काठमाडौं । नेपाली हिप–हप संगीतलाई राष्ट्रियस्तरको मञ्च प्रदान गर्ने उद्देश्यसहित भारतीय चर्चित र्याप रियालिटी शो ‘एमटीभी हसल’को नेपाली फ्रेन्चाइज ‘हसल बाई नेपहप’ नेपालमा आउने भएको छ। उक्त कार्यक्रमको टाइटल स्पोन्सरका रूपमा टीभीएस एनटर्क आबद्ध भएको छ।
मलिन मिडिया एन्ड इभेन्ट प्रालिले नेपालमा ल्याउन लागेको यो कार्यक्रम ‘टीभीएस एनटर्क प्रिजेन्ट्स हसल बाई नेपहप’का रूपमा प्रस्तुत हुनेछ। कान्तिपुर टेलिभिजनमार्फत प्रसारण हुने कार्यक्रमलाई प्रिमियम र्याप रियालिटी शोका रूपमा विकास गर्ने तयारी गरिएको आयोजकले जनाएको छ।
अन्तर्राष्ट्रियस्तरको र्याप रियालिटी शोको अवधारणामा आधारित भए पनि कार्यक्रममा नेपाली कलाकार, उनीहरूका मौलिक कथा, स्थानीय संस्कृति, सामाजिक परिवेश र नेपालको आफ्नै हिप–हप पहिचानलाई प्राथमिकता दिइनेछ।
कार्यक्रममा प्रतिस्पर्धा, मेन्टरसिप र सांगीतिक प्रस्तुतिलाई मुख्य आकर्षणका रूपमा समावेश गरिनेछ। स्थापित र्यापरदेखि नयाँ पुस्ताका प्रतिभासम्मलाई राष्ट्रियस्तरमा आफ्नो कला, क्षमता र सिर्जनशीलता प्रस्तुत गर्ने अवसर प्रदान गरिने आयोजकको भनाइ छ।
नेपाली युवापुस्तामाझ लोकप्रिय बन्दै गएको हिप–हप संस्कृतिलाई थप उचाइमा पुर्याउने उद्देश्यले टीभीएस एनटर्कले टाइटल स्पोन्सरका रूपमा सहकार्य गरेको हो। युवापुस्ताको ऊर्जा, सिर्जनशीलता र आत्मविश्वाससँग जोडिएको यो सहकार्यले नेपाली हिप–हप क्षेत्रलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।
‘गल्लीदेखि ग्लोरीसम्म’ भन्ने मूल भावनासहित अघि बढ्ने कार्यक्रमले नेपाली हिप–हप प्रतिभालाई ठूलो राष्ट्रिय मञ्च प्रदान गर्नुका साथै नेपाली संगीतका नयाँ सम्भावना उजागर गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ।
कार्यक्रमको प्रसारण मिति र अन्य विस्तृत जानकारी भने चाँडै सार्वजनिक गरिने जनाइएको छ।