काठमाडौं । चरिथ असलंकाको अर्धशतकमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा साविक विजेता लुम्बिनी लायन्सलाई १६७ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६६ रन बनाएको हो ।
विराटनगरका लागि असलंकाले सर्वाधिक ६४ रन बनाए । उनले ४३ बलमा १ चौका र ६ छक्का प्रहार गरे । शुभम रन्जानेले २४ बलमा ४ चौकासहित अविजित ३१ रन जोडे ।
ओपनर इमरान शेख २४ रन बनाएर रिटायर्ड हर्ट भए । अर्का ओपनर लोकेश बमले १७ बलमा १५ रन बनाए । त्यस्तै, शेहान जयसूर्या १ र इसुरु उडाना ६ रनमा आउट भए ।
विराटनगर ७० रनको अवस्थामा हुँदा ओपनर शेख रिटायर्ड हर्ट भएका थिए । त्यसपछि क्रिजमा आएका रन्जानेसँग मिलेर असलंकाले पाँचौँ विकेटका लागि ७५ रनको साझेदारी गरे ।
लुम्बिनीका लागि किशोर महतो, रुबेन ट्रम्पलम्यान र अभिषेक गौतमले समान १ विकेट लिए । किशोरले ४ ओभरमा २४ र अभिषेकले ३ ओभरमा १५ रन खर्चिए । ट्रम्पलम्यानले ४ ओभरमा ५२ रन दिए ।