काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत लिग चरणका सबै २८ खेल सम्पन्न भएसँगै प्लेअफको अन्तिम समीकरण तय भएको छ ।
आइतबार लिग चरणको अन्तिम खेलअघि नै प्लेअफ पुग्ने चार टोलीको टुङ्गो लागिसकेको भए पनि अन्तिम खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई पराजित गरेपछि शीर्ष चारको स्थान निर्धारण भएको हो ।
नयाँ समीकरणअनुसार अब पहिलो क्वालिफायरमा साविक विजेता लुम्बिनी लायन्स र दुई पटकको उपविजेता सुदूरपश्चिम रोएल्सबीच प्रतिस्पर्धा हुनेछ । यस्तै, एलिमिनेटर खेलमा काठमाडौं गोर्खाजले चितवन राइनोजको सामना गर्नेछ ।
लिगको शीर्ष दुईमा उक्लँदै सिधै क्वालिफायर खेल्न काठमाडौंलाई अन्तिम खेलमा पोखरामाथि जित निकाल्नैपर्ने दबाब थियो । तर, प्लेअफ होडबाट बाहिरिसकेको पोखराले लिगको आफ्नो अन्तिम खेलमा काठमाडौंलाई ५५ रनले पराजित गरेपछि काठमाडौंको शीर्ष दुईमा पुग्ने योजनामा धक्का लागेको हो ।
यो हारसँगै ७ खेलमा ४ जित र ३ हारबाट ८ अंक जोडेको काठमाडौं तालिकाको तेस्रो स्थानमा सीमित रह्यो । यता, ११ अंक जोडेको साविक विजेता लुम्बिनी लायन्स शीर्ष स्थानमा रहँदा १० अंक जोडेको सुदूरपश्चिम रोएल्स दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरका लागि छनोट भएका छन् ।
तालिकाअनुसार पहिलो क्वालिफायर खेल मङ्गलबार हुनेछ । उक्त खेलको विजेता टोली सिधै फाइनलमा प्रवेश गर्नेछ भने पराजित हुने टोलीले फाइनल पुग्ने दोस्रो अवसरका रूपमा एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ । एलिमिनेटरमा पराजित हुने टोली भने प्रतियोगिताबाट बाहिरिनेछ ।