धनगढीमा खुल्यो भेस्पा र अप्रिलियाको नयाँ शोरुम
काठमाडौं । भेस्पा र अप्रिलियाको नेपालका लागि आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले धनगढीमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । युवापुस्तामाझ भेस्पा र अप्रिलियाका स्कुटरप्रति बढ्दो रुचि र ग्राहकको सहजतालाई ध्यानमा राख्दै धनगढीमा नयाँ शोरुम विस्तार गरिएको कम्पनीले जनाएको छ । शोरुमको असोज ९ गते विशेष कार्यक्रमबीच उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा डेल्टा अटोकर्पका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजय कुमार महतोले देशभर भेस्पा र अप्रिलियाका स्कुटर सहज रूपमा उपलब्ध गराउने योजनाअनुसार धनगढीमा नयाँ शोरुम सञ्चालनमा ल्याइएको बताए । उनका अनुसार नयाँ शोरुमबाट ग्राहकले अन्य शोरुममा उपलब्ध हुँदै आएका सेवा तथा सुविधा प्राप्त गर्नेछन् । ग्राहकको आवश्यकता र अपेक्षाअनुसार सेवा विस्तार गर्दै लैजाने प्रतिबद्धता पनि उनले व्यक्त गरे । धनगढी उपमहानगरपालिका–४ स्थित वेस्टर्न म्याक नेपाल प्रालिबाट भेस्पा र अप्रिलियाका विभिन्न मोडल खरिद गर्न सकिने कम्पनीले जनाएको छ । शोरुममा हालै नेपालमा सार्वजनिक गरिएको १७५ सीसीको अप्रिलिया एसआर १७५ लगायत भेस्पाका विभिन्न मोडल र नयाँ रङहरू उपलब्ध हुनेछन् । भेस्पाका नयाँ लाइल्याक र ओरो गोल्डेन रङमा समेत स्कुटर खरिद गर्न सकिने कम्पनीले जनाएको छ । डेल्टा अटोकर्पले देशभर शोरुम तथा आधिकारिक सर्भिस सेन्टरको संख्या बढाउँदै लगेको जनाएको छ ।
दसैं अफरमा होण्डाको नयाँ बाइक किन्दा १ लाख रुपैयाँसम्म नगद जित्ने अवसर
काठमाडौं । होण्डा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले दसैं, तिहार र छठलाई लक्षित गर्दै ‘यो दशैं, आशाको सुरुवात’ योजना सार्वजनिक गरेको छ । कम्पनीका अनुसार योजनाअन्तर्गत होण्डाको नयाँ बाइक वा स्कुटर खरिद गर्ने ग्राहकले स्क्र्याच कुपनमार्फत १ लाख रुपैयाँसम्म नगद जित्ने मौका पाउनेछन्। योजनाको मुख्य आकर्षण ‘होण्डा छ साथ साथ’ अफर हो। यसअन्तर्गत हरेक हप्ता सातै प्रदेशबाट एक–एक जना गरी सात जना विजेता छनोट गरिनेछ। विजेताले १ लाख रुपैयाँसम्म नगद प्राप्त गर्नेछन्। कम्पनीले विजेताले जितेको रकम बराबरकै रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पनि योगदान गर्ने जनाएको छ। यसरी ग्राहकले पुरस्कार जित्नुका साथै विपद् प्रभावितको सहयोगमा पनि सहभागी हुने कम्पनीको भनाइ छ। यससँगै ग्राहकले थप तीनमध्ये कुनै एक सुविधा रोज्न सक्नेछन्। उनीहरूले १० हजार रुपैयाँसम्मको अतिरिक्त स्क्र्याच कुपन, सात वर्षसम्म निःशुल्क सर्भिसिङ वा पाँच वर्षको वार्षिक मर्मत सम्झौता (एएमसी) मध्ये एउटा विकल्प छनोट गर्न सक्ने व्यवस्था गरिएको छ। नयाँ बाइक वा स्कुटर खरिदलाई सहज बनाउन स्याकार हायर पर्चेजमार्फत फाइनान्स सुविधा पनि उपलब्ध गराइएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो योजना सीमित अवधिसम्म लागू हुनेछ र होण्डाका सबै आधिकारिक शोरुमबाट नयाँ दुईपांग्रे सवारी खरिद गर्दा नियम तथा सर्तअनुसार यसको लाभ लिन सकिनेछ।
