जहाज डिले भए यात्रुलाई क्षतिपूर्ति दिनुपर्ने, यात्रुको मृत्यु भए सवा करोड पाउने
काठमाडौं । नेपालमा आन्तरिक हवाई यात्रालाई सुरक्षित, भरपर्दो र पूर्ण रूपमा जिम्मेवार बनाउने उद्देश्यका साथ सरकारले ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ संसदमा पेस गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल (गनेस) द्वारा प्रस्तुत यस विधेयकले आन्तरिक हवाई यात्राका क्रममा यात्रु, ब्यागेज, कार्गो तथा तेस्रो पक्षमा पर्न सक्ने जोखिम र क्षतिपूर्तिको दायरालाई पहिलो पटक अन्तर्राष्ट्रिय मापदण्डअनुरूप स्पष्ट कानूनी ढाँचामा ल्याएको छ । प्रमाणीकरण भएको ३१ औं दिनदेखि लागू हुने यस ऐनले वायुसेवा सञ्चालकहरूलाई आर्थिक र कानूनी दायित्वभित्र बाँध्दै यात्रुहरूको हक–हितको संरक्षण गर्ने लक्ष्य राखेको छ । प्रस्तावित विधेयकमा हवाई दुर्घटनामा परी यात्रु वा तेस्रो पक्षको मृत्यु वा अङ्गभङ्ग भएमा दिइने क्षतिपूर्तिको सीमा उच्च बनाइएको छ । दुर्घटनामा मृत्यु वा शारीरिक क्षति भएमा मृतक वा पीडितका हकवालाले अधिकतम १ लाख अमेरिकी डलर (करिब १ करोड ३४ लाखभन्दा बढी नेपाली रुपैयाँ) सम्म क्षतिपूर्ति पाउनेछन् । हाल आन्तरिक उडानका जहाज दुर्घटना भएर ज्यान गुमाउने यात्रुले २० हजार डलर बीमा रकम पाउँदै आएका छन् । विधेयकले ऐनको रूप धारण गरेपछि सम्बन्धित यात्रुका परिवारले बीमाबापत एक लाख डलर रकम पाउने छन् । क्षतिपूर्ति भुक्तानीमा ढिलाइ हुने अवस्थामा शव हस्तान्तरण गर्दाकै बखत अन्तिम संस्कारका लागि कम्तीमा ५ लाख रुपैयाँ तत्काल उपलब्ध गराउनुपर्ने कानूनी व्यवस्था गरिएको छ, जुन पछि कुल क्षतिपूर्ति रकमबाट कट्टा गरिनेछ । घाइतेहरूको सम्पूर्ण उपचार खर्च व्यहोर्ने दायित्व वायुसेवाको हुनेछ भने दुर्घटनाका कारण तेस्रो पक्षको धनसम्पत्तिमा पुग्ने नोक्सानीको पूर्ति पनि सम्बन्धित वायुसेवाले नै गर्नुपर्नेछ । उडान ढिलाइ, रद्द र टिकटसम्बन्धी नियमहरूलाई थप कडा र पारदर्शी बनाउन विधेयकमा विशेष व्यवस्था समेटिएको छ । उडान रद्द, स्थगन वा ढिलाइ हुने भएमा तोकिएको समयभन्दा कम्तीमा ३ घण्टा अगावै यात्रुलाई पूर्वसूचना दिनुपर्नेछ । सूचना नदिई उडान रद्द वा ढिलाइ गरेमा वा भारवहन क्षमताका कारण यात्रुलाई उडान गराउन नसकेमा वायुसेवाले तोकिएको सुविधा र क्षतिपूर्ति उपलब्ध गराउनुपर्नेछ । साथै, यात्रुको चेक–इन ब्यागेज हराएमा वा क्षति पुगेमा प्रति किलोग्राम २० अमेरिकी डलरका दरले बढीमा ५०० डलरसम्म र कार्गोको हकमा मूल्य घोषणा नगरिएको भए प्रति किलोग्राम १० डलरका दरले क्षतिपूर्ति दिइनेछ । हवाई सेवा सञ्चालकहरूका लागि सर्वपक्षीय बीमा अनिवार्य गर्दै नियमनकारी प्रावधानहरू सशक्त पारिएको छ । वायुसेवाले यात्रु, मालसामान र तेस्रो पक्षका साथै युद्ध, आतंककारी क्रियाकलाप, अपहरण र वातावरणीय क्षतिसमेत समेट्ने गरी बीमा गर्नुपर्नेछ । बीमा नगर्ने वायुसेवालाई