कुन होटलमा बस्छन् एनपीएलका ८ टिम ?

क्रिकेटको क्रेजले चम्कियो होटल व्यवसाय

काठमाडौं । क्रिकेट मैदानमा चौका र छक्काको वर्षा भइरहँदा नेपाल प्रिमियर लिग (एनपीएल) को रौनक मैदानबाहिर पनि उत्तिकै फैलिएको छ । नेपाली तथा विदेशी स्टार खेलाडीको प्रदर्शन हेर्न दर्शकहरू कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान पुगिरहेका छन् । तर, मैदानमा खेलाडीको प्रदर्शन जति चर्चामा छ, उनीहरू खेलका क्रममा कहाँ बस्छन् भन्ने विषय पनि समर्थकका लागि चासोको विषय बनेको छ ।

नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा सहभागी हुन विभिन्न देशबाट आएका खेलाडीहरूसँगै स्वदेशी खेलाडीहरु काठमाडौं र ललितपुरका सुविधासम्पन्न होटलमा बसोबास गरिरहेका छन् । कतिपय विदेशी खेलाडी प्रतियोगितामा आफ्नो खेल पूरा गरेर स्वदेश फर्किसकेका छन् भने केही खेलाडी अझै नेपालमै छन् ।

आठवटा फ्रेन्चाइज टोलीले आफ्ना खेलाडी, प्रशिक्षक तथा सपोर्ट स्टाफको आवास व्यवस्थापनका लागि छुट्टाछुट्टै होटललाई हस्पिटालिटी पार्टनर बनाएका छन् । टोलीसँगको सम्झौताअनुसार होटलहरूले खेलाडीलाई आवास, खानपान तथा आवश्यक आतिथ्य सेवा उपलब्ध गराइरहेका छन् ।

विकासन्युजले एनपीएलमा सहभागी आठवटै टोलीका खेलाडीको बसोबास व्यवस्थाबारे गरेको खोजीमा लुम्बिनी लायन्सदेखि जनकपुर बोल्ट्ससम्मका टोलीले काठमाडौं उपत्यकाका विभिन्न स्तरीय होटललाई आफ्नो आतिथ्य साझेदार बनाएको पाइएको छ ।

आठ टोली, आठ होटल

लुम्बिनी लायन्स भिभान्तामा 

दोस्रो संस्करणको विजेता टिम लुम्बिनी लायन्सले आफ्नो हस्पिटालिटी पार्टनरका रूपमा भिभान्ता होटललाई छनोट गरेको छ । टोलीका खेलाडी तथा सपोर्ट स्टाफका लागि होटलले आवास, ब्रेकफास्ट र वेलनेस सुविधासहितको आतिथ्य सेवा उपलब्ध गराइरहेको छ ।

तेस्रो संस्करणका लागि टोलीसँग सहकार्य गर्दै भिभान्ताले खेलाडीको बसोबास तथा आवश्यक सुविधाको व्यवस्थापन गरेको हो । अहिले पनि लुम्बिनी राम्रो लयमा छ । लुम्बिनी प्लेअफमा पुग्ने पहिलो टोली बनिसकेको छ ।

nullभिभान्ता होटल । 

काठमाडौं गोर्खाज होटल क्राउन इम्पेरियलमा 

काठमाडौं गोर्खाजका खेलाडी तथा टोलीका सदस्यहरू सोल्टीमोडस्थित रविभवनमा रहेको होटल क्राउन इम्पेरियलमा बसोबास गरिरहेका छन् । टोलीले होटलसँग गरेको सम्झौताअनुसार खेलाडी तथा स्क्वाडका सदस्यलाई आवश्यक सेवा र सुविधा उपलब्ध गराइएको होटलका एक कर्मचारीले जानकारी दिए ।

अस्ट्रेलियाका पूर्वकप्तान तथा चर्चित ब्याटर डेभिड वार्नर पनि काठमाडौं गोर्खाजबाट खेल्दा यही होटलमा बसेका थिए । उनी प्रतियोगितामा आफ्नो खेल पूरा गरेर स्वदेश फर्किसकेका छन् ।

nullहोटल क्राउन इम्पेरियल । 

रोयल टुलिपमा रोयल्स 

सुदूरपश्चिम रोयल्सका खेलाडी तथा प्रशिक्षकहरू ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटलमा बसोबास गरिरहेका छन् । प्रतियोगिताको सुरुवाती चरणमा भने टोलीका सदस्यहरू काठमाडौं मेरियट होटलमा बसेका थिए । 

