समाजसेवा कुनै पद, संस्था वा औपचारिक जिम्मेवारीले मात्र गरिने काम होइन । कसैलाई परेको दुःखमा आफूले सकेको सहयोग गर्नु पनि समाजसेवा हो भन्ने मान्यता राख्ने रञ्जिता डल्लाकोटी लामो समयदेखि सामाजिक सेवामा सक्रिय छिन् । धादिङको विकट क्षेत्रमा बालबालिका, दलित, कुमाल तथा चेपाङ समुदायसँग काम गर्दै समाजसेवाको यात्रा सुरु गरेकी डल्लाकोटी अमेरिकामा कार्यरत छिन् । तर, भौगोलिक दूरीले उनको समाजसेवाको यात्रालाई रोकेको छैन । अमेरिकामा रहेर पनि उनले नेपालका विपन्न, असहाय, बिरामी, क्यान्सरपीडित, बालबालिका, वृद्धवृद्धा तथा विभिन्न समस्यामा परेका नागरिकलाई व्यक्तिगत रूपमा सहयोग गर्दै आएकी छन् ।
उनका अनुसार २०२१ यता मात्रै करिब ५०० व्यक्तिलाई व्यक्तिगत रूपमा सहयोग गरिसकेकी छन् । उनी आफूलाई ठूलो रकम दिने व्यक्ति नभई सहयोगको सुरुवात गर्ने व्यक्तिका रूपमा चिनाउन चाहन्छिन् । उनै रञ्जितासँग समाजसेवाको सुरुवात, अमेरिका गएपछि पनि निरन्तरता पाएको सेवा, सहयोगको आवश्यकता पहिचान गर्ने तरिका, समाजसेवामा पारदर्शिता, स्वास्थ्य चेतना, विदेशमा नेपालीले भोग्नुपरेको चुनौतीलगायतका विषयमा विकासन्युजका नरेन्द्र विष्टले कुराकानी गरेका छन् ।
तपाईं समाजसेवामा कसरी प्रवेश गर्नुभयो ?
मेरो जन्मस्थान धादिङको जोगीमारा हो । समाजसेवामा संस्थागत रूपमा लागेको चाहिँ २००९ देखि हो । मलाई कुनै पनि काम गर्न प्रेरणा दिने पहिलो व्यक्ति मेरा बुवा र ममी हुनुहुन्छ । म मेरो बुवालाई धेरै सम्झन्छु । म अमेरिका गएपछि बुवाको निधन भयो । उहाँको अन्तिम समयमा म भेट्न पाइनँ । त्यो पीडा अहिले पनि छ । तर मैले समाजसेवामा गरिरहेको कामलाई नै उहाँहरूको संस्कार र शिक्षाको निरन्तरता ठानेकी छु ।
उहाँहरूले सधैं भन्नुहुन्थ्यो नानी, दुःख परेको मान्छे तिमी कहाँ आएर केही सहारा खोज्छ भने तिमीले जे गर्न सक्छौ, त्यो गर । त्यो नै सबैभन्दा ठूलो सेवा हो । त्यही कुरालाई अनुसरण गर्दै मैले समाजसेवाको काम अगाडि बढाएँ । सुरुमा एउटा संस्थामा आबद्ध भएर धादिङ जिल्लाका विभिन्न विकट गाविसमा काम गर्ने अवसर पाएँ । विशेषगरी दलित, कुमाल र चेपाङ समुदायलाई केन्द्रित गरेर काम गरेका थियौं । त्यसमध्ये म कुमाल समुदायसँग बढी नजिक भएँ ।

संस्थागत हिसाबले काम गरे पनि मैले कहिल्यै यसलाई तलब-सुविधाका लागि गरिने कामका रूपमा लिइनँ । जब म कुमाल समुदायमा पुगेँ, त्यहाँका मानिसलाई मैले आफ्नै परिवारजस्तो महसुस गरेँ । त्यहाँका भाइबहिनी र समुदायसँगको सम्बन्ध मेरो लागि अविस्मरणीय बन्यो । धादिङजस्तो काठमाडौंको नजिकै रहेको जिल्लामा पनि स्वास्थ्य र शिक्षाको हिसाबले निकै पछाडि परेको समुदाय रहेछ भन्ने त्यहाँ पुगेपछि मात्रै मैले गहिरो रूपमा महसुस गरेँ। त्यहीँबाट मेरो समाजसेवाको यात्राले एउटा छुट्टै अर्थ पायो ।
तपाईंले सिन्धुलीमा पनि लामो समय काम गर्नुभयो । त्यहाँको अनुभवले तपाईंलाई के सिकायो ?
