नेपाल टेलिकमले माग्यो ८० जना कर्मचारी, उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्म

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले विभिन्न पदमा ८० जनाका लागि दरखास्त आह्वान गरेको छ । कम्पनीले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत रिक्त पदमा कर्मचारी भर्ना गर्न लागेको हो ।

कम्पनीका अनुसार नवौँ तहमा उप–प्रबन्धक (चार्टर्ड एकाउन्टेन्ट) पदमा एक जनाका लागि आवेदन खुलाइएको छ । त्यस्तै, आठौँ तहमा वरिष्ठ इन्जिनियर एक जना, वरिष्ठ व्यापार अधिकृत एक जना र वरिष्ठ लेखा अधिकृत एक जना गरी ३ जना कर्मचारी मागेको छ ।

यसैगरी, सातौँ तहमा टेलिकम इन्जिनियर (इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन)का लागि ३ जना, कम्प्युटरमा १० जना र इलेक्ट्रिकलमा ३ जनाका लागि आवेदन माग गरिएको छ । 

छैटौँ तहमा सहायक प्रशासनिक अधिकृत ९ जना, सहायक व्यापार अधिकृत ८ जना र सहायक लेखा अधिकृत २ जनाका लागि पनि दरखास्त आह्वान गरिएको छ ।

कम्पनीले पाँचौँ तहमा ओभरसियर ३ जना, चौथो तहमा टेलिकम टेक्निसियन ९ जना र सहायक १७ जना र तेस्रो तहमा कनिष्ठ प्राविधिक १२ जनाका लागि दरखास्त आह्वान गरिएको हो । 

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले कम्पनीको आधिकारिक वेबसाइट वा अनलाइन आवेदन प्रणालीमार्फत दरखास्त दिन सक्नेछन् । कम्पनीका अनुसार नियमित दस्तुरमा मंसिर ३ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा आवेदन दिन नसक्ने उम्मेदवारले दोब्बर दस्तुर तिरेर मंसिर १० गतेसम्म दरखास्त बुझाउन सक्ने व्यवस्था गरिएको छ ।

Share News