नेपालको निर्माण क्षेत्र पछिल्लो समय विभिन्न चुनौतीबाट गुज्रिरहेको छ । निर्माण सामग्रीको मूल्यवृद्धि, सडक तथा यातायातमा देखिने अवरोध, प्राकृतिक विपत्ति, आयोजना व्यवस्थापनमा हुने ढिलाइ तथा लागत अनुमान र वास्तविक लागतबीचको अन्तरका कारण निर्माण क्षेत्र प्रभावित भइरहेको छ । घर तथा भवन निर्माण गर्ने ग्राहकका लागि पनि सस्तोमा राम्रो घर बनाउने चाहना र वास्तविक निर्माण लागतबीच सन्तुलन मिलाउनु चुनौतीपूर्ण बन्दै गएको छ । वी बिल्ड कन्स्ट्रक्सन सर्भिसेजकी संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुकीर्ति शर्मासँग घर तथा भवन निर्माण गर्दा ध्यान दिनुपर्ने विषय, निर्माणको गुणस्तर, लागत व्यवस्थापन, सुरक्षा, निर्माण क्षेत्रमा महिला सहभागिता तथा कम्पनीको कार्यशैलीबारे विकासन्युजका नरेन्द्र विष्टले कुराकानी गरेका छन् ।
वी बिल्ड कन्स्ट्रक्सन सर्भिसेज कस्तो खालको कम्पनी हो ? यसले के-कस्ता काम गर्दै आएको छ ?
वी बिल्ड कन्स्ट्रक्सन सर्भिसेज म संस्थापक तथा सीईओ भएर नेतृत्व गरिरहेको महिला नेतृत्वको निर्माण कम्पनी हो । हामीले डिजाइन, इन्टेरियर, कमर्सियल कन्स्ट्रक्सन, बिल्डिङ कन्स्ट्रक्सनलगायतका काम गछौं । हाम्रो मुख्य विशेषता भनेको टर्न-की प्रोजेक्ट हो । अर्थात् ग्राहकले एउटा घर वा भवन निर्माण गर्न चाहनुभयो भने सुरुआती डिजाइनदेखि अन्तिम फिनिसिङसम्मको जिम्मेवारी हामी लिन्छौं ।
डिजाइन, निर्माण, इलेक्ट्रिकल, प्लम्बिङ, फर्निचर, इन्टेरियरलगायत आवश्यक कामहरू पूरा गरेर अन्तिम अवस्थामा ग्राहकलाई हस्तान्तरण गछौं । ग्राहकले छुट्टाछुट्टै कामका लागि विभिन्न ठाउँमा धाउनुपर्ने अवस्था नहोस् भन्ने हाम्रो उद्देश्य हो । जग्गा हेर्ने चरणदेखि डिजाइन, म्युनिसिपल ड्रइङ, आवश्यक स्वीकृति प्रक्रियादेखि निर्माण र फिनिसिङसम्मको कामलाई एकीकृत रूपमा अघि बढाउँछौं ।
बजारमा तपाईंहरू जस्तै धेरै निर्माण कम्पनी छन् । अरूभन्दा तपाईंको कम्पनी के कुराले फरक छ ?
निर्माण क्षेत्रमा अहिले धेरै कम्पनी छन् । तर मैले देखेको मुख्य समस्या समय र लागत व्यवस्थापनमा छ । कतिपय कम्पनीले सुरुमा एउटा लागत अनुमान दिनुहुन्छ, तर आयोजना सम्पन्न हुँदासम्म लागत निकै बढ्छ । त्यस्तै, छ महिनामा काम सक्ने भनिएको आयोजना ८/९ महिनासम्म लम्बिने अवस्था पनि देखिन्छ । हाम्रोमा भने ग्राहकसँग सुरुमै समय, कामको दायरा, सामग्रीको छनोट र लागतबारे स्पष्ट छलफल हुन्छ।
हामीले जुन समय तोकेका हुन्छौं, त्यसलाई सकेसम्म कडाइका साथ पालना गर्छौं । कतिपय अवस्थामा तोकिएको समयभन्दा २/४ दिन वा एक हप्ताअघि नै काम सम्पन्न गरेर हस्तान्तरण गर्ने प्रयास हुन्छ । हामी फास्ट–ट्र्याक डेलिभरीमा पनि केन्द्रित छौं । महिला नेतृत्व हुनु एउटा पक्ष हो, तर हाम्रो मुख्य फरक भनेको कामप्रतिको दृष्टिकोण, समय व्यवस्थापन, गुणस्तर र ग्राहकसँगको पारदर्शिता हो । हामीले ग्राहकको बजेटलाई सुरुदेखि नै केन्द्रमा राख्छौं ।
ग्राहकको बजेटअनुसार निर्माण गर्दा कसरी काम गर्नुहुन्छ ?
