पोखराको रेकर्डब्रेक स्कोरमा काठमाडौं ५५ रनले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजमाथि ५५ रनको शानदार जित हात पारेको छ । कुशल भुर्तेल र युवराज सिंह सम्राको आक्रामक ब्याटिङ तथा दिनेश खरेलको उत्कृष्ट बलिङको मद्दतमा पोखराले लिग चरणको आफ्नो अन्तिम खेलमा यो जित निकालेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२४ रन बनाउन सफल भयो ।यो एनपीएल इतिहासकै अहिलेसम्मकै उच्च स्कोर हो । यसअघि दोस्रो संस्करणमा विराटनगर किंग्सले पोखराविरुद्ध २२० रन बनाएको थियो । पोखरा यस सिजन एकै प्रतियोगितामा दुई पटक २०० भन्दा बढी रन बनाउने पहिलो टोली समेत बनेको छ ।

पोखराका लागि कुशल भुर्तेल शतक बनाउनबाट १ रनले चुकेका थिए । उनले ५१ बलमा ८ चौका र ८ छक्का प्रहार गर्दै ९९ रन बनाए । यस्तै, अर्का ओपनर युवराज सम्राले ५५ बल खेल्दै ८ चौका र ५ छक्काको मद्दतमा ८९ रनको योगदान दिए । 

तेस्रो विकेटका लागि कुशल र युवराजले एनपीएल इतिहासमै कीर्तिमानी १८६ रनको साझेदारी गरेका थिए । यसअघि पहिलो संस्करणमा पोखराकै आन्द्रे गौस र दिनेश खरेलले १७६ रनको साझेदारी गरेका थिए । 

अन्त्यमा कप्तान चमिका करुणारत्नेले अविजित १९ रन बनाए । काठमान्डुका लागि कप्तान करण केसीले २ र जहानदाद खानले १ विकेट लिए । पोखराले दिएको २२५ रनको उच्च लक्ष्य पछ्याउने क्रममा काठमान्डुले १९ ओभरमा सबै विकेट गुमाएर १६९ रन मात्र बनाउन सक्यो । 

काठमाडौंका लागि ओपनर साहित पटेलले सर्वाधिक ३४ र रासिद खानले ३१ रन बनाए । त्यसैगरी विलियम बोसिस्टोले २६ र जहानदाद खानले २४ रन जोडे । अन्त्यमा सोनु देवकोटाले युवराज सम्राको एकै ओभरमा लगातार चार छक्का प्रहारी गर्दै २९ रन बनाएर आउट भए ।

बलिङतर्फ पोखराका दिनेश खरेलले ४ ओभरमा १८ रन मात्र खर्चेर ४ महत्वपूर्ण विकेट लिए । त्यस्तै, विपिन खत्रीले ३ विकेट तथा रमेश मेन्डिस, सन्नी विक र युवराज सम्राले १-१ विकेट हात पारे ।

यसअघि नै प्लेअफको दौडबाट बाहिरिसकेको पोखराले लिग चरणमा दोस्रो जित निकाल्दै ७ खेलबाट ४ अंकका साथ सातौं स्थानमा रहेर प्रतियोगिता टुङ्ग्याएको छ । 

पराजय व्यहोरेको काठमाडौंलाई भने क्वालिफायर पुग्ने अभियानमा धक्का लागेको छ । ७ खेलमा ४ जित र ३ हारबाट ८ अंक जोडेको काठमाडौं लिगको तेस्रो स्थानमा रहँदै अब एलिमिनेटर खेल खेल्ने भएको छ । 

काठमाडौंले फाइनल प्रवेशका लागि अब बुधबार चितवन राइनोजसँग प्रतिस्पर्धा गर्नेछ । यसैबीच, ११ अंक जोडेर साविक विजेता लुम्बिनी लायन्स पहिलो र १० अंक जोडेको सुदूरपश्चिम रोएल्स दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायर खेल मंगलबार खेल्ने पक्का भएको छ ।

Share News