५० भन्दा बढी स्मार्ट फिचरसहित आयो टीभीएस एनटर्क १५०
काठमाडौं । टीभीएस मोटर कम्पनीले नेपालमा आफ्नो नयाँ स्कुटर टीभीएस एनटर्क १५० सार्वजनिक गरेको छ । कम्पनीले यसलाई नेपालकै पहिलो ‘हाइपर स्पोर्ट स्कुटर’का रूपमा बजारमा ल्याएको हो । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्ससँगको सहकार्यमा शनिबार काठमाडौंको नक्सालमा आयोजित कार्यक्रममा एनटर्क १५० सार्वजनिक गरिएको हो । १४९.७ सीसीको रेस–ट्युन गरिएको इन्जिन तथा स्टेल्थ विमानबाट प्रेरित डिजाइनमा तयार गरिएको यो स्कुटरमा उच्च कार्यक्षमता, स्पोर्टी डिजाइन र आधुनिक प्रविधिको संयोजन गरिएको कम्पनीले जनाएको छ । यसमा १४९.७ सीसी एयर–कुल्ड ओ थ्री सी टेक इन्जिन रहेको छ । उक्त इन्जिनले ७ हजार आरपीएममा १३.२ पीएस पावर तथा ५ हजार ५०० आरपीएममा १४.२ एनएम टर्क उत्पादन गर्छ । स्कुटरले ६।३ सेकेन्डमै शून्यदेखि ६० किलोमिटर प्रतिघण्टाको गति लिन सक्ने कम्पनीको दाबी छ । यसको अधिकतम गति १०४ किलोमिटर प्रतिघण्टा रहेको छ । स्टेल्थ विमानबाट प्रेरित डिजाइन एनटर्क १५० को डिजाइन स्टेल्थ विमानबाट प्रेरित रहेको कम्पनीले जनाएको छ । यसमा मल्टिप्वाइन्ट प्रोजेक्टर हेडलाइट, स्पोर्टी टेललाइट, एरोडाइनामिक विङलेट, सिग्नेचर ध्वनि भएको छोटो मफलर, नेकेड ह्यान्डलबार तथा रंगीन एलोय ह्विल प्रयोग गरिएको छ । फर्वार्ड–बायस्ड स्टान्स र एरोहेडबाट प्रेरित अगाडिको डिजाइनले स्कुटरलाई आक्रामक तथा स्पोर्टी स्वरूप दिएको छ । मोटरसाइकल शैलीको नेकेड ह्यान्डलबार, जेटबाट प्रेरित भेन्ट र इन्टिग्रेटेड विङलेटले यसको स्पोर्टी पहिचानलाई थप बलियो बनाउने कम्पनीको भनाइ छ । यसमा ‘टी’ आकारको टेललाइट, स्पोर्ट–ट्युन गरिएको सस्पेन्सन, हलुका एलोय ह्विल तथा पर्फर्मेन्स एक्जस्टसमेत राखिएको छ । ५० भन्दा बढी स्मार्ट सुविधा यसमा टीभीएस स्मार्टकनेक्ट प्रविधिसहित ५० भन्दा बढी कनेक्टेड सुविधा उपलब्ध छन् । यसमा टर्न–बाइ–टर्न नेभिगेसन, अन्तिमपटक स्कुटर पार्क गरिएको स्थान पत्ता लगाउने सुविधा, कल तथा सन्देशको सूचना र विभिन्न राइड मोडलगायतका सुविधा छन् । कम्पनीका अनुसार यी सुविधाले नयाँ पुस्ताका चालकलाई थप सहज र कनेक्टेड राइडिङ अनुभव प्रदान गर्नेछ । ट्र्याक्सन कन्ट्रोल र एबीएस सुरक्षा र चालकको आत्मविश्वासलाई ध्यानमा राख्दै यसमा सिंगल–च्यानल एबीएससँगै आफ्नो सेग्मेन्टमै पहिलोपटक ट्र्याक्सन कन्ट्रोल उपलब्ध गराइएको कम्पनीले जनाएको छ । यसमा हाजार्ड ल्याम्प र फलो–मी हेडलाम्प पनि राखिएको छ। आरामदायी यात्राका लागि टेलिस्कोपिक सस्पेन्सन, समायोजन गर्न मिल्ने ब्रेक लेभर, पेटेन्ट गरिएको ई–जेड सेन्टर स्ट्यान्ड तथा २२ लिटरको सिटमुनिको भण्डारण क्षमता उपलब्ध छ । तीन रंगमा उपलब्ध यो स्कुटर स्टेल्थ सिल्भर, रेसिङ रेड र टर्बो ब्लु गरी तीन रंगमा उपलब्ध हुनेछ । यसको प्रारम्भिक मूल्य ३ लाख ६९ हजार ९ सय रुपैयाँ तोकिएको छ । स्कुटर हाल नेपालभरका जगदम्बा मोटर्सका डिलरशिपमार्फत बिक्रीका लागि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।