२०१४ बाट एउटा संस्थामा आबद्ध भएर सिन्धुलीमा काम गरेँ । त्यहाँका अत्यन्तै दुर्गम ठाउँमा झन्डै आठ वर्ष बिताएँ । त्यहाँ काम गर्दै गर्दा गाउँका बालबालिका, आमाहरू र समुदायसँग निकै नजिक हुने अवसर पाएँ । सहरमा बसेर हामीले धेरै कुरा अनुमान मात्रै गरेका हुन्छौं । तर दुर्गममा गएर प्रत्यक्ष रूपमा मानिसको जीवन देखेपछि सोच नै परिवर्तन हुँदो रहेछ । कोभिडको समयमा र भूकम्पका बेला पनि संस्थागत रूपमा काम गर्ने अवसर पाएँ । त्यसबाट एउटा कुरा सिकेँ, एउटा संस्था भएर मात्रै होइन, आफू रहुन्जेल, आफ्नो हातखुट्टा चलुन्जेल र आफूले कमाउन्जेल त्यसको केही प्रतिशत दुःखमा परेका मानिसका लागि छुट्याउनुपर्छ ।
२०२१ मा संस्थागत काम छोडेर अमेरिका गएँ । तर अमेरिका पुगेपछि पनि गाउँका बालबालिका, समुदाय र ती मानिसहरू आँखामा झलझली आइरहन्थे । त्यसपछि सोचें, संस्थागत रूपमा हुँदा ठूलो काम गरेको हुन सक्छु । तर व्यक्तिगत रूपमा सानो काम गरे पनि यदि त्यसले कसैको जीवनमा उज्यालो ल्याउँछ भने किन नगर्ने ? कुनै बालबालिकाको अनुहारमा मुस्कान फर्काउन सकिन्छ भने त्यो नै ठूलो कुरा हो भन्ने लाग्यो । त्यसैले आफूले कमाएको केही प्रतिशत नेपालमा आवश्यक परेका मानिसका लागि खर्च गर्न थालेँ ।
एक दशक लामो समाजसेवाको यात्रामा तपाईंलाई सबैभन्दा ठूलो उपलब्धि के लाग्छ ?
पछाडि फर्केर हेर्दा मलाई सबैभन्दा ठूलो उपलब्धि भनेको दुर्गममा रहेका मानिससँग भेट्न पाउनु र उनीहरूको आर्थिक, सामाजिक तथा स्वास्थ्य अवस्था बुझ्न पाउनु हो । उनीहरूको जीवन नजिकबाट नदेखेको भए सायद म अहिले जसरी काम गरिरहेकी छु । त्यसरी गर्न सक्दिनथेँ । मैले संस्थागत रूपमा भूकम्प र कोभिडको समयमा काम गरेँ । व्यक्तिगत रूपमा पनि धेरै काम गरेँ ।
कतिपय अवस्थामा संस्थाले कभर गर्न नसकेका समुदायका आवाज र आवश्यकता व्यक्तिगत रूपमा सम्बोधन गर्ने प्रयास गरेँ। त्यसमा मलाई निकै सन्तुष्टि छ । विशेषगरी बालबालिका र वृद्ध आमाबुवातर्फ मेरो बढी ध्यान हुन्छ । तर मेरो सहयोग कुनै एउटा उमेर, जात वा समूहमा मात्र सीमित छैन । जो व्यक्ति अत्यन्तै अप्ठ्यारोमा छ, जसलाई तत्काल सहयोग आवश्यक छ, उसलाई सकेसम्म सहयोग गर्ने प्रयास गर्छु ।
तपाईंले विशेषगरी कुन क्षेत्रमा सहयोग गर्दै आउनुभएको छ ?
