काठमाडौं । अमेरिकाको हवाइ यातायात प्रणालीमा आएको प्राविधिक समस्याका कारण एकै दिन १२ हजारभन्दा बढी उडान रद्द भए । सङ्घीय उड्डयन प्रशासन (एफएए) को पुरानो दूरसञ्चार प्रणालीमा अवरोध आएपछि नोभेम्बर १३ मा देशभर हवाई उडान रोक्नुपरेको उल्लेख गरेको छ । यसबाट हजारौं यात्रु प्रभावित भए पनि सबै विमान सुरक्षित रूपमा अवतरण गरेको एफएएले जनाएको छ । प्रणालीमा आएको समस्या साइबर आक्रमण नभएको एफएएको दाबी छ ।
सोमबारसम्म आइपुग्दा अमेरिकी विमानस्थलहरूमा अवस्था क्रमशः सामान्य हुँदै गएको छ । न्यूयोर्क क्षेत्रका जेएफके, लागार्डिया र नेवार्क विमानस्थलमा सोमबार बिहान उडान रद्द हुने संख्या १० भन्दा कम देखिएको बताइएको छ । तर, आइतबार ती विमानस्थलमा मात्रै १०० भन्दा बढी उडान ढिलाइ भएका थिए । सोमबार पनि यात्रुलाई उडानको समय परिवर्तन हुन सक्ने भन्दै विमानस्थल जानुअघि आफ्नो उडानको अवस्था जाँच गर्न आग्रह गरिएको छ ।
अमेरिकाको यातायात मन्त्रालय र सङ्घीय हवाइ प्रशासनले प्रणाली स्थिर भइसकेको र उडान सेवा पुनः नियमित हुँदै गएको बताएका छन् । अमेरिकी एयरलाइन्सहरूले पनि विमान र चालक दललाई आवश्यक स्थानमा पु¥याएर सोमबारदेखि अधिकांश उडान सामान्य तालिकाअनुसार सञ्चालन गर्ने तयारी गरेका छन् । अमेरिकाको सङ्घीय हवाइ प्रशासनले हवाइ अवरोधबारे १६ प्रश्नोत्तर सार्वजनिक गरेको छ ।
प्राविधिक अवरोधको कारण के थियो ?
अमेरिकी नागरिकको सुरक्षा हाम्रो सर्वोच्च प्राथमिकता हो । सावधानीका रूपमा विमान सुरक्षित रूपमा सञ्चालन भइरहने सुनिश्चित गर्न सङ्घीय उड्डयन प्रसाशनले देशव्यापी रूपमा हवाइ उडान रोक्ने निर्णय गरेको थियो । सङ्घीय हवाइ प्रशासनको पुरानो प्रविधिमा आधारित उपकरणमा समस्या आएको थियो । सङ्घीय हवाइ प्रशासनको एफटीआई नेटवर्कमा अत्यधिक तथ्यांक प्रवाह हुन थालेपछि प्रणाली अस्थिर बनेको थियो । प्रत्येक ४ देखि ५ सेकेन्डमा एक हजारवटा कनेक्सन प्रयास भइरहेका थिए । यसले प्रणालीमा अवरोध सिर्जना गर्नुका साथै विमानसँगको सञ्चार र राडारबाट प्राप्त हुने सूचनालाई प्रभावित पारेको थियो ।