हामीले प्रोजेक्ट लिँदा सबैभन्दा पहिले ग्राहकको बजेट र आवश्यकता बुझ्छौं । त्यसपछि सो बजेटभित्र कसरी राम्रो निर्माण गर्न सकिन्छ भनेर योजना बनाउँछौं । कम बजेट छ भन्दैमा गुणस्तरमा सम्झौता गर्ने होइन । विभिन्न सामग्रीका फरक-फरक ग्रेड हुन्छन् ।
ग्राहकको आवश्यकता र बजेटअनुसार उपयुक्त सामग्री छनोट गर्न सकिन्छ । तर संरचनाको सुरक्षा, आवश्यक प्राविधिक काम र आधारभूत गुणस्तरमा सम्झौता गर्न हुँदैन । मेरो विचारमा सस्तो र भ्यालु फर मनी फरक कुरा हुन् । सुरुमै सस्तो देखियो भन्दैमा त्यो अन्तिममा पनि सस्तो हुन्छ भन्ने छैन । राम्रो योजना र गुणस्तरीय काम भए ग्राहकले खर्च गरेको प्रत्येक रुपैयाँको उपयोगिता पाउनुपर्छ । हामी त्यही भ्यालु फर मनी निर्माणमा केन्द्रित हुन्छौं । निर्माण क्षेत्रमा महिला हुनु आफैंमा ठूलो चुनौती थियो ।
निर्माण क्षेत्रमा महिला भएर काम गर्दा कस्ता चुनौती सामना गर्नुपर्यो ?
चुनौती धेरै थिए । म सिभिल इन्जिनियरिङ पढेर निर्माण क्षेत्रमा आउँदा सुरुमा धेरैजसो पुरुषकै बीचमा काम गर्नुपर्थ्यो । कतिपय अवस्थामा आफूभन्दा कम प्राविधिक शिक्षा प्राप्त गरेका व्यक्तिले पनि महिलाको कुरा नसुन्ने, नटेर्ने अवस्था आयो । तर काम गर्दै जाँदा मेरो दक्षता र प्राविधिक ज्ञान उहाँहरूले बुझ्नुभयो । त्यसपछि अवस्था सहज हुँदै गयो ।
निर्माण क्षेत्रमा साइट कहिले काठमाडौंमा हुन्छ, कहिले बाहिर । निरन्तर यात्रा गर्नुपर्छ। परिवार र कामबीच सन्तुलन मिलाउन पनि चुनौती हुन्छ । तर चुनौतीसँगै यस क्षेत्रमा धेरै अवसर पनि छन् । मलाई सबैभन्दा ठूलो सन्तुष्टि केमा छ भने म एउटा बाटो बनाइरहेकी छु । मलाई हेरेर अरू महिलाले पनि हामी पनि निर्माण क्षेत्रमा जान सक्छौं भनेर सोच्न सक्नुहुन्छ । महिला केवल सीमित क्षेत्रमा मात्र काम गर्नुपर्छ भन्ने मानसिकता परिवर्तन गर्न निर्माण क्षेत्रजस्तो ठूलो क्षेत्रमा महिलाको सहभागिता आवश्यक छ । महिलामा रहेको एम्प्याथीले नेतृत्वलाई अझ बलियो बनाउँछ ।

महिलाले निर्माण क्षेत्रमा पुरुषभन्दा राम्रो गर्न सक्छन् भन्नेमा तपाईंको अनुभव के छ ?
