हिमालयन लघुवित्तद्वारा मालती देवीलाई ३ लाख ऋण मिनाहा रकम भुक्तानी

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय बंकुल, रौतहटले बीमा दाबी रकम भुक्तानी गरेको छ । रौतहट जिल्ला, मौलापुर नगरपालिका–७ पिपरिया टोलस्थित केन्द्र नं. ४५ की सदस्य श्रीमती मालती देवीका श्रीमान् धुरन साह कानुको मृत्यु भएपछि संस्थाले बीमा क्षतिपूर्ति उपलब्ध गराएको हो । श्रीमती मालती देवीले संस्थाबाट ३ लाख रुपैयाँ कर्जा लिएकी थिइन् । उनका श्रीमानको निधनपछि संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरिएको छ । साथै कर्जा बीमा अन्तर्गत काजक्रिया खर्च वापत २५ हजार रुपैयाँ समेत थप गरी एकमुष्ट रकम भुक्तानी गरिएको शाखा प्रबन्धक श्यामबाबु प्रसाद यादवले जानकारी दिए । संस्थाले आफ्ना सदस्यहरूको हित र संरक्षणका लागि आपतकालीन अवस्थामा विभिन्न सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । दुःखको समयमा आर्थिक सहयोग प्रदान गरेकोमा केन्द्रका सदस्यहरूले संस्थाप्रति धन्यवाद व्यक्त गरेका छन् । उक्त रकम मौलापुर नगरपालिका–७ का वडा अध्यक्ष रामपुकार साह र संस्थाका निजगढ अनुगमन प्रमुख सन्दीप बिडारीद्वारा हस्तान्तरण गरिएको थियो । कार्यक्रममा शाखा प्रबन्धक यादव, कर्मचारी रामाशंकर महरा तथा केन्द्रका सदस्यहरूको उपस्थिति रहेको थियो । 

कालिकोटमा राहत बोकेर पुग्यो सानिमा रिलायन्स लाइफ

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले कर्णाली प्रदेशको कालिकोट जिल्लामा बाढी तथा आगलागीबाट प्रभावित घरपरिवारलाई राहतस्वरूप कम्मल वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले २०८२ साल असोज १८ देखि २४ गतेसम्म परेको अविरल वर्षाका कारण प्रभावित शुभकालिका गाउँपालिका वडा नं. ७ र ८, महावै गाउँपालिका वडा नं. ५ र ६, खाँडाचक्र नगरपालिका वडा नं. १ र ५ तथा तिलागुफा नगरपालिका वडा नं. ७ र १० का बाढीपीडित र तिलागुफा नगरपालिका वडा नं. ५ र ६ तथा खाँडाचक्र नगरपालिका वडा नं. १० का आगलागीपीडित गरी कुल ४३ घरपरिवारलाई कम्मल वितरण गरेको हो । राहत वितरण कार्यक्रम कम्पनीको सुर्खेत शाखा प्रमुख विश्वराज बोगटीको उपस्थितिमा सम्पन्न भएको थियो । कार्यक्रममा सहभागी पीडितहरूले सहयोगप्रति खुशी व्यक्त गर्दै दुर्गम क्षेत्रमा पुगेर सेवा दिएकोमा कम्पनीप्रति कृतज्ञता जनाएका छन् । कम्पनीले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता र विपद् व्यवस्थापनजस्ता क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । नाफामुखी व्यवसायसँगै सामाजिक हितलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रम अझ प्रभावकारी र समुदायमैत्री बनाउने कम्पनीको योजना छ।  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले डिजिटल सेवा विस्तार, दाबी प्रक्रिया सहजता र ग्राहक सेवा सुदृढीकरणमार्फत आफूलाई भरोसायोग्य जीवन बीमा कम्पनीका रूपमा स्थापित गर्दै आएको छ । हाल कम्पनीले देशभर १६९ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ । कम्पनीको पूँजी ५ अर्ब रुपैयाँभन्दा बढी र लगानी २० अर्ब रुपैयाँभन्दा माथि रहेको छ भने २० हजारभन्दा बढी अभिकर्ता कार्यरत छन् ।  

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा स्वास्थ्य शिविर, ११०० बढी लाभान्वित

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो २५औं वार्षिकोत्सवको अवसरमा निस्शुल्क स्वास्थ्य शिविर तथा देशव्यापी बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना गरिएको यी कार्यक्रमबाट एक हजारभन्दा बढी व्यक्तिहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । कम्पनीले वैशाख २१ र २२ गते काठमाडौंस्थित प्रधान कार्यालय परिसरमा निस्शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । शिविरमा इसिजी, थाइराइड, सुगर, रक्तचाप, एसजिपिटी, कोलेस्ट्रोल तथा युरिक एसिडलगायतका परीक्षण निःशुल्क रूपमा गरिनुका साथै विशेषज्ञ चिकित्सकबाट परामर्श सेवा प्रदान गरिएको थियो। दुई दिने उक्त शिविरबाट कुल ६०१ जनाले सेवा लिएका छन् । यसैगरी, कम्पनीले देशका सातै प्रदेशका १३ स्थानमा एकैसाथ रक्तदान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रमअन्तर्गत कोशी प्रदेशको इटहरीमा ३०, मधेश प्रदेशको वीरगञ्जमा २५ र जनकपुरमा २५, बागमती प्रदेशको काठमाडौंमा ७८, नारायणगढमा ८१, नुवाकोटमा ३९, हेटौंडामा २६ र बनेपामा ३२, गण्डकी प्रदेशको पोखरामा ५५, लुम्बिनी प्रदेशको बुटवलमा ३३ र भैरहवामा ३४, कर्णाली प्रदेशको सुर्खेतमा २५ तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा ३३ पिन्ट रगत संकलन गरिएको कम्पनीले जनाएको छ । यसरी कुल ५०५ पिन्ट रगत संकलन भएको छ । ‘किनकि, जीवन अमूल्य छ’ भन्ने नारालाई आत्मसात् गर्दै आएको नेपाल लाइफ इन्स्योरेन्स देशकै अग्रणी जीवन बीमा कम्पनीमध्ये एक हो । कम्पनीले करिब ३० प्रतिशत बजार हिस्सा ओगट्दै आएको र २५ वर्षदेखि करिब ५४ लाख नेपाली परिवारको विश्वास जित्दै आएको जनाएको छ । देशभरका ७७ जिल्लामा फैलिएको शाखा सञ्जाल तथा ६९ हजारभन्दा बढी अभिकर्तामार्फत कम्पनीले सेवा प्रदान गर्दै आएको छ । वार्षिकोत्सवका अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीका अध्यक्ष, सञ्चालकहरू, शेयरधनी, ग्राहक, अभिकर्ता, कर्मचारी तथा नियामक निकायलगायत सम्पूर्ण सरोकारवालाप्रति धन्यवाद व्यक्त गरेका छन् । आगामी दिनमा पनि यस्तै सहयोग, विश्वास र सहकार्य निरन्तर प्राप्त हुने अपेक्षा उनले व्यक्त गरेका छन् ।