महागुरु फाल्गुनन्दका विचार र आदर्श आत्मसात् गर्न प्रचण्डको आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महागुरु फाल्गुनन्द लिङ्देनका विचार र आदर्शलाई आत्मसात् गर्दै सामाजिक एकता, सद्भाव र समुन्नत समाज निर्माणमा अघि बढ्न सबैलाई आग्रह गरेका छन् ।

महागुरु फाल्गुनन्दको १४२औँ जन्मजयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले समाज सुधार, कुरीति र कुसंस्कारको अन्त्य तथा भाषा, संस्कृति र पहिचानको संरक्षणमा फाल्गुनन्दले पुर्याएको योगदानको स्मरण गरेका हुन् ।

उनले सत्य, अहिंसा, शान्ति र सामाजिक सद्भावका प्रवर्द्धक महागुरु फाल्गुनन्दका विचार र योगदान सधैँ प्रेरणादायी रहने बताएका छन् ।

प्रचण्डले जन्मजयन्तीका अवसरमा सम्पूर्ण नेपाली तथा किरात धर्मावलम्बी दिदीबहिनी र दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

उनको सन्देशमा महागुरु फाल्गुनन्दले देखाएको सामाजिक सुधार र सद्भावको बाटोलाई पछ्याउँदै एकताबद्ध तथा समुन्नत समाज निर्माणमा लाग्नुपर्नेमा जोड दिइएको छ 

Share News