महिलाले पनि गर्न सक्छन् भन्ने प्रमाणित गर्नुपर्छ । म आफै सिभिल इन्जिनियरिङ पढ्दा मेरो ब्याचमा करिब ८० जना पुरुष विद्यार्थीमध्ये तीन जना मात्र महिला थियौं । यसले पनि प्राविधिक शिक्षामा महिलाको सहभागिता कति कम छ भन्ने देखाउँछ । महिलाले म सक्छु भन्ने आत्मविश्वास राख्नुपर्छ । पाइलट, मेकानिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङजस्ता प्राविधिक क्षेत्रमा पनि महिला आउनुपर्छ ।
मेरो अनुभवमा महिलामा हुने एम्प्याथीले नेतृत्वमा सकारात्मक भूमिका खेल्छ । साइटमा काम गर्ने श्रमिकसँग मेरो राम्रो सम्बन्ध छ । उहाँहरू आफ्ना समस्या पनि खुलेर सुनाउनुहुन्छ । त्यसले टिमलाई बलियो बनाउँछ । महिला हुनु कमजोरी होइन । उल्टै मानिससँग भावनात्मक रूपमा जोडिन सक्ने क्षमता र प्राविधिक दक्षताको सन्तुलनले नेतृत्वलाई अझ प्रभावकारी बनाउन सक्छ । घर बनाउँदा सस्तो कोटेसन होइन, राम्रो योजना बनाउनुपर्छ ।
घर वा भवन बनाउन चाहने ग्राहकले सबैभन्दा पहिले के कुरामा ध्यान दिनुपर्छ ?
ग्राहकहरू प्रायः लागतकेन्द्रित हुनुहुन्छ । ४/५ वटा कोटेसन लिनुहुन्छ र सबैभन्दा सस्तो भएको कम्पनी रोज्ने प्रवृत्ति हुन्छ । तर यो सही तरिका होइन । ग्राहकले कम्पनी छनोट गर्दा उसको प्राविधिक क्षमता, डिजाइनर र इन्जिनियरको दक्षता, लागत अनुमान गर्ने क्षमता, सामग्रीको गुणस्तर र सुपरभिजनको व्यवस्था कस्तो छ भन्ने हेर्नुपर्छ । राम्रो योजना सुरुदेखि नै आवश्यक हुन्छ । इलेक्ट्रिकल, स्यानिटरी, प्लम्बिङ, वाटरप्रुफिङ, एमईपीलगायतका काम सुरुदेखि नै योजनामा समेटिनुपर्छ । कमजोर अनुमान गरेर सुरुमा कम लागत देखाउने र पछि २०/३० प्रतिशत अतिरिक्त लागत थपिने अवस्था आउन सक्छ । त्यसैले सुरुमै राम्रो डिजाइन र राम्रो योजना बनाउनुपर्छ । नत्र डिजाइन फाइनल भएपछि बारम्बार परिवर्तन गर्दा लागत बढ्छ ।
निर्माण सुरु भएपछि ग्राहकले पनि केही गल्ती गर्छन् भन्नुभयो । कस्तो गल्ती गर्छन् ?
डिजाइन फाइनल भएपछि निर्माणको बीचमा बारम्बार परिवर्तन गर्नु ठूलो समस्या हो । पर्खालको ठाउँ परिवर्तन गर्ने, सामग्री बदल्ने, संरचनामा फेरबदल गर्ने जस्ता कामले रि-वर्क हुन्छ । रि-वर्क भएपछि अतिरिक्त सामग्री, श्रम र समय लाग्छ । त्यसले लागत बढाउँछ । त्यसैले मेरो सुझाव हुन्छ, डिजाइनमा सुरुमै पर्याप्त समय दिनूस् । एकपटक डिजाइन फाइनल भएपछि सकेसम्म परिवर्तन नगर्नूस्। निर्माणमा हतार गर्नुभन्दा डिजाइनमा समय दिनु राम्रो हुन्छ । टर्न-की सेवामा ग्राहकले सम्पूर्ण जिम्मेवारी हामीलाई दिन सक्छ ।
तपाईंहरूले निर्माणको कुन चरणसम्म जिम्मेवारी लिनुहुन्छ ?