प्रारम्भिक अनुसन्धानले अत्यधिक तथ्यांक प्रवाह हुनुका सम्भावित दुई स्थान पहिचान गरेको छ । तीमध्ये एउटा टेक्सासको अमारिलोस्थित राडार केन्द्र र अर्को अर्कान्सासको एल डोराडोस्थित रेडियो सञ्चार केन्द्र हो । सङ्घीय हवाइ प्रशासनको हालको नेटवर्क सेवा प्रदायक एलथ्री ह्यारिसले एल डोराडो केन्द्रमा नयाँ राउटर जडान गर्ने लगायतका काम गरिरहेको थियो । तथ्यांकमा असंगति देखिएपछि एलथ्री ह्यारिसले ती दुई स्थानबाट आउने कनेक्सन अवरुद्ध ग¥यो । त्यसपछि नेटवर्क स्थिर भयो । सावधानीका रूपमा नयाँ राउटरहरूमा प्रसारण गर्ने सुविधा पनि बन्द गरियो । हामीले समस्याको कारण पहिचान गर्न, त्यसलाई अलग गर्न र समाधान गर्न सकेसम्म छिटो काम ग¥यौं । यात्रुको सुरक्षा सर्वोच्च प्राथमिकता भएकाले प्रणाली स्थिर रहेको सुनिश्चित गर्न केही समय प्रतीक्षा गरेपछि मात्रै उडान रोक्ने निर्णय फिर्ता लिइयो र उडान पुनः सञ्चालन गर्न अनुमति दिइयो । अहिले प्रणाली स्थिर छ र हवाई सेवा सामान्य अवस्थामा फर्किंदैछ । सङ्घीय हवाइ प्रशासन र एलथ्री ह्यारिसले समस्याको वास्तविक कारण पत्ता लगाउन तथा भविष्यमा यस्तो घटना दोहोरिन नदिन अनुसन्धान जारी राखेका छन् ।
यस घटनाले हवाई सुरक्षामा जोखिम सिर्जना ग¥यो ?
गरेन । यस्ता घटनामा यात्रुको सुरक्षा सुनिश्चित गर्न सङ्घीय हवाइ प्रशासनसँग स्पष्ट र स्थापित प्रक्रिया छन् । अवरोधका क्रममा केही रेडियो फ्रिक्वेन्सी र राडार प्रणाली सञ्चालनमै थिए । त्यसैले हवाई ट्राफिक नियन्त्रण गर्ने अधिकारीहरूले विमानसँग सम्पर्क कायम राख्न र तिनको अवस्थाबारे निगरानी गर्न सके ।
अत्यन्तै दक्ष हवाइ ट्राफिक नियन्त्रक र पाइलटहरूले स्थापित सुरक्षा मापदण्ड पालना गरिरहे । सावधानीका रूपमा देशभर उडान रोक्ने निर्णय पनि गरियो । त्यसैले सबै विमान सुरक्षित रूपमा अवतरण गरे र सबै यात्रु सुरक्षित रूपमा गन्तव्यमा पुगे ।
अहिले हवाइ यात्रा सुरक्षित छ ?
छ । संयुक्त राज्य अमेरिकासँग विश्वकै सबैभन्दा सुरक्षित हवाइ यातायात प्रणाली छ । अमेरिकी हवाई यात्रुको सुरक्षा सधैँ सङ्घीय हवाइ प्रशासनको सर्वोच्च प्राथमिकता रहनेछ ।
कति वटा हवाइ नियन्त्रण केन्द्र प्रभावित भए ?
सुरुमा हाम्रा २२ वटा एयर रुट ट्राफिक कन्ट्रोल सेन्टरमध्ये १७ वटामा प्रणाली अस्थिर भएको थियो । त्यसपछि समस्या केही टर्मिनल राडार अप्रोच कन्ट्रोल केन्द्रसम्म फैलियो । यात्रुको सुरक्षा सुनिश्चित गर्न सावधानीका रूपमा देशभर हवाई उडान रोक्ने निर्णय गरियो ।
यो साइबर आक्रमण थियो ?
अहिलेसम्म उपलब्ध सबै प्रमाणका आधारमा यो साइबर आक्रमण वा बाह्य दुर्भावनापूर्ण पक्षको गतिविधि भएको कुनै संकेत भेटिएको छैन ।
प्रणालीको स्तरोन्नति तथा आधुनिकीकरणका कारण यो समस्या आएको हो ?
