काठमाडौं । हुम्लाको चंखेली गाउँपालिका–१ मा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल दुधेदहमा तीन फिटसम्म हिउँ परेको छ । हिमपातपछि दुधेदह क्षेत्र सेताम्मे बनेको छ ।
हिउँले ढाकिएको ताल र आसपासका हिमाली दृश्यले दुधेदहको सुन्दरता थप मनमोहक बनाएको छ । सेताम्मे हिमाल र हिउँले ढाकिएको तालले यहाँ पुग्ने पर्यटकलाई आकर्षित गर्ने दृश्य बनेको छ ।
दुधेदहमा साउन पूर्णिमा र विजयादशमी पूर्णिमाका अवसरमा श्रद्धालु तथा धार्मिक पर्यटकको भीड लाग्ने गर्छ । यस क्षेत्रमा दुधेदहसहित २४ वटा ताल रहेका छन् ।
स्थानीय बासिन्दाका अनुसार तालको पानी दूधजस्तै सेतो देखिने भएकाले यसको नाम दुधेदह रहन गएको हो । यहाँ भुवानी देवताको उत्पत्ति भएको धार्मिक विश्वास छ । यही विश्वासका आधारमा पूर्णिमाका अवसरमा पूजाआजा गर्ने परम्परा छ ।
प्राकृतिक सुन्दरता, धार्मिक आस्था र हिमाली भूगोलको संगम बनेको दुधेदह हिमपातपछि झनै आकर्षक देखिएको छ ।