हामी इन्टिग्रेटेड कन्स्ट्रक्सन सर्भिस अर्थात् टर्न-की सेवा दिन्छौं । ग्राहकले हामीलाई आफ्नो आवश्यकता बताउनुभयो भने त्यसपछि डिजाइनदेखि निर्माण सम्पन्न र फिनिसिङसम्मको काम हामी हेर्छौं । म्युनिसिपल ड्रइङदेखि आवश्यक स्वीकृति, घर वा भवन निर्माण, इन्टेरियर, फर्निचर, इलेक्ट्रिकल, एमईपीलगायतका काम पूरा गरेर हस्तान्तरण गर्छौं । अर्थात् ग्राहकले छुट्टाछुट्टै कामको तनाव लिनुपर्दैन । सम्पूर्ण परियोजनाको जिम्मेवारी हामीले लिन्छौं र त्यसैअनुसार सम्झौता गर्छौं । निर्माण लागत बढ्नुका कारण धेरै छन् ।
पछिल्लो समय घर तथा भवन निर्माणको लागत बढिरहेको छ । यसको मुख्य कारण के हो ?
एउटा कारण यातायात हो । प्राकृतिक प्रकोपका कारण सडक अवरुद्ध हुँदा निर्माण सामग्रीको ढुवानीमै समस्या आउँछ । यसको प्रत्यक्ष असर लागतमा पर्छ । त्यस्तै स्टिल, सिमेन्टजस्ता निर्माण सामग्रीको मूल्य बढ्दा स्वाभाविक रूपमा निर्माण लागत बढ्छ ।
त्यसबाहेक डिजाइन परिवर्तन, रि-वर्क र सुरुमै कमजोर लागत अनुमान हुनु पनि महत्त्वपूर्ण कारण हुन् । बिल अफ क्वान्टिटिज अर्थात् बीओक्यू राम्रोसँग तयार भएन भने पछि गएर नयाँ–नयाँ काम थपिँदै जान्छन् । त्यसले लागत बढाउँछ । नगरपालिकाका विभिन्न स्वीकृति, कागजात र निर्माणसम्बन्धी आवश्यक प्रक्रियाले पनि लागतमा प्रभाव पार्न सक्छ ।
मेरो सुझाव ग्राहकलाई के हो भने, कुल बजेटमा करिब १० प्रतिशत कन्टिन्जेन्सी राख्नूस् । निर्माणमा कहिले के समस्या आउँछ भनेर पहिल्यै भन्न सकिँदैन । त्यसैले केही अतिरिक्त बजेट राख्नु व्यावहारिक हुन्छ । बजेट कम छ भने सजावट पछि गर्नूस्, सुरक्षामा सम्झौता नगर्नूस् ।

कम बजेटमा घर बनाउन सम्भव छ त ?
सम्भव छ । सिमेन्ट र स्टिलका विभिन्न ग्रेड हुन्छन् । बजेटअनुसार सामग्री छनोट गर्न सकिन्छ । तर गुणस्तर र संरचनात्मक सुरक्षामा सम्झौता गर्नु हुँदैन । घरमा मस्ट ह्याभ र गुड टु ह्याभ भन्ने कुरा छुट्याउनुपर्छ । संरचनाको सुरक्षा, आवश्यक एमईपी काम र आधारभूत सुरक्षा प्रोटोकल अनिवार्य हुन् । बजेट कम छ भने डेकोरेसन पछि गर्न सकिन्छ । आज महँगो सोफा राख्नुभन्दा पहिले घरको संरचना सुरक्षित बनाउनु महत्त्वपूर्ण हो । फिनिसिङ अर्को वर्ष गर्न सकिन्छ, तर संरचनाको सुरक्षा पछि थप्न सकिँदैन । निर्माण सामग्रीको गुणस्तर परीक्षण अनिवार्य छ ।
निर्माण सामग्रीको गुणस्तर कसरी परीक्षण गर्नुहुन्छ ?
