काठमाडौं । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन आज दिदीबहिनीको हातबाट टीका ग्रहण गर्दै भाइटीका पर्व मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीकालाई यमद्वितीया पनि भनिन्छ ।
भाइटीकाका अवसरमा दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिने चलन छ । टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिने र आफ्नो गच्छेअनुसार उपहार तथा दक्षिणा दिएर सम्मान प्रकट गर्ने परम्परा छ ।
भाइटीका आज दिनभर लगाउन सकिने भए पनि शुभ साइतमा टीका लगाउन चाहनेका लागि बिहान ११ बजेर ७ मिनेटको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
समितिका अनुसार सर्वसाधारणले आज दिनभर जुनसुकै समयमा टीका लगाउन सक्नेछन् । तर राज्य सञ्चालनको जिम्मेवारीमा रहेकाहरूले भने शास्त्रीय मान्यताअनुसार शुभ साइतमै टीका लगाउनुपर्ने हुन्छ ।
यस वर्ष टीका लगाइदिने दिदीबहिनी पूर्व र टीका लगाउने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । यसो गर्दा वृश्चिक राशिमा रहेका चन्द्रमा दाहिने पर्नेछन् । शुभकार्य गर्दा चन्द्रमालाई अगाडि वा दाहिने पार्नुपर्ने शास्त्रीय मान्यता रहेको समितिले जनाएको छ ।
भाइटीकाका दिन दियो, कलश र गणेशको पूजा गरी अष्टचिरञ्जीवीका साथै यमराज र यमुनाको पूजा आराधना गर्ने परम्परा छ । मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुरामलाई अष्टचिरञ्जीवीका रूपमा पूजा गरिन्छ ।
यस दिन दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर मखमली, सयपत्री र गोदावरीका माला लगाइदिने गर्छन् । साथै ओखर, कटुस, मरमसला र सेलरोटीलगायत परम्परागत परिकार दिएर स्नेह र आत्मीयता साटासाट गर्ने चलन छ ।
दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर आज दिनभर खुला रहनेछ । वर्षमा एकपटक भाइटीकाका दिन मात्र खुल्ने यस मन्दिरमा पुगेर पूजा, दर्शन तथा टीका लगाउने परम्परा छ । काठमाडौं महानगरपालिकाका अनुसार भक्तजनको सुविधाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ ।
जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी वा दाजुभाइ नहुनेहरूले पूजा तथा दर्शन गरी टीका लगाउने पुरानो परम्परा छ ।
यसैबीच, नेवार समुदायले भाइटीकालाई किजापूजाका रूपमा मनाउने गर्छन् । कुल परम्पराअनुसार केहीले आज र केहीले अघिल्लो दिन किजापूजा गर्ने चलन छ । भक्तपुरका तलेजु मन्दिरका पुजारी तथा ज्योतिषीको निर्णयअनुसार त्यहाँका अधिकांश नेवार समुदायले भने हिजो नै किजापूजा सम्पन्न गरिसकेका छन् ।