काठमाडौं । हुसेन तलतको अलराउन्ड प्रदर्शनप्रेरित कर्णाली याक्सले जितसँगै नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको यात्रा टुङ्गाएको छ।
कीर्तिपुरमा आइतबार भएको खेलमा कर्णालीले चितवन राइनोजमाथि २४ रनको जित निकाल्दै यस सिजनको यात्रा पूरा गरेको हो। पाकिस्तानी अलराउन्डर हुसेन तलतको अलराउन्ड प्रदर्शनमा कर्णालीले जित हासिल गर्यो। उनले अर्धशतकसँगै तीन विकेट पनि लिए।
समान सात खेलबाट कर्णालीले ६ अङ्क जोड्दै छैटौँ स्थानमा रहेर सिजन पूरा गर्यो। चितवन भने समान खेलबाट सात अङ्कसहित इलिमिनेटरमा काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्सबीचको विजेतासँग खेल्नेछ।
आज दोस्रो खेलमा काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ। कर्णाली एक खेल अगावै प्लेअफ होडबाट बाहिरिएको थियो भने चितवन प्लेअफमा पुगिसकेको थियो। त्यसैले यो खेलले दुवै टोलीका लागि यस सिजनको आगामी यात्रामा खासै अर्थ राख्दैनथ्यो। तर, चितवन जित निकाल्दै इलिमिनेटर खेल्ने लक्ष्यमा थियो भने कर्णाली जितका साथ सिजन पूरा गर्न चाहन्थ्यो। खराब ब्याटिङ गरेपछि चितवनले जित निकाल्न सकेन।
त्रिवि क्रिकेट स्टेडियममा कर्णालीले १५३ रनको लक्ष्य दिएको थियो। तर, चितवन १९.१ ओभरमा १२९ रनमै अलआउट हुन पुग्यो। ओपनर कामिल मिसराले २५ रन जोड्दा उस्मान मिर २२ रनमा अविजित रहे। कुशल मल्लले १८ रन बनाए। कुनै पनि ब्याटरले राम्रो इनिङ खेल्न नसक्दा चितवन पराजित हुन पुग्यो।
चितवनले चौथो ओभरमा पहिलो विकेट गुमाएको थियो। ओपनर देव खनाल १४ रनमा आउट भए। ३.४ ओभरमा चितवन ३५/१ को अवस्थामा थियो। तर, त्यसपछि लगातार विकेट गुमाउँदा चितवनले पाँच बलअगावै हार बेहोर्नुपर्यो। पहिलो विकेटका लागि देव र कामिलबीच बनेको ३५ रन नै सर्वाधिक ठूलो साझेदारी रह्यो। विदेशी खेलाडी कप्तान सिकन्दर राजा ६ र डान माउस्ले आठ रनमा आउट भए।
कर्णालीको बलिङमा पनि हुसेन चम्किए। ३.१ ओभर बलिङ गरेका हुसेनले तीन विकेट लिए। मार्क वाट र पवन सर्राफले समान दुई तथा सोमपाल कामीले एक विकेट लिए।
टस जितेर कर्णालीले ब्याटिङ रोजेको थियो। १०० रन जोड्दा नै सात विकेट गुमाएपछि कर्णालीको त्यो निर्णय सहज देखिएन। तर, तलतको अर्धशतकमा कर्णालीले पूरै ओभर खेल्दै आठ विकेटको क्षतिमा १५३ रनको योगफल बनायो।
मध्यक्रममा ब्याटिङ गर्न आएका तलत ५१ रनमा अविजित रहे। ओपनर अरिफुल इस्लामले ३५ रन, पवन सर्राफले १५ र गुल्सन झाले १८ रन जोडे। डेविड मिलर, मार्क वाट र दीपक डुम्रे जस्ता ब्याटरले राम्रो प्रदर्शन गर्न नसक्दा चितवनको बलिङविरुद्ध कर्णालीले प्रतिस्पर्धात्मक योगफल बनाउन सफल भयो।
तलतको आक्रामक ब्याटिङमा कर्णालीले मध्यम योगफल बनाउन सफल भयो। तलतले ३३ बलमा दुई चौका र तीन छक्का प्रहार गरे। अरिफुलले आफ्नो इनिङमा चार चौका र दुई छक्का प्रहार गरे। गुल्सनले छ बलमा एक चौका र दुई छक्का प्रहार गरे।
चितवनको बलिङमा कमलसिंह ऐरी, सलाहुद्दिन खान र मिरले समान दुई विकेट लिए। रिजन ढकाल र कप्तान सिकन्दर राजाले समान एक विकेट लिए।