सातामै १२ लाख कमाउँथे, ५ हजारमा झरे

हिजोसम्म पर्यटकको पर्खाइमा व्यस्त होटल र ग्राहकले भरिने पसल अहिले सडक खुल्ने दिनको प्रतिक्षामा छन् ।

रसुवा । कुनै समय सातामै १२ लाख रुपैयाँसम्मको कारोबार हुन्थ्यो । होटलका कोठा खाली भेटिँदैनथे । पाहुना खोज्नुपर्ने अवस्था थिएन, बरु आएका पाहुनालाई कहाँ राख्ने भन्ने चिन्ता हुन्थ्यो । तर, अहिले त्यही होटलमा दिनभर कुर्दा पनि पाहुना मुस्किलले भेटिन्छन् । आम्दानी खुम्चिएर ४-५ हजारमा झरेको छ ।

२७ वर्षीय डेभिड लोप्चनले धुन्चेमा होटल व्यवसाय थालेको चार वर्ष भयो । ‘स्टे एण्ड रुम्स एण्ड क्याफे’ उनको आम्दानीको मुख्य आधार हो । बाल्यकालदेखि हुर्किएको धुन्चे उनका लागि बजार मात्रै होइन, परिवारको भविष्य जोडिएको ठाउँ हो । यही व्यवसायको आम्दानीबाट बुबाआमा, दुई भाई, श्रीमती र सानो बच्चासहितको परिवार चल्दै आएको थियो । 

केही समयअघिसम्म उनको व्यवसाय उकालो लागिरहेको थियो । सामान्य दिनमा पनि १५ देखि २० जना पाहुना होटलमा बास बस्न आउँथे । वर्षमा एकपटक लाग्ने गोसाइँकुण्डको जनैपूर्णिमा मेलाका बेला भने धुन्चेमा मानिसको चाप थामिनसक्नु हुन्थ्यो । त्यही समयमा डेभिडको होटलमा पनि पाहुनाको ओइरो लाग्थ्यो । दिनमै लाखौंको कारोकार भएको अनुभव पनि उनीसँग छ । 

तर, भदौ १० गते आएको बाढीले डेभिडको त्यो लय एकाएक भत्काइदियो । बाढीले रसुवाको जनजीवनमा क्षति मात्रै पु¥याएन, धुन्चेका साना–ठूला व्यवसायको आधारसमेत हल्लाइदियो । डेभिडले होटलका लागि आवश्यक चामल, तेल, तरकारीलगायत दैनिक उपभोग्य सामग्री सस्तोमा ल्याउने त्रिशूली बजार नै बाढीले तहसनहस बनायो । 

त्यसपछि धुन्चेको बजारमा सामानको अभाव सुरु भयो । आसपासका गाउँबाट आउने तरकारी रोकियो । पसलमा चामल, नुन, तेलदेखि ग्यास सिलिन्डरसम्मको अभाव हुन थाल्यो । सामान ल्याउन टाढाको काठमाडौंमा निर्भर हुनुपरेपछि ढुवानी खर्चले व्यवसायीलाई थप थिचेको छ ।

पहिले करिब १०–१५ हजार रुपैयाँमा धुन्चे पुग्ने सामानको ढुवानी खर्च अहिले ७०–८० हजार रुपैयाँसम्म पुगेको डेभिड बताउँछन् । स्थानीय पालिकाले ढुवानीमा केही सहयोग गर्ने प्रयास गरे पनि भत्किएको र जोखिमपूर्ण सडकका कारण सामान ल्याउन सहज छैन । वर्षा भयो कि आवतजावत नै प्रभावित हुन्छ । पहिले केही घण्टामै पार हुने बाटो अहिले एक दिनसम्म लाग्ने अवस्था छ ।

ढुवानी महँगिएसँगै सामानको मूल्य पनि बढेको छ । पेट्रोलियम पदार्थको लागत बढेको छ । अर्कोतर्फ बजारमा ग्राहक छैनन् । 

पर्यटन क्षेत्रको अवस्था झनै कमजोर बनेको छ । चीनतर्फको नाका तथा बस्ती क्षेत्रमा हुने आवतजावत प्रभावित छ । गोसाइँकुण्ड जाने मार्गबाहेक अन्य क्षेत्रमा पर्यटकको चहलपहल लगभग शून्यजस्तै छ । डेभिडको होटलमा अहिले केही संस्थागत समूहका मानिस बसेकाले मात्र व्यवसाय धानिएको छ ।

