तिहारका लागि पोखरामै ७५ प्रतिशत सयपत्री उत्पादन, २०० रोपनीमा फूल खेती


काठमाडौं । स्थानीय कृषि उत्पादनको प्रवद्र्धन गर्दै किसानको आयआर्जन वृद्धि गर्ने उद्देश्यले पोखरा महानगरपालिकाले तिहार लक्षित फूल खेतीलाई प्राथमिकता दिएको छ । महानगरपालिकाले विशेषगरी तिहारमा अत्यधिक माग हुने सयपत्री फूलको व्यावसायिक उत्पादन बढाउन किसानलाई अनुदान तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

महानगरपालिकाले विगत तीन वर्षदेखि तिहारमा प्रयोग हुने सयपत्री फूलको उत्पादन र खेती विस्तारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको हो । स्थानीय स्तरमै फूल उत्पादन बढाई बाहिरबाट आयात हुने फूलको निर्भरता घटाउने र किसानलाई अतिरिक्त आम्दानीको अवसर सिर्जना गर्ने महानगरको लक्ष्य छ ।

पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत मनहर कडरियाका अनुसार महानगरले फूल खेतीमा आकर्षण बढाउन किसानलाई आवश्यक बीउ, मल्चिङ प्लास्टिक तथा अन्य कृषि सामग्री उपलब्ध गराउँदै आएको छ । त्यस्तै, खेतीको प्रविधि र उत्पादन क्षमता सुधारका लागि किसानलाई प्राविधिक तालिम तथा परामर्शसमेत दिइँदै आएको उनले बताए ।

महानगरपालिकाको सहयोगले स्थानीय किसानलाई फूल खेतीतर्फ आकर्षित गर्नुका साथै व्यावसायिक उत्पादन विस्तारमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ । तिहारका बेला सयपत्री फूलको माग उच्च हुने भएकाले स्थानीय उत्पादन बढाउन सके किसानले राम्रो आम्दानी गर्न सक्ने सम्भावना छ ।

Share News