होइन । यो समस्या पुरानो टीडीएम प्रणालीका कारण आएको अस्थिरतासँग सम्बन्धित छ । वर्किङ फ्यामिलिज ट्याक्स कट्स कार्यक्रमअन्तर्गत रकम उपलब्ध गराएर स्तरोन्नति गरिएका कुनै पनि टावरमा समस्या आएको थिएन ।
पुराना तामाका तारहरू विस्थापित हुँदै गएकाले तिनको ठाउँमा नयाँ प्रविधि जडान गर्ने काम वर्षौंदेखि नियमित रूपमा भइरहेको छ । नियमित उपकरण स्तरोन्नति र सङ्घीय हवाइ प्रशासनको समग्र आधुनिकीकरण कार्यक्रमबीचको भिन्नता बुझ्नु महत्त्वपूर्ण छ ।
यो समस्या स्मार्ट प्रणालीका कारण आएको हो ?
होइन । यी दुई प्रणालीबीच कुनै सम्बन्ध छैन । स्मार्ट प्रणाली तथ्यांक संकलन तथा एकीकृत गर्ने प्रणाली हो । यसले हवाई ट्राफिक नियन्त्रण प्रणालीमा सूचना पठाउँदैन ।
देशव्यापी उडान रोक्ने निर्णय हुँदा आकाशमा कति विमान थिए ?
करिब ३ हजार ५०० विमान सुरक्षित रूपमा अवतरण गरे र सबै यात्रु सुरक्षित रूपमा गन्तव्यमा पुगे । यसका लागि हाम्रा दक्ष पाइलट र हवाइ ट्राफिक नियन्त्रकहरूको व्यावसायिक दक्षता र अनुभवलाई श्रेय जान्छ । उनीहरूले देशको हवाई क्षेत्रभित्र विमानको सुरक्षित सञ्चालन सुनिश्चित गरे ।
उडान रोकिएको समयमा अत्यावश्यक सेवा सञ्चालन भइरहेका थिए ?
थिए । उडान रोकिएको समयमा पनि व्यावसायिक विमानलाई सुरक्षित अवतरण गराउन आवश्यक रेडियो फ्रिक्वेन्सी उपलब्ध थिए । जीवनरक्षक, कानुन कार्यान्वयन तथा सैन्य उडानहरू पनि निरन्तर सञ्चालन भइरहेका थिए । अत्यावश्यक उडानमा कुनै असर परेको थिएन ।
विमानसँगको रेडियो र राडार सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो ?
थिएन । यो पूर्ण प्रणाली अवरोध थिएन । केही रेडियो फ्रिक्वेन्सी र राडार फिडहरू विश्वसनीय रूपमा सञ्चालन भइरहेका थिए ।
प्रणालीमा अवरोध आउँदा सहयोग गर्न कस्ता वैकल्पिक व्यवस्था उपलब्ध थिए ?
सङ्घीय हवाइ प्रशासनको दूरसञ्चार प्रणाली सञ्चालनमै थियो । तर, त्यसमा अस्थिरता देखिएको थियो । त्यस अवस्थामा पहिलेबाट स्थापित सुरक्षा प्रक्रिया प्रभावकारी भए । हामीले तत्काल कदम चाल्यौं, सावधानीका रूपमा सुरक्षित ढंगले देशव्यापी उडान रोक्यौं र सबै विमान सुरक्षित रूपमा अवतरण गरेको सुनिश्चित ग¥यौं ।
एलथ्री ह्यारिसले सञ्चालन गरिरहेको नेटवर्कमा देखिएका असंगतिबारे अनुसन्धान भइरहेको छ । यस घटनाले पुरानो पूर्वाधारलाई आधुनिकीकरण गरी आजको हवाइ यातायात प्रणालीको माग पूरा गर्न सक्ने सुरक्षित र अत्याधुनिक २१औं शताब्दीको प्रणाली निर्माण गर्नुपर्ने आवश्यकता देखाएको छ ।
कति वटा उडान रद्द भए ?