हामी कङ्क्रिटको क्युब टेस्ट गर्छौं । स्टिलको ग्रेड र सर्टिफिकेसन हेर्छौं । एग्रिगेट अर्थात् गिट्टी, बालुवा, सिमेन्टलगायत सामग्रीको गुणस्तर जाँच गर्छौं । मोर्टारको रेसियो पनि प्राविधिक रूपमा हेर्छौं । सामग्रीको सर्टिफिकेट र नेपाल स्ट्यान्डर्डअनुसारको ग्रेड छ कि छैन भन्ने कुरा पनि महत्त्वपूर्ण हुन्छ । इलेक्ट्रिकल सामग्रीमा पनि सुरक्षा हेर्नुपर्छ । आगलागीको जोखिम कम गर्ने किसिमका वायर र अन्य सामग्री छनोट गर्नुपर्छ । भवन भनेको केवल ठड्याउने संरचना होइन, सुरक्षित र दीर्घकालीन संरचना हुनुपर्छ । सस्तो निर्माणको वास्तविक लागत पछि देखिन्छ ।
सस्तोमा निर्माण गर्दा दीर्घकालीन जोखिम कत्तिको हुन्छ ?
घर ठडिनु मात्र ठूलो कुरा होइन । राम्रो निर्माण भनेको जगदेखि नै राम्रो योजना र गुणस्तर कायम हुनु हो । वाटरप्रुफिङ राम्रो भएन भने छतबाट पानी चुहिन्छ । ड्रेनेज राम्रो भएन भने समस्या आउँछ । प्लम्बिङ कमजोर भयो भने पछि फेरि भत्काएर मर्मत गर्नुपर्छ । क्युरिङ राम्रो भएन भने पनि समस्या आउन सक्छ । भूकम्पीय सुरक्षाका लागि पनि संरचनात्मक पक्षमा ध्यान दिनुपर्छ । राम्रो सामग्री, सही डिजाइन र प्राविधिक मापदण्डअनुसार निर्माण गरियो भने भवनलाई सुरक्षित बनाउन सकिन्छ ।
सुरुमा सस्तोमा बनाएको जस्तो देखिए पनि पछि मर्मत, चुहावट, पाइपलाइन, वाटरप्रुफिङलगायतका समस्याले ग्राहकको लागत झन् बढ्न सक्छ । त्यसैले सुरुमा नै राम्रो योजना र गुणस्तरमा लगानी गर्नु दीर्घकालमा सस्तो पर्छ । ग्राहक फिनिसिङमा खर्च गर्न तयार हुन्छन्, डिजाइनमा गर्न चाहँदैनन् ।
अहिले घर बनाउने ग्राहकको मुख्य कमजोरी के देख्नुहुन्छ ?
ग्राहकहरू फिनिसिङमा बढी ध्यान दिनुहुन्छ । राम्रो बैठक कोठा, महँगो सोफा, टिभी र सजावटमा खर्च गर्न तयार हुनुहुन्छ । तर सुरुको डिजाइन, इन्जिनियरिङ, टु-डी, थ्री-डी डिजाइन, एमईपी र वर्किङ ड्रइङमा खर्च गर्न चाहनुहुन्न । तर घरको दीर्घकालीन गुणस्तरका लागि सुरुआती डिजाइनमै लगानी गर्नुपर्छ । डिजाइनको लागत खर्च होइन, भविष्यको समस्या घटाउने लगानी हो । कमर्सियल भवनमा सुरक्षा झन् संवेदनशील हुन्छ ।
आवासीय र व्यावसायिक भवन निर्माणमा के फरक हुन्छ ?
कमर्सियल भवन झन् संवेदनशील हुन्छ । त्यहाँ मानिसको आवतजावत र व्यवसाय जोडिएको हुन्छ। त्यसैले समयमै निर्माण सम्पन्न गर्नुका साथै फायर सेफ्टी, इलेक्ट्रिकल सेफ्टी, मेकानिकल सेफ्टी, लिफ्ट र अन्य मेसिनरीको सुरक्षा महत्त्वपूर्ण हुन्छ । बालबालिका प्रयोग गर्ने भवन, अस्पताल वा अन्य सार्वजनिक भवनमा पनि छुट्टाछुट्टै मापदण्ड र आवश्यकताहरू हुन्छन् । मानिस सुरक्षित रूपमा हिँडडुल गर्न सक्ने, आपत्कालीन अवस्थामा बाहिर निस्कन सक्ने, पर्याप्त सर्कुलेसन हुनेलगायतका विषय डिजाइनमै समेट्नुपर्छ ।
निर्माण क्षेत्रमा आउन चाहने महिलालाई तपाईंको सुझाव के छ ?
