बली, गोरु र हलिको पूजा गरी मनाइँदै गोवर्द्धन पूजा

काठमाडौं । कार्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको पाँचौँ दिन आज गोवर्द्धनको, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ ।

गोवर्द्धन पूजाका अवसरमा आँगनमा लिपपोत गरी गाईको गोबरबाट पर्वतको आकृति बनाएर त्यसलाई गोवर्द्धन पर्वतका रूपमा पूजा गर्ने परम्परा छ । द्वापरयुगमा भगवान् श्रीकृष्णले आफ्नो हत्केलाले गोवर्द्धन पर्वत उचालेर गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको स्मरणमा यो पूजा गर्ने प्रचलन रहेको छ ।

कार्तिक शुक्ल प्रतिपदाका दिन सूर्योदय भएको समयमा गोवर्द्धन पूजा गर्नुपर्ने धार्मिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएकाे छ । 

बली, हलि र गोरुको पूजा

भगवान् विष्णुले बली राजालाई यमपञ्चकका पाँच दिन मत्र्यलोकको शासन गर्ने अधिकार दिएको धार्मिक विश्वासअनुसार आज बली राजाको पनि पूजा आराधना गरिन्छ । यही विश्वासका आधारमा तिहारमा देउसी खेल्ने क्रममा ‘हामी त्यसै आएनौँ, बली राजाले पठाए’ भन्दै भट्याउने परम्परा चलेको हो ।

वर्षभरि खेतबारी जोतेर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा गरी मीठा परिकार खान दिने चलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहन साँढेका रूपमा समेत पूजा गर्ने परम्परा रहेको छ ।

यसैगरी, वर्षभरि गोरु जोतेर खेतीपाती गर्ने हलि तथा कृषि कर्ममा संलग्न किसानलाई पनि आज पूजा गरी मीठा परिकार खुवाउने गरिन्छ । त्यसैले कार्तिक शुक्ल प्रतिपदाको दिनलाई हलि तिहारका रूपमा समेत चिनिन्छ ।

Share News