टोलीले आफ्नो आवास व्यवस्थापनका लागि होटल परिवर्तन गर्दै रोयल टुलिपलाई आतिथ्य साझेदार बनाएको हो ।

nullरोयल टुलिप । 

पोखरा एभेन्जर्स बेस्ट वेस्टर्न प्लस गोदावरीमा 

पोखरा एभेन्जर्सले तेस्रो संस्करणका लागि बेस्ट वेस्टर्न प्लस गोदावरीलाई आफ्नो हस्पिटालिटी पार्टनर बनाएको छ।

टोलीका खेलाडी तथा सदस्यहरू ललितपुरको गोदावरीस्थित उक्त होटलमा बसोबास गरिरहेका छन् ।

null बेस्ट वेस्टर्न प्लस, गोदावरी । 

कर्णाली याक्स बेस्ट वेस्टर्न प्लस होटलमा 

कर्णाली याक्सका खेलाडी तथा सपोर्ट स्टाफ काठमाडौंस्थित बेस्ट वेस्टर्न प्लस होटलमा बसिरहेका छन् । होटलका सेल्स म्यानेजर विवेक लामाका अनुसार प्रतियोगिता सुरु हुनुभन्दा केही दिनअघिदेखि नै टोलीका सदस्यहरू होटलमा बसोबास गरिरहेका छन् ।

उनका अनुसार खेलाडी तथा सपोर्ट स्टाफका लागि १५ देखि १६ वटा कोठा बुकिङ गरिएको छ । 

एनपीएलका खेलाडीको आगमनले होटलको व्यवसायमा समेत सकारात्मक प्रभाव परेको लामाको भनाइ छ । प्रतियोगिता सुरु हुनुअघिको तुलनामा अहिलेको कारोबारमा उल्लेख्य फरक देखिएको उनले बताए ।

खेलाडीको मागअनुसार आवश्यक सेवा तथा सुविधा उपलब्ध गराउँदै आएको पनि उनले जानकारी दिए ।

nullबेस्ट वेस्टर्न प्लस होटल, काठमाडाैं । 

विराटनगर किङ्स ह्यात सेन्ट्रिक होटलमा 

विराटनगर किङ्सले काठमाडौंमा हुने खेलका क्रममा ह्यात सेन्ट्रिक होटललाई आफ्नो आधिकारिक हस्पिटालिटी पार्टनर बनाएको छ । टोलीका खेलाडीहरू प्रतियोगिताका क्रममा यही होटलमा बसोबास गर्दै आएका छन् ।

होटलसँगको सम्झौताअनुसार खेलाडीलाई आवश्यक आवास तथा आतिथ्य सेवा उपलब्ध गराइएको छ । वेस्ट इन्डिजका आन्द्रे रसेल तथा श्रीलंकाका एन्जेलो म्याथ्युज र चरिथ असलंकाजस्ता अन्तर्राष्ट्रिय खेलाडी पनि विराटनगर किङ्सबाट खेल्न नेपाल आएका थिए ।

nullह्यात सेन्ट्रिक होटल । 

जनकपुर बोल्ट्स र्याडिसन होटलमा 

जनकपुर बोल्ट्सले आफ्नो हस्पिटालिटी पार्टनरका रूपमा र्याडिसन होटललाई छनोट गरेको छ । टोलीका खेलाडीहरू प्रतियोगिताका क्रममा उक्त होटलमा बसोबास गरिरहेका छन् ।

होटलले सम्झौताअनुसार खेलाडीको आवास तथा आवश्यक आतिथ्य व्यवस्थापन गर्दै आएको छ ।

nullर्याडिसन होटल । 

चितवन राइनोज मण्डला नोर्लिङ लर्ड्समा 

चितवन राइनोजका खेलाडीहरू मण्डला नोर्लिङ लर्ड्समा बसोबास गरिरहेका छन् । प्रतियोगिता अवधिभर खेलाडीलाई आवास तथा आवश्यक सेवा सुविधा उपलब्ध गराउने गरी होटलसँग सम्झौता गरिएको टोलीको व्यवस्थापनले जनाएको छ ।