बालबालिकाका लागि शैक्षिक सामग्री सहयोग गर्दै आएकी छु । विभिन्न विद्यालयमा कापी, कलम, किताब, ब्यागलगायत सामग्री व्यक्तिगत रूपमा सहयोग गरेकी छु । क्यान्सरपीडित बालबालिकालाई पनि सहयोग गरेकी छु । स्याङ्जाका एक क्यान्सरपीडित बालकका लागि साथीहरूसँग छलफल गरेर रकम जुटाएर सहयोग गरेँ । दृष्टिविहीन दाजुभाइ तथा दिदीबहिनीका लागि पनि काम गरेकी छु ।
उनीहरूमध्ये धेरैमा राम्रो कला हुन्छ । गीत गाउने क्षमता हुन्छ । तर त्यसलाई आम्दानीको माध्यम बनाउन आवश्यक वातावरण र सामग्री नहुन सक्छ । त्यसैले कसैलाई मोबाइल, कसैलाई साउन्ड स्पिकरलगायत सामग्री उपलब्ध गराएर उनीहरूको क्षमता प्रयोग गर्न सहयोग गरेकी छु । त्यस्तै, विभिन्न बिरामीको उपचार तथा अप्रेसनका लागि सहयोग गरेको छु । रुकुम पश्चिममा शान्ति नेपाल भन्ने संस्था र गाउँपालिकासँग समन्वय गरेर पाठेघर खसेका महिलाहरूको स्क्रिनिङ तथा उपचारका लागि रिफर गर्ने काममा पनि सहयोग गरेँ । २०२१ यता व्यक्तिगत रूपमा गरेको सहयोगको संख्या करिब ५०० जनासम्म छ ।

तपाईंले सहयोगको सुरुवात गरेर अरूलाई पनि सहयोगका लागि प्रेरित गर्ने कुरा पनि गर्नुभयो । कुनै उदाहरण छ कि ?
म आफूलाई ठूलो रकम दिने व्यक्ति मान्दिनँ । मेरो सोच के हो भने मैले सुरुवात गरिदिएँ भने अरू हात पनि जोडिन सक्छन् । केही समयअघि एकजना बहिनीलाई करिब २५ लाख रुपैयाँ उपचारका लागि आवश्यक रहेछ । उहाँसँग पैसा नभएर निकै समस्यामा हुनुहुन्थ्यो । मैले व्यक्तिगत रूपमा धेरै दिन सक्ने अवस्था थिएन। तर ५० हजार रुपैयाँबाट सहयोग सुरु गरिदिएँ । मैले ५० हजार दिएको देखेपछि अरू मानिसले पनि सहयोग गर्न थाले । अन्ततः उहाँको उपचार भयो । त्यसैले म आफूलाई सुरुवात गरिदिने मान्छे भन्न रुचाउँछु । सबै कुरा म एक्लैले गर्न सक्दिनँ । तर मैले सुरु गरेपछि अरूले पनि उसले सहयोग गरेछ, हामीले पनि गरौं भनेर हात बढाए भने कसैको जीवनमा परिवर्तन आउन सक्छ ।
भोटेकोसी बाढीपछि प्रभावितका लागि तपाईंले के सहयोग गर्नुभयो ?
