एनआईसी एशियाबाट भीआरएसमा बाहिरिँदै डीसीईओसहित ६ जना, १५ महिनाको तलब पाउने
काठमाडौं । एनआईसी एशिया बैंकबाट ६ जना कर्मचारी स्वेच्छिक अवकाश सुविधा (भीआरएस)मा बाहिरिने भएका छन् । बैंकले ल्याएको भीआरएसमा नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सन्तोषकुमार राठी, सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) अर्जुनराज खनियाँ, वरिष्ठ प्रबन्धक कैलाश गौतम, उपप्रबन्धकद्वय सुनिल मानन्धर र कानुनीतर्फका उपप्रबन्धक मनोज अधिकारी तथा सहायक प्रबन्धक देवेन्द्र भट्टले आवेदन दिएका हुन् । बैंकका अनुसार भीआरएसअन्तर्गत बाहिरिन चाहेका कर्मचारीहरूको निवेदन पनि स्वीकृत भइसकेको छ । भीआरएसअन्तर्गत बाहिरिन लागेका कर्मचारीले १५ महिनाको तलब बराबरको सुविधा पाउने बैंकले जनाएको छ । भीआरएस लिएर बाहिरिने कर्मचारीले प्रयोग गर्दै आएका सवारीसाधनलाई व्यावसायिक कर्जामा रूपान्तरण गर्न सक्ने व्यवस्था गरिएको छ । कर्मचारीका रूपमा पाउँदै आएको सुविधाबाहेक अन्य ग्राहकसरहका सुविधा भने उनीहरुले पाउनेछन् । उनीहरूले चाहेमा आफूले प्रयोग गर्दै आएको सवारीसाधनलाई लिन चाहेमा व्यावसायिक कर्जामा रूपान्तरण गर्न सक्ने बैंकले जनाएको छ । त्यस्तै, कर्मचारीका रूपमा लिएका कर्जालाई अब सामान्य ग्राहकका रूपमा रुपान्तरण गर्नुपर्ने व्यवस्था गरिएको छ । बैंकले यसपटक सहायक प्रबन्धक तहसम्मका कर्मचारीलाई लक्षित गरेर भीआरएस ल्याएको हो । बैंकले जुन तहका कर्मचारीबाट भीआरएसका लागि आवेदन आउने अपेक्षा गरेको थियो, सोहीअनुसार आवेदन आएको जनाएको छ । बैंकले भीआरएस कार्यक्रमलाई खर्च कटौतीका रुपमा मात्रै नलिएको जनाएको छ । संस्थालाई आवश्यकता अनुसार चुस्तदुरुस्त राख्ने उद्देश्यले भीआरएस सुविधा ल्याइएको बैंकको भनाइ छ ।
मितेरी डेभलपमेन्ट बैंकको ११ प्रतिशत लाभांश घोषणा
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले सेयरधनीलाई ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको सञ्चालक समितिको असोज १० गते बसेको बैठकले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफा तथा सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले हाल कायम चुक्ता पुँजी १ अर्ब २१ करोड ७१ लाख रुपैयाँको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहितका लागि ६ प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिनुपर्नेछ । राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि बैंकको आगामी २१औँ वार्षिक साधारण सभाबाट प्रस्ताव पारित गरी सेयरधनीलाई लाभांश वितरण गरिने प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनन्त कुमार चापगाईंले जानकारी दिए ।
विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलर १५३ रुपैयाँ
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ १ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६१ पैसा कायम गरिएको छ । युरो एकको खरिददर १७४ रुपैयाँ ३० पैसा र बिक्रीदर १७४ रुपैयाँ ९८ पैसा तोकिएको छ । यस्तै, बेलायती पाउन्ड एकको खरिददर २०२ रुपैयाँ ७८ पैसा र बिक्रीदर २०३ रुपैयाँ ५८ पैसा कायम भएको छ । अष्ट्रेलियन डलर एकको बिक्रीदर १०७ रुपैयाँ ८९ पैसा, क्यानेडियन डलर १०८ रुपैयाँ ६१ पैसा र सिङ्गापुर डलर १२० रुपैयाँ २३ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । यस्तै, जापानी येन १० को बिक्रीदर ९ रुपैयाँ ७७ पैसा, चिनियाँ युआन एकको २२ रुपैयाँ ८८ पैसा, साउदी रियाल ४० रुपैयाँ ९१ पैसा, कतारी रियाल ४२ रुपैयाँ १८ पैसा र यूएई दिराम ४१ रुपैयाँ ८२ पैसा कायम गरिएको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले आवश्यक परे विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने केही फरक हुन सक्ने राष्ट्र बैंकको भनाइ छ ।