तर, उनीहरू फर्किएपछि के हुन्छ भन्ने चिन्ताले डेभिडलाई पिरोलिरहेको छ ।

‘हामी बाढीबाट त बाँच्यौं, । तर, यो महँगी र सम्भावित भोकमरीले पो मर्ने हो कि भन्ने ठूलो चिन्ता छ,’ उनी भन्छन् । 

डेभिडका लागि अहिले सरकारसँग ठूलो माग छैन । उनको अपेक्षा यति मात्रै हो,  भत्किएका बाटो र पुल सकेसम्म छिटो बनून् । सडक खुले बजार फेरि चलायमान हुने उनको विश्वास छ । बाढीले घरबारविहीन बनाएका परिवारका लागि सुरक्षित घरबास र जग्गाको व्यवस्था हुनुपर्ने उनको माग छ ।

‘बाटो खुले बजार चल्छ । बजार चलेपछि हामी आफैँ आफ्नो खुट्टामा उभिन सक्छौं’ भन्ने आशा उनीसँग छ ।

nullलामा तामाङ । 

डेभिडको पीडा धुन्चेको अर्को कुनामा व्यापार गरिरहेकी लामा तामाङको कथासँग पनि मिल्छ ।

गोसाइँकुण्ड गाउँपालिका-६ की स्थायी बासिन्दा लामा तीन-चार दशकदेखि धुन्चेमा किराना पसल चलाउँदै आएकी छन् । उनका श्रीमानले सानो मेडिकल सञ्चालन गर्छन् । कुनै समय सामानले भरिभराउ देखिने उनको पसल अहिले रित्तो हुँदै गएको छ ।

पहिले उनको दैनिक कारोबार १५ देखि २० हजार रुपैयाँसम्म हुन्थ्यो । गोसाइँकुण्ड र लाङटाङ जाने पर्यटकको आवतजावतले व्यापारलाई साथ दिएको थियो । दशैं– तिहारको समय त झन् मुख्य व्यापारिक सिजन हुन्थ्यो । यही समयमा लाखौँ रुपैयाँको कारोबार हुने गरेको उनी सम्झिन्छिन् । 

तर, अहिले अवस्था उल्टिएको छ । बाढी र पहिरोले सडक अवरुद्ध भएपछि सामानको आपूर्ति रोकिएको छ । दैनिक १५-२० हजारको कारोबार गर्ने पसलमा अहिले २–३ हजार रुपैयाँको व्यापार गर्न पनि कठिन छ ।

‘अहिले बाढीले गर्दा एकदमै समस्या छ, सामानहरू भनेजस्तो पाइएको छैन,’ लामा भन्छिन्, ‘पहिला ल्याएको अलिअलि सामान जति थियो, त्यति बेचियो; अब त ठप्पै भएको छ ।’

अहिले उनको पसलमा सबैभन्दा ठूलो अभाव ग्यासको छ । पालिकाले ग्यास उपलब्ध गराउने भने पनि कहिले र कसरी उपलब्ध हुन्छ भन्ने अझै स्पष्ट छैन । ग्याससँगै तेल, चामल, चिनी, मसला लगायतका अत्यावश्यक वस्तुको अभाव पनि उत्तिकै छ ।

व्यापारको मुख्य सिजन दशैं-तिहार नजिकिँदै गर्दा सडक नखुले अवस्था झनै कठिन हुने उनको चिन्ता छ ।

दशैंभन्दा अगाडि नै बाटो खोल्न पाए हामी व्यापारीलाई अलिअलि भए पनि व्यापार हुन्थ्यो,’ उनी भन्छिन्, ‘बाटो छिटोभन्दा छिटो खुल्यो भने हामी रसुवावासीलाई निकै राहत र सजिलो हुने थियो ।’

डेभिड र लामाको कथा धुन्चेमा बाढीपछि बदलिएको अर्थतन्त्रको एउटा सानो तस्वीर हो । बाढीले घर र बाटो मात्रै भत्काएको छैन, बजारको कारोबार, पर्यटनको चहलपहल र स्थानीयको आम्दानीको आधारसमेत कमजोर बनाएको छ ।

हिजोसम्म पर्यटकको पर्खाइमा व्यस्त होटल र ग्राहकले भरिने पसल अहिले सडक खुल्ने दिनको प्रतीक्षामा छन् ।

 
 

Share News