डिजो ओटीटीले बढायो दायरा, नेपाली सामग्री विश्व बजारमा
काठमाडौं । नेपालमा डिजिटल मनोरञ्जन क्षेत्रलाई थप सुदृढ बनाउने उद्देश्यसहित ‘डिजो ओटीटी’ले आफ्नो सेवा विस्तारलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याएको जनाएको छ । कम्पनीले आधिकारिक रूपमा विश्वव्यापी ओटीटी स्ट्रिमिङ अधिकार प्राप्त गर्दै डिजिटल सामग्री वितरणमा नयाँ उपलब्धि हासिल गरेको हो । डिजिटल प्लेटफर्ममार्फत चलचित्र, वेब सिरिज, टेलिभिजन कार्यक्रम, खेलकुद तथा विविध मनोरञ्जन सामग्री दर्शकमाझ सहज रूपमा उपलब्ध गराउँदै आएको कम्पनीले अब अन्तर्राष्ट्रिय बजारमा समेत आफ्नो उपस्थितिलाई बलियो बनाउने लक्ष्य लिएको जनाएको छ । डिजो ओटीटी ‘डिजहोम डिजिटल प्रा.लि.’ अन्तर्गत सञ्चालनमा रहेको प्लेटफर्म हो। कम्पनीले नेपाल सरकार तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत आवश्यक अनुमति प्राप्त गरी कानुनी रूपमा सेवा सञ्चालन गर्दै आएको स्पष्ट पारेको छ । कम्पनीका अनुसार अन्तर्राष्ट्रिय डिजिटल सामग्री वितरणका लागि आवश्यक मापदण्ड पूरा गर्दै यसले नेपाली डिजिटल मनोरञ्जन उद्योगलाई विश्व बजारसँग जोड्ने आधार तयार गरेको छ । आगामी दिनमा अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रयोगकर्ता अनुभव तथा गुणस्तरीय सामग्रीमार्फत दर्शकलाई विश्वस्तरको सेवा प्रदान गर्ने प्रतिबद्धता कम्पनीले जनाएको छ ।
आइएमईको सांगीतिक एम्बेसेडरमा प्रकाश सपुत नियुक्त
काठमाडौं । आइएमई लिमिटेडले चर्चित गायक तथा अभिनेता प्रकाश सपुतलाई सांगीतिक दूत (म्युजिकल एम्बेसेडर) नियुक्त गरेको छ । शुक्रबार आयोजित एक कार्यक्रममा आइएमईले सपुतलाई सांगीतिक दूतका रूपमा सार्वजनिक गरेको हो । ग्राहकसँगको सम्बन्धलाई थप सुदृढ बनाउने तथा रेमिट्यान्स सेवाप्रति जनचेतना विस्तार गर्ने उद्देश्यले सपुतसँग सहकार्य गरिएको कम्पनीले जनाएको छ । लोकगीत तथा सामाजिक विषयवस्तुमा आधारित सिर्जनाका कारण लोकप्रिय रहेका सपुतका गीतहरू देशभित्र मात्रै होइन, विदेशमा रहेका नेपालीमाझ पनि उत्तिकै रुचाइने गरेका छन् । विशेषगरी वैदेशिक रोजगारीमा रहेका नेपालीका भावना, संघर्ष र जीवन भोगाइलाई उनले आफ्ना गीतमार्फत निरन्तर उठाउँदै आएका छन् । आइएमईले रेमिट्यान्सले देशको अर्थतन्त्र र समाजमा पुर्याएको योगदानबारे आम नागरिकलाई थप जानकारी दिन सपुतको सहभागिताले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ । सम्झौता कार्यक्रममा आइएमईका महाप्रबन्धक बद्री कटवालले सपुतका सिर्जनाले नेपाली समाजको यथार्थ चित्रण गर्ने भएकाले यो सहकार्यले कम्पनीको अभियानलाई थप प्रभावकारी बनाउने बताए । ‘उहाँका सिर्जनाले नेपालीको मन छुन्छन् । त्यसैले यो सहकार्यले हाम्रो अभियानमा छुट्टै अपनत्व थप्नेछ,’ उनले भने, ‘स्वदेश र विदेशको दूरी कम गर्न संगीत बलियो माध्यम बनेको छ, जसले प्रवासी नेपाली श्रमिकहरूका लागि सारथीको भूमिका निर्वाह गर्न सक्छ ।’ कार्यक्रममा गायक सपुतले आइएमईजस्तो प्रतिष्ठित संस्थासँग जोडिन पाउँदा खुसी लागेको बताए । उनले संगीतमार्फत विश्वभर छरिएका नेपालीलाई आफ्नो माटो र संस्कृतिसँग जोडिराख्ने प्रयासलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।