मेरो पहिलो आग्रह नै कम्फर्ट जोनबाट बाहिर निस्कनूस् भन्ने हो । महिलाहरूले आफूलाई नै सीमित गरिरहेका हुन्छन् । म यो गर्न सक्दिनँ होला भनेर । त्यसो गर्नु हुँदैन । आफ्नो क्षमता प्रयोग गर्नुपर्छ । प्राविधिक शिक्षा लिनुस्, तालिम लिनुस्, आफूलाई निरन्तर शिक्षित बनाइरहनूस् । आफ्नो दक्षतामा काम गर्नुस् । करिअर र आफ्नो क्षमता यस्तो कुरा हो, जसले जीवनमा सधैं साथ दिन्छ । महिलाले आफ्नो करिअरलाई पनि प्राथमिकता दिनुपर्छ । आफूलाई पुरुष सहकर्मीभन्दा कम आँक्नु हुँदैन । आफू कुन क्षेत्रमा सक्षम छु भन्ने कुरा काम गरेर मात्र थाहा हुन्छ । त्यसैले प्रयास गर्नुस् ।
आगामी दिनमा वि बिल्डलाई कसरी अघि बढाउने योजना छ ?
अहिले हाम्रो मुख्य उद्देश्य गुणस्तरीय निर्माण, समयमै डेलिभरी र ग्राहकको बजेटको सम्मान गर्ने कम्पनी बन्नु हो । मैले कन्स्ट्रक्सन क्षेत्रमा महिला नेतृत्वको संस्था भएर राम्रो उदाहरण स्थापित गर्न चाहन्छु । अरू महिलाले पनि यो क्षेत्रमा आउन सकून्, नेतृत्व गर्न सकून् र आफूलाई प्रमाणित गर्न सकून् भन्ने चाहना छ । वी बिल्डले एउटा कुरा स्पष्ट रूपमा स्थापित गर्नुपर्छ, हामीले जुन वाचा गर्छौं, त्यही डेलिभर गर्छौं । समयको कुरा होस्, सामग्रीको गुणस्तर होस् वा सुपरभिजन, ग्राहकलाई एउटा वाचा गरेर व्यवहारमा अर्कै गर्ने हुनु हुँदैन । हाम्रो लक्ष्य ‘हामीले जे वाचा गर्छौं, त्यही डेलिभर गर्छौँ’ भन्ने संस्कार निर्माण गर्नु हो ।

अन्त्यमा घर तथा भवन निर्माण गर्न चाहने ग्राहकलाई के भन्न चाहनुहुन्छ ?
म ग्राहकहरूलाई एउटै कुरा भन्न चाहन्छु । निर्माण कम्पनी छनोट गर्दा केवल सस्तो मूल्य नहेर्नूस् । कम्पनीको प्राविधिक क्षमता, डिजाइन, सामग्रीको गुणस्तर, सुपरभिजन, समय व्यवस्थापन र विगतको काम हेर्नुस् । वि बिल्ड कन्स्ट्रक्सन सर्भिसेजलाई पनि एकपटक हेर्नूस् । हामी ग्राहकले अपेक्षा गरेकोभन्दा अझ राम्रो काम दिने प्रयास गर्छौं । म आफै साइटमा गएर कामको सुपरभिजन गर्छु ।
केवल सुपरभाइजरलाई जिम्मा दिएर आफू पन्छिने काम गर्दिनँ । हामी समय, गुणस्तर र बजेटलाई प्राथमिकतामा राखेर काम गर्छौं । ग्राहकले खर्च गरेको प्रत्येक पैसाको भ्यालु प्राप्त गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । अन्ततः निर्माणमा सबैभन्दा ठूलो कुरा विश्वास हो । हामीले गरेको काम हेर्नूस्, हाम्रो काम गर्ने शैली बुझ्नूस् र त्यसपछि विश्वास गर्नूस् । नेपालमा महिला नेतृत्वमा पनि गुणस्तरीय, समयमै सम्पन्न हुने र ग्राहकको बजेटको सम्मान गर्ने निर्माण कम्पनी सञ्चालन गर्न सकिन्छ भन्ने प्रमाणित गर्ने हाम्रो प्रयास हो ।