प्रत्यक्षारूपमा भोटेकोसीका प्रभावित व्यक्तिलाई मैले सहयोग गर्न सकेकी छैन । मेरो इच्छा थियो, तर परिस्थितिले साथ दिएन । सरकारको सम्बन्धित मन्त्रालयको कोषमा भने मैले केही रकम सहयोग गरेँ । मेरो घर धादिङको गजुरीमा पनि भएकाले बाढी प्रभावित क्षेत्र नजिकै पर्छ । त्यहाँ बाढीपछि अलपत्र परेका, गाडी रोकिएर बसेका मानिसलाई खाना खुवाउन स्थानीय भाइबहिनीहरूले अभियान चलाउनुभएको थियो ।
त्यसमा मैले पनि रकम सहयोग गरेँ । उहाँहरूले करिब तीन दिनसम्म मानिसलाई खाना खुवाउनुभयो। खाना खुवाएर बाँकी रहेको रकम फेरि सरकारी कोषमा जम्मा गरिदिनुभयो । डाइरेक्ट रूपमा प्रभावित परिवारमा पुगेर सहयोग गर्न चाहन्थेँ। तर म पनि बाहिरबाट भर्खरै आएकी थिएँ । धेरै कुरा मिलाउन सकिनँ । पहिला काम गरेको संस्थासँग पनि कुरा गरेकी थिएँ । उहाँहरूले सम्भव भए १८ महिनासम्म रेस्पोन्समा बसेर काम गर्न सक्ने कुरा गर्नुभएको थियो। तर त्यो सम्भव भएन । त्यसैले भोटेकोसीका प्रभावितलाई मेरो सहयोग अप्रत्यक्ष रूपमा भयो ।
तपाईंले सहयोग गरेपछि व्यक्तिको जीवनमा आएको परिवर्तनलाई कसरी हेर्नुहुन्छ ?
करिब ९० प्रतिशत अवस्थामा सहयोगको परिणाम राम्रो देखेकी छु । १० प्रतिशतमा भने कहिलेकाहीँ मानिसले भावनात्मक रूपमा झुक्याउने अवस्था पनि हुँदो रहेछ । म विदेशमा बस्ने भएकाले कहिलेकाहीँ मानिसको कुरा सुनेर भावुक भएर सहयोग गर्ने अवस्था आएको छ । अहिलेसम्म दुईजना व्यक्तिलाई त्यही किसिमले बढी भावुक भएर सहयोग गरेँ कि जस्तो लाग्छ । त्यसबाट पनि सिकेकी छु ।
तर उपचार गरेका धेरै बालबालिका अहिले राम्रो भएका खबर आउँछन् । एकजना दिदीको उपचारमा सहयोग गरेकी थिएँ । अहिले उहाँ दुईवटा बच्चाको आमा हुनुहुन्छ र आफ्नै व्यवसाय सुरु गरेर काम गरेर खानुभएको छ । उहाँले कहिलेकाहीँ म्यासेज गरेर तपाईंले गर्दा म अहिले यस्तो हुन सकेँ भन्नुहुन्छ । त्यस्तो खबर सुन्दा निकै खुसी लाग्छ । तर म सहयोग गरेका व्यक्तिसँग प्रत्यक्ष सम्बन्ध कायम राख्न खोज्दिनँ । मैले सहयोग गरेको कुनै स्वार्थका लागि होइन । मैले मनले गरेको हो । त्यसैले उनीहरूबाट कुनै फाइदा लिनुपर्ने छैन । तर उनीहरूले खोज्दै म्यासेज गर्नुभयो भने अप्रत्यक्ष रूपमा उहाँहरूको अवस्था बुझिरहेकी हुन्छु ।
पीडित र वास्तविक सहयोग आवश्यक परेको व्यक्तिलाई कसरी पहिचान गर्नुहुन्छ ?
धेरै नागरिकले मलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा म्यासेज र फोन गर्नुहुन्छ । तर कसैले आफ्नो समस्या बताउँदैमा मैले तुरुन्तै म सहयोग गर्छु भन्दिनँ । मेरो नेपालमा ठूलो सञ्जाल छ । विभिन्न व्यक्तिमार्फत वास्तविक आर्थिक अवस्था, पीडित हो कि होइन भन्ने कुरा बुझ्ने र विश्लेषण गर्ने गर्छु । त्यसपछि मात्रै सहयोग गर्ने निर्णय गर्छु । अर्को महत्त्वपूर्ण कुरा सहयोग सकेसम्म अरूको हातमा पठाउँदिनँ । वास्तविक पीडितलाई नै सहयोग गर्छु । सहयोग पुगेको छ कि छैन भनेर पनि सम्बन्धित व्यक्तिलाई नै बोल्न लगाएर बुझ्छु ।
कस्ता बिरामी वा पीडितलाई सहयोग गर्ने भनेर कुनै निश्चित मापदण्ड छ ?
