लिवर्टी इनर्जीका सञ्चालक रामबहादुर पाण्डेले दिए राजीनामा

काठमाडौं । लिवर्टी इनर्जी कम्पनी लिमिटेडका सञ्चालक रामबहादुर पाण्डेको राजीनामा स्वीकृत भएको छ । कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई पत्र पठाउँदै सञ्चालक समितिले पाण्डेको राजीनामा स्वीकृत गरेको जानकारी दिएको हो । कम्पनीका अनुसार असोज ११ गते बिहान ११ बजे बसेको सञ्चालक समिति बैठकले पाण्डेले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो । यस निर्णयबारे नियामक निकायहरूलाई औपचारिक रूपमा जानकारी गराइएको कम्पनी सचिव ध्रुवकुमार श्रेष्ठले जनाएका छन् ।

मितेरी डेभलपमेन्ट बैंकको ११ प्रतिशत लाभांश घोषणा

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले सेयरधनीलाई ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको सञ्चालक समितिको असोज १० गते बसेको बैठकले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफा तथा सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले हाल कायम चुक्ता पुँजी १ अर्ब २१ करोड ७१ लाख रुपैयाँको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहितका लागि ६ प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  प्रस्तावित लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिनुपर्नेछ । राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि बैंकको आगामी २१औँ वार्षिक साधारण सभाबाट प्रस्ताव पारित गरी सेयरधनीलाई लाभांश वितरण गरिने प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनन्त कुमार चापगाईंले जानकारी दिए । 

अनलाइन सेक्युरिटिजले १२५ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौं । अनलाइन सेक्युरिटिज लिमिटेड (ब्रोकर नम्बर ४९)ले १२५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले सञ्चालक समितिको सिफारिसअनुसार १२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले लाभांश प्रस्ताव पारित गर्न असोज २३ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको १९औँ वार्षिक साधारण सभा काठमाडौंमा दिउँसो साढे ३ बजे बस्नेछ । आर्थिक वर्ष २०८२÷८३ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव सभामा पेस हुनेछ । त्यस्तै, सोही आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने तथा आर्थिक वर्ष २०८३÷८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ । सभाले सञ्चालक समितिको पुनर्गठन तथा निर्वाचनसम्बन्धी प्रस्तावसमेत पारित गर्नेछ । त्यस्तै, रणनीतिक साझेदार खोज्ने तथा समान प्रकृतिका संस्थासँग गाभ्ने वा गाभिने कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत सभामा पेस हुनेछ ।