र आर्थिक भार नपर्ने उनको भनाइ छ । उनले भनिन्, ‘हाम्रो सहरलाई सुरक्षित बनाउन यातायातको अत्यन्त महत्वपूर्ण भूमिका हुन्छ । अर्को महत्वपूर्ण कुरा भनेको एउटा पालिकालाई अर्को पालिकासँग जोड्ने ‘ट्रान्स–बाउन्ड्री’ अर्थात् अन्तरपालिका यातायात पनि हो । राति ६–७ बजेपछि सार्वजनिक यातायातका साधनहरू बिस्तारै कम हुँदै जान्छन् । धेरै श्रमिक वर्गका मानिसहरू काठमाडौंमा काम गर्नुहुन्छ, तर उहाँहरूको घर भक्तपुर, ललितपुर, कीर्तिपुर, चन्द्रागिरि लगायतका ठाउँमा हुनसक्छ । काम सकेर घर फर्किनुपर्दा सार्वजनिक यातायात नपाउने समस्या उहाँहरूले भोग्दै आउनुभएको छ ।’ उनले रात्रिकालीन सार्वजनिक यातायातलाई स्थानीय तहबीच समझदारी गरेर दिगो सञ्चालन गर्नुपर्नेमा जोड दिइन् । उनका अनुसार काठमाडौं उपत्यकाका विभिन्न स्थानीय तह जोडिने रुटमा सेवा विस्तार गर्दा काठमाडौं, ललितपुर, कीर्तिपुर, चन्द्रागिरि, भक्तपुर, ठिमी, सूर्यविनायकलगायत पालिकाले लागत साझेदारी गर्न सक्नेछन् । उनले रात्रिकालीन सेवा विस्तारमा भक्तपुरका स्थानीय तहलाई पनि साझेदारीका लागि विशेष आग्रह गरिन् । भक्तपुर नगरपालिका र मध्यपुर थिमी नगरपालिका दुवैले काठमाडौं महानगरपालिकाको प्रस्तावलाई सकारात्मक भएको भन्दै साझेदारीका लागि इच्छुक रहेको जनाएका छन् । असोज ३ गतेदेखि काठमाडौं उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने गरी तयारी थालिएको छ । सेवालाई भक्तपुरमा पनि जोड्न काठमाडौं महानगरले विशेष पहल थालेको हो । असोज ३ गतेदेखि उपत्यकाको उत्तर–दक्षिण र पूर्व–पश्चिम दुवै भागलाई जोड्ने गरी सेवा थालनी गर्न लागिएको हो । यसअन्तर्गत गोदावरीदेखि बुढानीलकण्ठसम्म ६ वटा, भक्तपुरको जगातीदेखि रत्नपार्क हुँदै ठमेलसम्म ६ वटा बस, एयरपोर्टदेखि चन्द्रागिरिको नागढुङ्गासम्म ४ वटा बस, कीर्तिपुरदेखि काठमाडौंको नयाँ सडक नेपाल वायुसेवा निगमसम्म ४ वटा र चक्रपथमा दुईतर्फी फन्को लगाउन ८ वटा बस सञ्चालन हुनेछन् । चक्रपथमा यातायात सेवा प्राप्त भएपछि एक ठाउँमा बस परिवर्तन गर्दा सेवा सञ्चालन गरेका हरेक ठाउँमा पुग्न सकिनेछ । यसरी यात्रा गर्दा अधिकतम ८० रुपैयाँ भाडा लाग्नेछ ।
एनएसी भवनलाई बहुमञ्जिला पार्किङ बनाउन अनुमति माग्दै महानगर
काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोडस्थित नेपाल वायुसेवा निगम (एनएसी)को भवनलाई बहुमञ्जिला पार्किङका रूपमा विकास गर्न संघीय सरकारसँग अनुमति मागेको छ । काठमाडौंमा बढ्दो पार्किङ समस्या समाधान गर्न सीमित स्थानको अधिकतम सदुपयोग गर्ने उद्देश्यले एनएसी भवनमा बहुमञ्जिला पार्किङ निर्माणको प्रस्ताव अघि बढाइएको हो । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आइतबार काठमाडौं महानगर प्रहरी बलको ३४औं वार्षिकोत्सवमा बोल्दै एनएसी भवनलाई बहुमञ्जिला पार्किङका रूपमा विकास गर्न अनुमति दिन सङ्घीय सरकारसँग विशेष अनुरोध गरिएको बताइन् । उनका अनुसार एनएसी भवनमा बहुमञ्जिला पार्किङ निर्माण गर्न सके काठमाडौंको कोर एरियामा रहेको पार्किङ समस्या समाधान गर्न महत्त्वपूर्ण सहयोग पुग्ने महानगरको विश्वास छ । ‘पार्किङको समस्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । यसको व्यवस्थापन गर्नुबाहेक हामीसँग अर्को विकल्प छैन,’ उनले भनिन्, ‘काठमाडौंको क्षेत्रफल सीमित भएकाले नयाँ ठाउँ थप्नुभन्दा उपलब्ध स्थानको सही सदुपयोग गरेर पार्किङ व्यवस्थापन गर्नु आजको आवश्यकता हो ।’ डंगोलले एनएसी भवनमा बहुमञ्जिला पार्किङ निर्माणको अनुमति दिन सङ्घीय सरकारसँग विशेष अनुरोध गरिएको बताइन् । त्यसैगरी, काठमाडौंभरको पार्किङ व्यवस्थापनका विषयमा पनि महानगरले अध्ययन गरिरहेको जानकारी दिइन् । उनका अनुसार पार्किङ व्यवस्थापनबारे विज्ञमार्फत भइरहेको अध्ययनको प्रतिवेदन केही समयभित्र प्राप्त हुनेछ । उक्त प्रतिवेदनले दिएका सुझावका आधारमा महानगरले पार्किङ व्यवस्थापनलाई थप व्यवस्थित र प्रणालीगत बनाउँदै लैजानेछ । ‘प्रतिवेदनले दिएका सुझावका आधारमा पार्किङ व्यवस्थापनलाई अझ व्यवस्थित र प्रणालीगत बनाउँदै समस्या समाधानतर्फ महानगरपालिका अघि बढ्नेछ,’ उनले भनिन् । महानगरले काठमाडौंको सीमित क्षेत्रफललाई ध्यानमा राख्दै उपलब्ध स्थानको उचित उपयोग गरेर पार्किङ समस्या समाधान गर्ने रणनीति अघि बढाएको जनाएको छ ।
महानगरले ‘रिचार्ज काठमाडौं’ अभियान चलाउने
काठमाडौं । काठमाडौं महानगरपालिकाले सहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौं’ अभियान सञ्चालन गर्ने भएको छ । वर्षाको पानी सङ्कलन गरी जमिनमा पुनर्भरण (रिचार्ज) गर्ने उद्देश्यले अभियान अघि बढाउन लागिएको महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बताइन् । आइतबार काठमाडौं महानगर प्रहरी बलको ३४औं वार्षिकोत्सवमा बोल्दै डंगोलले काठमाडौंमा थोरै पानी पर्दासमेत बाढी आउने अवस्था सिर्जना भएको भन्दै यसको दीर्घकालीन समाधान खोज्नुपर्ने बताइन् । उनका अनुसार सहरी बाढीको समस्या समाधानका लागि महानगरपालिकाले अध्ययनसमेत गरिरहेको छ । डंगोलले विगतमा सहरी क्षेत्रमा गरिएका विकास तथा संरचना निर्माणका कारण सिर्जित समस्या सुधार गर्दै जानुपर्ने बताइन् । करिब तीन दशकअघि सुरु भएका सहरी समस्या अहिले ‘अर्बन फ्ल्यास फ्लड’का रूपमा देखिन थालेको उनको भनाइ छ । काठमाडौंमा वर्षाको पानीलाई सकेसम्म जमिनमै पुनर्भरण गर्ने उद्देश्यले रेन वाटर हार्भेस्टिङ तथा रिचार्जका कार्यक्रम सञ्चालन गरिने उहाँले जानकारी दिए । अहिले गर्न सकिने कामबाटै समाधानको सुरुवात गर्नुपर्ने भन्दै उनले ‘रिचार्ज काठमाडौँ’ अभियान अघि बढाउन लागिएको बताइन् । ड्रगोलले मध्यरातमा समेत नगर प्रहरी, विपद् व्यवस्थापन टोली र जनप्रतिनिधिहरू सम्भावित विपद्का बेला फिल्डमा जानुपर्ने भएकाले स्ट्यान्डबाइमा बस्नुपर्ने अवस्था रहेको बताइन् । अभियानमार्फत वर्षाको पानी सङ्कलन गर्ने, जमिनमा पुनर्भरण गर्ने र पानीको उचित व्यवस्थापन गर्ने कामलाई प्राथमिकता दिइने महानगरपालिकाले जनाएको छ । डंगोलले सहरी बाढीको समस्या समाधानका लागि दीर्घकालीन उपायबारे अध्ययन भइरहेको र अध्ययनका आधारमा थप कार्यक्रम अघि बढाइने पनि बताइन् । पछिल्लो समय वर्षा भएपछि काठमाडौंमा बाढीको जोखिम बढ्दै गएको भन्दै उनले विपद व्यवस्थापनलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन् ।