काठमाडौं उपत्यकामा दसैं, तिहारलगायतका ठूला चाडपर्व नजिकिएसँगै घर फर्किने यात्रुको चहलपहल तीव्र रूपमा बढेको छ । यस वर्ष चाडपर्व मनाउनका लागि उपत्यकाबाट कम्तीमा ८ लाखभन्दा बढी नागरिक बाहिरिने अनुमान गरिएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार दसैंका लागि घर फर्किने यात्रुको सङ्ख्या क्रमशः बढ्दै गएकाले प्रमुख बसपार्क तथा उपत्यका बाहिरिने नाकाहरूमा यात्रुको चाप र आवतजावत बढ्न थालेको छ ।
यसैगरी नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौंला (सरोज) ले यात्रुहरूलाई सहज रूपमा गन्तव्यसम्म पुर्याउन नियमित सेवासँगै आवश्यकताअनुसार थप सवारीसाधन सञ्चालनको तयारी गरिएको जानकारी दिए ।
अर्कातिर यातायात व्यवस्था विभागले अबको एक/दुई दिनभित्रै गाडीको अग्रिम टिकट बुकिङ खुला गर्ने तयारी गरेको छ ।
विभागका निर्देशक मणिराम भुसालका अनुसार सोमबार बस्ने बैठकले बुकिङ कहिलेदेखि खोल्ने भन्ने विषयमा अन्तिम निर्णय गर्नेछ ।
हाल अवरुद्ध भएका अधिकांश सडकहरू खुलिसकेका र बाँकी सडक पनि सञ्चालनको तयारीमा रहेकाले यात्रालाई सुरक्षित र सुव्यवस्थित बनाउन प्रयास भइरहेको छ ।