नेपाल नागरिक उड्डयन प्राधिकरणले व्यावसायिक उडानमा रोक लगाउन सक्नेछ भने ३५ दिनभित्र पनि बीमा नगरे वायुसेवा सञ्चालन प्रमाणपत्र (ब्इऋ) नै रद्द गर्न सक्नेछ। हाल सञ्चालनमा रहेका कम्पनीहरूले ऐन प्रारम्भ भएको ३ महिनाभित्र यो बीमा गरिसक्नुपर्ने व्यवस्था गरिएको छ । क्षतिपूर्ति दाबी प्रक्रिया र कानुनी पुनरावेदनको स्पष्ट समयसीमा विधेयकमा निर्धारण गरिएको छ । दुर्घटना वा क्षति भएको ९० दिनभित्र हकवाला वा पीडितले र उडान रद्द वा ब्यागेज नोक्सानीको हकमा ३० दिनभित्र दाबी पेस गर्नुपर्नेछ । वायुसेवाले ६० दिनभित्र निर्णय नगरे वा निर्णयमा चित्त नबुझे प्राधिकरणको महानिर्देशकसमक्ष र त्यहाँबाट पनि समाधान नभए ३५ दिनभित्र उच्च अदालतमा पुनरावेदन दिन सकिनेछ । महानिर्देशकले कसुरको प्रकृति हेरी १० हजारदेखि २५ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने प्रस्ताव गरिएको छ ।
स्पोर्टस टुरिज्मको लक्ष्य बोकेका पराजुलीको नाट्टा सचिवमा उम्मेदवारी
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचनमा पर्यटन व्यवसायी रमेश पराजुलीले सचिव पदमा उम्मेदवारी दिने भएका छन् । रुप्से होलिडेजका प्रबन्ध निर्देशकसमेत रहेका पराजुलीले भरत जंग पाण्डे नेतृत्वको टिमबाट सचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन् । व्यवसायीको साझा संस्था बनाउने भन्दै पराजुलीले पाण्डे टिमबाट उम्मेदवारी घोषणा गरेको बताए। उनले भरत जंग पाण्डे नेतृत्वको समूहबाट उम्मेदवारी घोषणा गरेका हुन् । उनले योग्य, अनुभवी र व्यावसायिक टिमलाई विजयी गराई नाट्टालाई नयाँ उचाइमा पुर्याउन सम्पूर्ण सदस्यहरूलाई आग्रह समेत गरेका छन् । करिब दुई दशक पर्यटन क्षेत्रमा बिताएकाले अन्तर्राष्ट्रिय सञ्जाल र नेपालको ट्राभल उद्योगमा उल्लेखनीय कार्य गरेकाले नाटाको आगामी निर्वाचनमा सचिवमा उम्मेदवारी दिने घोषणा गरेको पराजुलीले बताए । पराजुली रुप्से होलिडेजका सञ्चालक छन् । काठमाडौंको हात्तिसारमा रहेका ट्राभल्सले नेपाली पर्यटन उद्योगमा उल्लेखनीय मात्रामा योगदान पुर्याएको उनले बताए । नेपाल-भियतनामबीच नियमित चार्टर उडान सञ्चालन गरिसकेका उनले नयाँ गन्तव्यको खोज र पर्यटन विकासको प्रवर्द्धनमा लागिरहने पराजुलीले बताउँछन् । उनका अनुसार रुप्सेले श्रीलंका, भियतनाम, थाइल्याण्ड र मेलसिया लगायत अन्य मुलुकका पर्यटकका लागि काम गरिरहेको छ । त्यसैगरी, उनले पर्यटन र खेलकुदको सम्बन्धलाई व्यावसायिक रूप दिने ‘स्पोट्र्स टुरिजम’ अवधारणा अघि ल्याएका छन् । पराजुलीले ललितपुर क्विन्स महिला भलिबल टोलीमार्फत नेपाली महिला खेलकुदलाई व्यवसायीकरण र अन्तर्राष्ट्रिय पहिचान दिलाउन महत्त्वपूर्ण भूमिकासमेत खेलेका छन् । पराजुलीले रुप्से स्पोट्र्स म्यानेजमेन्टमार्फत नेपाली क्रिकेट, महिला भलिबल र समग्र खेलकुद उद्योगमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । हालसम्म १४० भन्दा बढी देशको भ्रमण गरिसकेका पराजुली अन्तर्राष्ट्रिय पर्यटन बजार, एयरलाइन्स कम्पनीसँगको सहकार्य, गन्तव्य विकास र प्रवर्द्धनका क्षेत्रमा विशिष्ट अनुभव हासिल गरेका व्यक्ति हुन् । सचिव पदमा उम्मेदवारी घोषणापछि पराजुलीले नाट्टालाई प्रविधिमैत्री, पारदर्शी र सदस्य केन्द्रित बनाउने प्रतिबद्धता जनाएका छन् । युवा उद्यमीहरूको सहभागिता वृद्धि, क्षमता अभिवृद्धि तालिम र व्यवसाय विस्तारका अवसर सिर्जनालाई पनि प्राथमिकता दिइने पराजुलीले बताए । नाटामा हाल ५ सय २२ सदस्य रहेकाले आगामी दिनमा एक हजार सदस्य बनाउने योजना रहेको उनले प्रतिबद्धता व्यक्त गरे । 'पर्यटन केवल व्यवसाय मात्रै होइन, सम्पूर्ण अर्थतन्त्रको चालक शक्ति हो । नाट्टालाई सबै सदस्यको साझा व्यावसायिक मञ्चका रूपमा सशक्त, उत्तरदायी र परिणाममुखी बनाउनु आजको आवश्यकता हो,' पराजुलीले भने । नाटाले पर्यटन क्षेत्रलाई मजबुत बनाउन नीतिगत रुपमा सरकारलाई सल्लाह सुझाव दिन सक्ने उनको भनाइ छ । संस्थाको विकास, सदस्य हित र पर्यटन उद्योगको समग्र उन्नयनका लागि सबैको सुझाव, सल्लाह र रचनात्मक सहयोगको अपेक्षा पनि व्यक्त गरेका छन् । ‘मेरो उम्मेदवारी व्यक्तिगत महत्वाकांक्षा होइन, सम्पूर्ण पर्यटन व्यवसायीको साझा आवाजलाई थप बलियो बनाउनका लागि हो । बलियो नाट्टा, बलियो पर्यटन र समृद्ध नेपालको लक्ष्य हासिल गर्न म पूर्ण प्रतिबद्ध छु,’ पराजुलीले भने ।
कैलाश हेलिकप्टरको आम्दानी साढे ३९ करोड, ५०% हिस्सा साहसिक पर्यटनको
काठमाडौं । कैलाश हेलिकप्टर सर्भिसेज लिमिटेडको सञ्चालन आम्दानी गत आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा २६.३५ प्रतिशतले घटेको छ । कम्पनीले उक्त अवधिमा ३९ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको ५३ करोड ५० लाख रुपैयाँको तुलनामा १४ करोड १० लाख रुपैयाँ कम हो । कम्पनीका अनुसार गत भदौमा भएको जेनजी आन्दोलन तथा त्यसपछिको प्रभावले नेपालको पर्यटन क्षेत्रमा असर पर्दा लक्षित ग्राहक वर्ग प्रभावित भएको थियो । त्यसकै प्रभाव स्वरूप उडान सङ्ख्या र सञ्चालन आम्दानीमा गिरावट आएको हो । सञ्चालन नाफा मार्जिन पनि अघिल्लो वर्षको ९ महिनामा रहेको ४२ प्रतिशतबाट घटेर गत वर्षको सोही अवधिमा ३५ प्रतिशतमा सीमित भएको छ । उडान घण्टा घट्नु, प्रति उडान घण्टाबाट हुने आम्दानी कम हुनु तथा तुलनात्मक रूपमा कम प्रतिफल दिने उद्धार र मालवाहक उडानको हिस्सा बढ्नुले नाफामा दबाब परेको कम्पनीले जनाएको छ । यद्यपि दीर्घकालीन रूपमा कम्पनीको आम्दानी वृद्धिको क्रम भने सकारात्मक देखिएको छ । आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ८१ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । त्यस्तै, आर्थिक वर्ष २०८०/८१ मा ७९ करोड ४० लाख रुपैयाँ, आव २०७९/८० मा ७० करोड २० लाख रुपैयाँ, आव २०७८/७९ मा ४० करोड ४० लाख रुपैयाँ, आव २०७७/७८ मा ३२ करोड १० लाख रुपैयाँ र आव २०७६/७७ मा ३० करोड ६० लाख रुपैयाँ आम्दानी गरेको थियो । सन् २०१७ मा स्थापना भएको कैलाश हेलिकप्टर सर्भिसेज नेपालका अग्रणी हेलिकप्टर सेवा प्रदायक कम्पनीमध्ये एक हो । कम्पनीले चार्टर उडान, उद्धार सेवा, स्लिङ सञ्चालन तथा एभरेस्ट आधार शिविर र अन्नपूर्ण आधार शिविर लक्षित साहसिक हवाई भ्रमण सेवा सञ्चालन गर्दै आएको छ। हाल कम्पनीसँग एयरबसका तीन वटा हेलिकप्टर रहेका छन् । कम्पनी ७ जना व्यक्तिगत प्रवर्द्धकद्वारा स्थापित भएको हो । सन् २०२६ अप्रिलसम्म कम्पनीको चुक्ता पुँजी ३४ करोड ७० लाख रुपैयाँ पुगेको छ । अध्यक्ष क्याप्टेन आशिष शेरचन र प्रबन्ध निर्देशक प्रतापजङ्ग पाण्डेयको संयुक्त सेयर स्वामित्व करिब ४० प्रतिशत रहेको छ । सञ्चालकहरूमा सुनिल श्रेष्ठ, रमेश पण्डित, श्रीराम केसी र ईश्वरी पौडेल रहेका छन् । कम्पनीका अनुसार हेलिकप्टर सेवा क्षेत्रमा नयाँ कम्पनी प्रवेश गर्न अझै पनि उच्च अवरोध रहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पुँजी, दक्ष प्राविधिक जनशक्तिको अनिवार्यता तथा आर्थिक वर्ष २०२७/२८ भित्र कम्तीमा ५ वटा हेलिकप्टर सञ्चालनमा ल्याउनुपर्ने व्यवस्थाजस्ता प्रावधानले नयाँ कम्पनीको प्रवेश कठिन बनाएका छन् । यसले बजारमा स्थापित कम्पनीहरूको प्रतिस्पर्धात्मक अवस्था बलियो रहने कम्पनीको विश्वास छ । कम्पनीको करिब ५० प्रतिशत आम्दानी साहसिक पर्यटनबाट प्राप्त हुन्छ । यसमध्ये एभरेस्ट आधार शिविरबाट करिब ४८ प्रतिशत र अन्नपूर्ण आधार शिविरबाट करिब २ प्रतिशत आम्दानी हुने गरेको छ । उद्धार सेवाबाट करिब ३० प्रतिशत तथा मालवाहक उडानबाट करिब २० प्रतिशत आम्दानी हुने गरेको कम्पनीले जनाएको छ । मुख्य पर्यटकीय गन्तव्यमा सामाजिक वा वातावरणीय कारणले अवरोध सिर्जना भए कम्पनीको आम्दानी र नाफामा प्रत्यक्ष असर पर्न सक्ने जोखिम रहेको कम्पनीको भनाइ छ । आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको कुल आम्दानीमध्ये करिब ५८ प्रतिशत शीर्ष १० ग्राहकबाट प्राप्त भएकाले प्रमुख ग्राहक वा व्यावसायिक साझेदारमा हुने परिवर्तनले पनि आम्दानीमा प्रभाव पार्न सक्ने देखिएको छ । हवाई इन्धन कम्पनीको प्रमुख सञ्चालन खर्च भएकाले यसको मूल्यमा हुने उतारचढावले नाफामा प्रत्यक्ष असर पार्ने कम्पनीले जनाएको छ । साथै, हेलिकप्टर, इन्जिन तथा जगेडा पुर्जाको खरिद र मर्मतसम्भारका लागि विदेशी मुद्रामा भुक्तानी गर्नुपर्ने भएकाले विनिमय दरको उतारचढाव पनि अर्को प्रमुख जोखिमका रूपमा रहेको छ । दुर्गम भौगोलिक अवस्था, अनिश्चित मौसम, दक्ष जनशक्तिको सीमित उपलब्धता तथा पर्यटन उद्योगको मौसमी प्रकृतिका कारण कम्पनीको व्यवसायमा समय–समयमा चुनौती आउन सक्ने देखिन्छ । आर्थिक मन्दी, यात्रा प्रतिबन्ध वा पर्यटकीय मुख्य मौसममा सेवा अवरुद्ध भए कम्पनीको वित्तीय कार्यसम्पादनमा उल्लेख्य असर पर्न सक्ने कम्पनीले जनाएको छ ।