एनपीएलमा चितवनको रोमान्चक जित : जनकपुर र कर्णाली प्लेअफबाट बाहिरिए

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार भएको लो–स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले दिएको ८९ रनको सामान्य लक्ष्य चितवनले १७.२ ओभरमा ६ विकेट गुमाएर ९२ रन बनाउँदै पूरा गर्यो । 

यस जितसँगै ६ खेलबाट ७ अंक जोडेको चितवन तालिकाको चौथो स्थानमा उक्लिएको छ भने पराजित जनकपुरसँगै कर्णाली याक्स पनि लिग चरणबाटै बाहिरिएका छन् ।

लक्ष्य पछ्याउने क्रममा चितवनको सुरुवात निकै खराब रहे पनि मध्यक्रमका ब्याटरले इनिङ्स सम्हालेका थिए । दोस्रो बलमै ओपनर अर्जुन साउदलाई शून्यमा गुमाएको चितवनले ३७ रन जोड्दा महत्त्वपूर्ण ५ विकेट गुमाइसकेको थियो ।

तर, डाविड मालान र कुशल मल्लले छैटौं विकेटका लागि ३० रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई जिततर्फ डोर्याए । मालानले ३९ बलमा १ छक्कासहित अविजित ३५ रनको योगदान दिए भने कुशल मल्लले १५, रवि बोपाराले १३ र कमिल मिशाराले १२ रन जोडे । बलिङतर्फ जनकपुरका राहुल यादवले ३, ललित राजवंशीले २ तथा विशाल सुशलिङले १ विकेट लिए पनि टोलीको हार टार्न सकेनन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जनकपुर चितवनका स्पिनरहरूको घातक बलिङसामु निरीह बन्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८८ रनमा समेटिएको थियो । जनकपुरका लागि सातौं नम्बरमा ब्याटिङ गर्न आएका कप्तान हर्मीत सिंहले २४ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक २४ रन बनाए भने विशाल सुशलिङले १५ तथा सन्तोष कार्की र राहुल यादवले समान १०-१० रन जोडे । 

अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् । चितवनको बलिङमा स्पिनरहरूले कुल ७ विकेट लिए, जसमा रन्जित कुमारले ३ ओभरमा १ मेडन राख्दै मात्र २ रन खर्चेर ३ विकेट तथा कप्तान सिकन्दर राजाले ४ ओभरमा २ मेडनसहित १० रन खर्चेर २ विकेट लिए । कमिल मिशाराले २ तथा कमल सिंह ऐरी र रिजन ढकालले १-१ विकेट हात पारे ।

यो नतिजासँगै लिगका सबै ७ खेल खेलिसकेको जनकपुर ४ अंकका साथ बाहिरिएको छ भने एक खेल बाँकी रहेको कर्णालीको पनि ४ अंक मात्र रहेकाले शीर्ष चारको दौड समाप्त भएको छ । अब चितवनले आइतबार लिगको अन्तिम खेलमा कर्णाली याक्ससँग खेल्नेछ । 

यद्यपि, शनिबार हुने खेलमा विराटनगर किंग्स लुम्बिनी लायन्ससँग पराजित भएमा चितवन एक खेल अगावै प्लेअफमा पुग्नेछ । विराटनगर विजयी भएको खण्डमा भने चितवनले प्लेअफमा स्थान पक्का गर्न आइतबार कर्णालीलाई अनिवार्य पराजित गर्नुपर्नेछ ।

Share News