मैले आफै खोज्दै गएर सहयोग गर्ने होइन । विभिन्न व्यक्तिमार्फत यो मान्छे पीडित छ, असहाय छ, सहयोग गरिदिनुस् भनेर मानिसहरू मकहाँ आउँछन् । त्यसपछि उहाँहरूको अवस्था हेर्छु । यही रोग, यही उमेर वा यही समुदाय भनेर सीमा तोकेको छैन । कतिपय लडेर टाउको फुटेका व्यक्ति छन् । कतिपय क्यान्सरपीडित छन् । घाउ भएर उपचार गर्न नसकेका व्यक्तिहरू पनि छन् । राज्यले पनि सबै नागरिकको आवश्यकता एकैपटक पूरा गर्न सकिरहेको हुँदैन । एउटा व्यक्तिले कति नै गर्न सक्छ र ? तर मेरो सम्पर्कमा आएको व्यक्ति सकेसम्म असहाय नरहोस् भन्ने मेरो प्रयास हुन्छ । थोरै होस् वा धेरै, आफूले सकेको सहयोग गर्ने प्रयास गर्छु ।

विदेशमा बसेर आफ्नै देशका नागरिकलाई सहयोग गर्नु चुनौती हो कि अवसर ?
म यसलाई चुनौतीभन्दा अवसरका रूपमा हेर्छु । किनभने विदेशमा बसेर पनि आफ्ना नागरिकलाई सहयोग गर्न पाउनु मेरो भाग्य हो । मातृभूमिमा जन्मिएको मान्छेले टाढा बसेर पनि आफ्ना मान्छेका लागि केही गर्न पाउनु ठूलो कुरा हो। त्यसैले मलाई यो चुनौती होइन, अवसर हो जस्तो लाग्छ ।
तपाईं एक्लैले सहयोग गर्नुहुन्छ कि अरूको पनि साथ हुन्छ ?
मुख्य रूपमा म एक्लैले गर्छु । कुनै संस्था वा निश्चित व्यक्ति यसमा आबद्ध हुनुहुन्न । कहिलेकाहीँ साथीहरूलाई कुनै समस्याबारे सुनाउँछु । यस्तो समस्या रहेछ, यसरी सहयोग गर्दा कस्तो होला ? भनेर सोध्छु । साथीहरूले तपाईंमार्फत यति डलर दिइदिनुस् , भन्नुहुन्छ । त्यस्तो अवस्थामा उहाँहरूको रकम पनि सम्बन्धित व्यक्तिलाई पु¥याइदिन्छु । तर नियमित रूपमा सहयोग गर्ने कुनै संस्था वा व्यक्ति छैन ।
समाजसेवाका नाममा पारदर्शिता नहुने र अरूको भावनाबाट फाइदा उठाउने प्रवृत्तिलाई कसरी हेर्नुहुन्छ ?
सबैले पारदर्शिता गर्न खोजेको हुन्छ । तर कहिलेकाहीँ प्राविधिक समस्या पनि आउँछ । उदाहरणका लागि १०/२० हजारको बिल हराउन सक्छ । काम गरेको हो, पैसा दिएको हो, सामान ल्याएको हो, तर प्रमाण राख्न नसक्दा खायो, गर्यो भन्ने आरोप आउन सक्छ । तर कतिपय मानिस भने अरूको भावनालाई नै प्रयोग गरेर पैसा कमाउने नियतमा हुन्छन् । त्यस्तो प्रवृत्ति हुनु हुँदैन । कसैको दुःख र भावनालाई बेचेर धनी बन्नु हुँदैन भन्ने मेरो मान्यता हो । त्यसैले सकेसम्म स्वच्छ भएर बाँच्न र मर्न सकियो भने आत्मसन्तुष्टि हुन्छ । अरूको भावनामा खेलेर पैसा कमाउनुको अर्थ छैन ।
नेपालको प्रमुख सामाजिक समस्या के हो जस्तो लाग्छ ?
