काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विभिन्न तह र पदमा सयौँ कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको छ । प्राधिकरणले शुक्रबार सूचना प्रकाशित गरी अधिकृत तथा सहायकस्तरका विभिन्न पदमा कर्मचारी भर्नाका लागि आवेदन खुलाएको हो ।
प्राधिकरणले अधिकृतस्तरमा ८३ जना, मिटर रिडिङ सुपरभाइजर ३१ जना, लेखापाल ३४ जना, सुपरभाइजर (इलेक्ट्रिकल) २४६ जना, सुपरभाइजर (मेकानिकल)८ जना, सुपरभाइजर (सिभिल) ३ जना गरी ४०५ जना कर्मचारी माग गरेको छ ।
प्राधिकरणले तह १० अन्तर्गत प्रबन्धक एक जना, तह ८ अन्तर्गत सहायक निर्देशक एक जना, वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट एक जना तथा सहायक प्रबन्धक तीन जना माग गरिएको छ । त्यस्तै, सहायक प्रबन्धक (कम्प्युटर इन्जिनियरिङ) एक जना पनि मागेको छ ।
यस्तै, तह ७ अन्तर्गत प्रशासनिक अधिकृत सात जना, कानून अधिकृत एक जना, लेखा अधिकृत छ जना र चार्टर्ड एकाउन्टेन्ट एक जनाका लागि दरखास्त आह्वान गरेको छ ।
प्राविधिकतर्फ इन्जिनियर (इलेक्ट्रिकल) ४२ जना, इलेक्ट्रोनिक्स तीन जना, मेकानिकल चार जना, सिभिल पाँच जना, सर्भे एक जना र कम्प्युटर इन्जिनियरिङतर्फ चार जना माग गरिएको छ । यसैगरी वातावरणविद् र भूगर्भविद् एक-एक जना मागेको छ ।
प्राधिकरणले सहायकस्तर तह ५ अन्तर्गत पनि विभिन्न पदमा ठूलो सङ्ख्यामा कर्मचारी माग गरेको छ । मिटर रिडिङ सुपरभाइजर (प्रशासनतर्फ) पदमा कोशी प्रदेशबाट सात जना, बागमती प्रदेशबाट १३ जना र लुम्बिनी प्रदेशबाट ११ जना मागेको छ ।
त्यस्तै, लेखापाल (लेखातर्फ) पदमा कोशी प्रदेशबाट १० जना, मधेश प्रदेशबाट सात जना, बागमती प्रदेशबाट १० जना र लुम्बिनी प्रदेशबाट सात जनाका लागि दरखास्त आह्वान गरेको हो ।
सुपरभाइजर (इलेक्ट्रिकल) पदमा सबैभन्दा धेरै कर्मचारी माग गरिएको छ । यस पदमा कोशी प्रदेशबाट ५७ जना, मधेशबाट २५ जना, बागमतीबाट ३० जना, गण्डकीबाट ३० जना, लुम्बिनीबाट ४४ जना, कर्णालीबाट २५ जना र सुदूरपश्चिमबाट ३५ जना आवेदन मागेको हो ।
यसैगरी सुपरभाइजर (मेकानिकल) पदमा कोशी प्रदेशबाट दुई जना, लुम्बिनीबाट एक जना, कर्णालीबाट एक जना र सुदूरपश्चिमबाट चार जना माग गरिएको छ । सुपरभाइजर (सिभिल) पदमा कोशी प्रदेशबाट दुई जना र सुदूरपश्चिमबाट एक जना माग गरिएको प्राधिकरणले जनाएको छ ।
इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले आगामी मंसिर १० गतेसम्म आवेदन दिन सक्नेछन् । तोकिएको म्यादभित्र आवेदन दिन नसक्ने उम्मेदवारले दोब्बर दस्तुर तिरेर मंसिर १७ गतेसम्म दरखास्त पेस गर्न सक्नेछन् । आवेदन प्राधिकरणको आधिकारिक वेबसाइटमार्फत अनलाइन रूपमा पेस गर्न सकिनेछ ।