यसरी एनपीएलका आठवटै फ्रेन्चाइज टोलीले खेलाडीको बसोबासका लागि काठमाडौं उपत्यकाका विभिन्न होटलसँग सहकार्य गरेका छन् । यसले क्रिकेट प्रतियोगितासँगै होटल तथा आतिथ्य व्यवसायमा पनि आर्थिक गतिविधि बढाउन सहयोग पुर्याएको छ ।

nullमण्डला नोर्लिङ लर्ड्स । 

अन्तर्राष्ट्रिय स्टार खेलाडीको आतिथ्य नेपाली होटलमा

एनपीएलको तेस्रो संस्करणमा विदेशी खेलाडीको आकर्षण पनि उल्लेख्य छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मान्यता प्राप्त प्रतियोगिता भएकाले यसपटक विभिन्न देशका चर्चित खेलाडीहरू सहभागी भएका छन् । उनीहरूको आगमनले नेपाली क्रिकेटको चर्चा अन्तर्राष्ट्रियस्तरमा पुर्याउनुका साथै होटल तथा पर्यटन क्षेत्रको गतिविधि पनि बढाएको छ ।

अस्ट्रेलियाका पूर्वकप्तान डेभिड वार्नर काठमाडौं गोर्खाजबाट खेलेर फर्किसकेका छन् । उनी काठमाडौं गोर्खाजको हस्पिटालिटी पार्टनर होटल क्राउन इम्पेरियलमा बसेका थिए ।

त्यस्तै, वेस्ट इन्डिजका विस्फोटक ब्याटर आन्द्रे रसेल तथा श्रीलंकाका एन्जेलो म्याथ्युज र चरिथ असलंकाले विराटनगर किङ्सबाट प्रतियोगितामा सहभागिता जनाएका छन् । उनीहरू विराटनगर किङ्सका लागि व्यवस्थापन गरिएको ह्यात सेन्ट्रिक होटलमा बसेका थिए ।

सुदूरपश्चिम रोयल्सबाट वेस्ट इन्डिजका शेरफेन रदरफोर्ड र फाबियन एलेन सहभागी भएका छन् । उनीहरू पनि टोलीको हस्पिटालिटी पार्टनर रोयल टुलिप होटलमा बसेका छन् ।

पोखरा एभेन्जर्सले बंगलादेशका चर्चित अलराउन्डर सकिब अल हसन, मोहम्मद सैफुद्दिन र महेदी हसनजस्ता खेलाडीलाई टोलीमा आबद्ध गरेको छ । उनीहरूका लागि बेस्ट वेस्टर्न प्लस गोदावरीमा आवास व्यवस्थापन गरिएको छ ।

त्यसैगरी, कर्णाली याक्समा दक्षिण अफ्रिकाका विस्फोटक ब्याटर डेभिड मिलर, पाकिस्तानका हुसेन तलात र शाहबाजाद फरहान तथा बंगलादेशका अरिफुल इस्लाम र अकबर अली आबद्ध छन् । लुम्बिनी लायन्सले पनि बंगलादेशका अलराउन्डर सामी हुसेनलाई टोलीमा समेटेको छ ।

null

क्रिकेटको रौनकले होटल व्यवसायलाई पनि लाभ

एनपीएलले क्रिकेटप्रेमीलाई मनोरञ्जन र खेलाडीलाई आफ्नो प्रतिभा देखाउने अवसर मात्रै दिएको छैन, यसले होटल तथा आतिथ्य व्यवसायका लागि पनि नयाँ व्यावसायिक अवसर सिर्जना गरेको छ ।

प्रतियोगितामा सहभागी आठवटै टोलीका खेलाडी, प्रशिक्षक, व्यवस्थापक तथा सपोर्ट स्टाफको आवास व्यवस्थापनले होटलहरूमा थप माग सिर्जना गरेको छ । विदेशी खेलाडीको आगमन, टोलीका सदस्यको बसोबास र उनीहरूलाई आवश्यक खानपान तथा अन्य सेवाले होटल व्यवसायमा कारोबार बढाउन सहयोग गरेको व्यवसायीहरूको भनाइ छ ।

विशेषगरी खेलाडीको बसोबास, खानपान, स्वास्थ्य तथा वेलनेस सेवाका लागि होटलहरूले आफ्नो क्षमताअनुसार सुविधा उपलब्ध गराइरहेका छन् । प्रतियोगितासँग जोडिएका यस्ता व्यावसायिक साझेदारीले खेलकुद र पर्यटन तथा आतिथ्य उद्योगबीचको सम्बन्धलाई समेत बलियो बनाउने सम्भावना देखिएको छ ।

यसरी एनपीएलको चर्चा क्रिकेट मैदानमा मात्रै सीमित छैन । मैदानमा खेलाडीको प्रदर्शनसँगै उनीहरूको आवास व्यवस्थापनदेखि होटल व्यवसायमा परेको प्रभावसम्मले प्रतियोगिताको आर्थिक आयामलाई पनि उजागर गरेको छ ।

Share News