नेपालको सामाजिक समस्या यही हो भनेर एउटै शब्दमा भन्न गाह्रो छ । भूगोलअनुसार समस्या फरक छ । दुर्गम गाउँको समस्या अर्कै हुन्छ । सहरमा बस्नेको समस्या अर्कै हुन्छ । कतै बिजुलीको समस्या होला, कतै शिक्षा र स्वास्थ्यको । सहरका मानिसले गाउँलाई पनि सहरजस्तै सोचिदिनुपर्छ भन्ने मेरो मान्यता छ । तर शिक्षा, स्वास्थ्य, सडक र पूर्वाधारका क्षेत्रमा सुधार भएको छ ।
साक्षरता दर पनि पहिलेको तुलनामा निकै बढेको छ । पहिला एक/दुई ठाउँमा मात्र विद्यालय पुगेर एसईई दिनुपर्ने अवस्था थियो भने अहिले आफ्नै ठाउँमा परीक्षा दिन सकिने अवस्था बनेको छ । डिग्री अध्ययन गर्ने अवसर पनि बढेको छ । हामीले नेपाललाई अन्य देशसँग मात्र तुलना गरेर हुँदैन । हाम्रो भौगोलिक अवस्था फरक छ । सामाजिक र भौतिक संरचना पनि फरक छन् । त्यसैले हाम्रो अवस्थालाई हेरेर क्रमशः सुधार गर्दै जानुपर्छ ।
स्वास्थ्य क्षेत्रमा अझै के सुधार आवश्यक देख्नुहुन्छ ?
मैले सबैभन्दा बढी समस्या स्वास्थ्य क्षेत्रमा देखेकी छु । पहिला कतिपय ठाउँमा सिटामोलसमेत पाइँदैनथ्यो । अहिले त्यो अवस्था धेरै सुधार भएको छ । बाटोघाटो, बिजुली, सूचना र पूर्वाधार पनि विकास भएको छ । तर कतिपय ठाउँमा स्वास्थ्यचौकी भएर पनि समयमा चेकअप नहुने अवस्था छ ।
समयमै चेकअप गरियो भने शरीरमा के भइरहेको छ भन्ने थाहा पाउन सकिन्छ । ठूलो समस्या सानोमै पहिचान गरेर नियन्त्रण गर्न सकिन्छ । अझै पनि स्वास्थ्य चेतनाको कमी छ । धेरै मानिसलाई एकैपटक ठूलो रोग लागेपछि मात्रै अस्पताल जाने बानी छ । स्रोत र साधन हुँदाहुँदै पनि त्यसको सदुपयोग गर्ने चेतना पर्याप्त छैन । यसमा सुधार गर्न आवश्यक छ । कमाएको पैसा सबै खर्च गर्नुभन्दा स्वास्थ्यका लागि केही बचत गर्ने बानी बसाल्नुपर्छ । उदाहरणका लागि १०० रुपैयाँ कमाउँदा १० रुपैयाँ उपचारका लागि छुट्याएर बचत गर्न सकियो भने पनि भविष्यमा राहत मिल्न सक्छ ।
अमेरिकामा बसेर तपाईंले कस्ता चुनौती भोग्नुभयो ?
विदेश जानेबित्तिकै सबै कुरा सजिलो हुँदैन । कुनै पनि देशमा गएपछि धेरै कुरा शून्यबाट सुरु गर्नुपर्छ । सबैभन्दा ठूलो चुनौती काम हो । नेपालमा आफूले पढेको वा सिकेको क्षेत्रमा काम गर्छु भन्ने सोच हुन्छ । तर विदेशमा त्यही काम पाउन गाह्रो हुन सक्छ । कामको आवश्यकता अनुसार जुनसुकै काम गर्नुपर्ने हुन्छ । तर विदेशमा एउटा कुरा सिक्न सकिन्छ- कामको महत्त्व र सम्मान । कुनै काम सानो-ठूलो हुँदैन ।
मैले पनि सुरुमा अमेजनमा काम गरेँ । त्यहाँ एटीएस अर्थात् डेलिभरीतर्फ ड्राइभरहरू सामान लिन आउँदा सामान दिने, लाइसेन्स स्क्यान गर्ने, उनीहरूले ल्याएका सामान रिसिभ गर्ने र स्टोर गर्ने काम गरे । नेपालमा हुँदा कुर्सीमा बसेर ल्यापटप चलाएर काम गर्ने बानी थियो भने विदेशमा दौडेर, कुदेर काम गर्नुपर्यो । अहिले अमेरिकामा फेन्सी स्टोरको सानो व्यवसाय पनि गरिरहेकी छु । हाम्रो परिवार पनि अमेरिकामै बस्छ ।
विदेशमा काम गर्दा समयको महत्त्व कस्तो हुन्छ ?