नोभेम्बर १३ शुक्रबार दूरसञ्चार प्रणालीमा समस्या आएपछि देशव्यापी रूपमा हवाइ उडान रोक्ने निर्णय गरिएको थियो । त्यसपछि करिब १२ हजार ४६२ उडान रद्द गरिए । तीमध्ये प्रमुख एयरलाइन्सहरूले मात्रै ९ हजार ८२ उडान रद्द गरेका थिए ।
यद्यपि, रद्द भएका सबै उडान देशव्यापी उडान रोक्ने निर्णयकै कारण रद्द भएका थिएनन् । सबै विमान सुरक्षित रूपमा अवतरण गरेका थिए । अस्थायी अवरोधपछि सामान्य सेवा पुनः सञ्चालन गर्न र उडान तालिका नियमित बनाउन एयरलाइन्सहरूले काम गरिरहेका छन् ।
हवाइ सेवा पूर्ण रूपमा सामान्य हुन कति समय लाग्छ ?
प्रणाली स्थिर भइसकेको छ र सेवा सामान्य अवस्थामा फर्किंदैछ । विमानहरू पार्किङ स्थानबाट बाहिर निस्किरहेका छन्, ट्याक्सी गर्दैछन् र उडान भरिरहेका छन् । अहिले हवाइ यात्रा सुरक्षित छ । सेवा पुनः सामान्य बनाउन हामी एयरलाइन्सहरूसँग नजिक रहेर समन्वय गरिरहेका छौं ।
राउटर परिवर्तनको काम रातिको सट्टा दिउँसो किन गरियो ?
प्रमुख हवाई ट्राफिक नियन्त्रण केन्द्रहरूमा मर्मतसम्भारको काम सामान्यतया राति गरिन्छ, किनकि त्यस समयमा हवाई चाप कम हुन्छ । तर, यो अवरोध दुर्गम क्षेत्रमा रहेको एउटा केन्द्रमा नियमित रूपमा राउटर परिवर्तन गर्ने क्रममा भएको थियो । यस्तो काम दशकौंदेखि हुँदै आएको छ र यसअघि यसले प्रणालीमा कुनै असर पारेको थिएन । यद्यपि, शुक्रबारको घटनालाई ध्यानमा राख्दै अब राउटर परिवर्तन तथा मर्मतसम्भारको समयबारे पुनर्विचार गरिनेछ ।
उडान पुनः सञ्चालन गर्नुअघि समस्या पूर्ण रूपमा समाधान भएको सुनिश्चित गर्न के गरियो ?
हामी अमेरिकी नागरिकको सुरक्षालाई सबैभन्दा माथि राख्छौं । नेटवर्कमा असंगति देखिएको जानकारी पाएपछि हामीले समस्या पहिचान गर्न, त्यसलाई अलग गर्न र समाधान गर्न सकेसम्म छिटो काम ग¥यौं । यात्रुको सुरक्षा हाम्रो सर्वोच्च प्राथमिकता भएकाले प्रणाली स्थिर रहेको सुनिश्चित गर्न केही समय प्रतीक्षा गरियो । त्यसपछि मात्रै उडान रोक्ने निर्णय फिर्ता लिएर विमानहरूलाई पुनः उडान गर्न अनुमति दिइयो ।
भविश्यमा यस्तो समस्या दोहोरिन नदिन के गरिँदैछ ?
अवरोधको प्रारम्भिक कारण बनेको राउटरको कार्यक्षमता तत्काल बन्द गरेर समस्या समाधान गरिएको हाम्रो विश्वास छ । सावधानीका रूपमा प्रणालीमा रहेका यस्तै प्रकृतिका करिब ६० वटा अन्य राउटरमा पनि सोही कार्यक्षमता बन्द गरिएको छ ।