अमेरिकामा स्टेटअनुसार प्रतिघण्टाका हिसाबले पारिश्रमिक निर्धारण हुन्छ । समयको एकदमै ठूलो महत्त्व हुन्छ । पाँच मिनेट ढिला पुग्दा पनि तलब काटिन सक्छ । छिटो पुगेर काम गरियो भने त्यसअनुसार पारिश्रमिक पनि हुन्छ । नेपालमा जस्तो आज अलि ढिला भयो भनेर सजिलै चल्ने अवस्था हुँदैन । समय र कामप्रतिको जिम्मेवारी निकै महत्त्वपूर्ण हुन्छ ।
अहिले धेरै युवा विदेश जान चाहन्छन् । उनीहरूलाई तपाईंको सुझाव के छ ?
नेपालमा पनि अवसर नभएका होइनन् । अवसर छन् । तर हामीले दीर्घकालीन रूपमा ती अवसरलाई विकास गर्न सकेका छैनौं । विदेश भनेपछि अमेरिका, क्यानडा, अस्ट्रेलिया कल्पना गरिन्छ । गएपछि धेरै पैसा हुन्छ भन्ने सोच हुन्छ । तर वास्तविकता त्यस्तो मात्र होइन । विदेश गएपछि पनि काम गर्नुपर्छ। दुःख गर्नुपर्छ । मेहनत गर्नुपर्छ । धेरै बचत नहुन पनि सक्छ । कमाएको पैसाबाट सरकारलाई कर तिर्नुपर्छ । काम चाहिँ जस्तोसुकै गर्नुपर्ने हुन सक्छ । तर सकेसम्म नेपालमै लगानी गर्नुपर्छ । उद्योग-कलकारखाना खोल्नुपर्छ । आफूले पनि काम गर्ने र अरूलाई पनि रोजगारी दिने वातावरण बनाउनुपर्छ । विदेश जाने निर्णय व्यक्तिगत आवश्यकता र परिस्थितिअनुसार हुन सक्छ । तर विदेश नै सबै समस्याको समाधान हो भन्ने सोच राख्नु हुँदैन । नेपालमै अवसर सिर्जना गर्न सकियो भने आफ्नो देशमा बसेर पनि राम्रो गर्न सकिन्छ ।
अन्त्यमा तपाईंको समाजसेवाको यात्राको मूल उद्देश्य के हो ?
मेरो मूल उद्देश्य ठूलो काम गरेको देखाउनु होइन । कसैलाई परेको दुःखमा आफूले सकेको सहयोग गर्नु हो । मसँग धेरै धनसम्पत्ति छैन । मन ठूलो छ, तर म सम्पन्न व्यक्ति होइन। त्यसैले म ठूलो रकम दिएर सबै समस्या समाधान गर्न सक्दिनँ । तर जहाँ एकदमै गाह्रो परेको छ, त्यहाँबाट सहयोगको सुरुवात गर्न सक्छु । मलाई विश्वास छ, एउटा व्यक्तिले सुरु गरेको सानो सहयोगले अरू धेरै हात जोड्न सक्छ ।
कसैको उपचार हुन सक्छ, कुनै बालबालिकाको पढाइ अघि बढ्न सक्छ, कुनै आमाको जीवन बच्न सक्छ । त्यसैले मैले आफूलाई समाजसेवीभन्दा पनि आवश्यक परेको ठाउँमा सहयोगको सुरुवात गर्ने मान्छेका रूपमा हेर्छु । मानिसले अन्ततः आफूसँग भएको केही पनि लिएर जाँदैन । त्यसैले आफूले बाँचुन्जेल सकेको राम्रो काम गर्न सकियो भने त्यही नै सबैभन्दा ठूलो उपलब्धि हो ।