शिवम सिमेन्टले अपाङ्ग नवजीवन केन्द्रका विद्यार्थीहरूलाई बाँड्यो न्यानो कपडा तथा शैक्षिक सामग्री

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले अपाङ्ग नवजीवन केन्द्रमा अध्ययनरत विशेष क्षमता भएका विद्यार्थीहरूलाई न्यानो कपडा, स्कुल व्याग सहित विभिन्न शैक्षिक सामग्री वितरण गरेको छ ।  एक कार्यक्रममार्फत केन्द्रमा रहेका विद्यार्थीहरूको अध्ययन तथा दैनिक जीवनलाई थप सहज बनाउने उद्देश्यका साथ आवश्यक सामग्रीहरू हस्तान्तरण गरिएको हो । करिब ६ महिनाअघि विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा रोल्पा नगरपालिका–१०, धाङ्सी निवासी विशेष क्षमता भएका बालक सन्देश बुढा मगरको प्रेरणादायी संघर्षको कथा सार्वजनिक भएको थियो ।  जन्मजात दुबै हात नचल्ने अवस्थाका बाबजुद खुट्टाको सहारामा लेख्दै अध्ययनलाई निरन्तरता दिइरहेको समाचार सार्वजनिक भएपछि शिवम् सिमेन्ट्स लिमिटेडले उनको शिक्षालाई निरन्तरता दिन पहल गरेको थियो । यसअघि शिवम् सिमेन्ट्स लिमिटेडले सन्देश बुढा मगरको शैक्षिक भविष्य सुनिश्चित गर्ने उद्देश्यले काठमाडौंस्थित अपाङ्ग नवजीवन केन्द्र तथा खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयसँग समन्वय गरी उनको माध्यमिक तहसम्मको अध्ययनका लागि आवश्यक सहयोग गर्ने व्यवस्था मिलाएको थियो ।  उक्त सहकार्य अन्तर्गत अपाङ्ग नवजीवन केन्द्रले आवास, हेरचाह तथा अध्ययन समन्वयको जिम्मेवारी लिएको छ भने विद्यालयले विशेष शिक्षा अन्तर्गत अध्ययनको अवसर उपलब्ध गराइरहेको छ । सन्देशको अध्ययन तथा आवश्यक व्यवस्थापनका लागि लाग्ने खर्चमा शिवम् सिमेन्टले नियमित सहयोग गर्दै आइरहेको छ । कार्यक्रममा कम्पनीका प्रतिनिधिहरूले शिक्षा हरेक बालबालिकाको मौलिक अधिकार भएको उल्लेख गर्दै विशेष आवश्यकता भएका बालबालिकाहरूले पनि समान अवसरसहित गुणस्तरीय शिक्षा प्राप्त गर्नुपर्नेमा जोड दिएका थिए ।  साथै समाजका आवश्यकता भएका वर्गहरूको जीवनस्तर सुधार तथा सशक्तीकरणमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहने विश्वास व्यक्त गरेका थिए । अपाङ्ग नवजीवन केन्द्रका पदाधिकारीहरूले शिवम् सिमेन्टले सन्देश बुढा मगरको शिक्षाका लागि गरेको सहयोग तथा केन्द्रका अन्य विद्यार्थीहरूलाई उपलब्ध गराएको सामग्रीले विद्यार्थीहरूको मनोबल वृद्धि हुनुका साथै अध्ययनमा सकारात्मक प्रभाव पार्ने बताएका छन्  ।

भन्सारदेखि बैंकिङ बिदासम्म, मन्त्री साहसमक्ष उद्योगीले राखे यस्ता माग

काठमाडौं । मोरङ उद्योग व्यापार संघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहसमक्ष उद्योग–व्यवसाय क्षेत्रका समस्या समाधानका लागि विभिन्न सुझाव तथा माग प्रस्तुत गरेको छ । शुक्रबार विराटनगर भ्रमणमा रहेका मन्त्री साहलाई संघका अध्यक्ष अनिल कुमार साह नेतृत्वको टोलीले स्वागत तथा भेटघाट गर्दै सुझाव पत्र बुझाएको हो । भेटघाटका क्रममा अध्यक्ष साहले मुलुकको वर्तमान आर्थिक अवस्था, उद्योग–व्यवसाय क्षेत्रले भोगिरहेका व्यावहारिक समस्या तथा तिनको समाधानका उपायबारे मन्त्री साहसँग छलफल गरेका थिए । संघले नीतिगत, व्यापार, कर, भन्सार तथा पूर्वाधारसँग सम्बन्धित विषयलाई प्राथमिकतामा राख्दै विभिन्न सुझाव दिएको छ । संघले उद्योगी–व्यवसायीको उधारो रकम असुलीका लागि द्रुत न्यायाधीकरण गठन गर्न माग गरेको छ । त्यस्तै खाद्यान्न तथा कच्चा पदार्थ आयातमा लगाइएको प्रतिबन्ध फुकुवा गर्न, अत्यधिक बैंकिङ बिदा कटौती गर्न, सार्वजनिक खरिद ऐनलाई थप लचिलो बनाउन तथा राजस्व न्यायाधिकरणमा निष्पक्षता कायम गर्न सुझाव दिइएको संघले जनाएको छ । भारततर्फ हुने निर्यातमा भारतीय गुणस्तर मापदण्डसम्बन्धी बीआईएस लाइसेन्स प्राप्तिमा देखिएको कठिनाइ हटाउन कूटनीतिक पहल गर्न पनि संघले आग्रह गरेको छ ।  विराटनगरस्थित एकीकृत भन्सार जाँचचौकी (आईसीपी) को सेवा शुल्क घटाउन तथा मोरङ–सुनसरी औद्योगिक करिडोरमा विशेष आर्थिक क्षेत्र स्थापना गर्न माग गरिएको छ ।  त्यसैगरी, विराटनगर रिङरोड निर्माण कार्य शीघ्र सम्पन्न गर्न पनि संघले सरकारको ध्यानाकर्षण गराएको छ।  सीमावर्ती बजारबाट हुने अवैध कारोबार तथा चोरी पैठारी नियन्त्रणका लागि भन्सार महसुल दरमा आवश्यक परिमार्जन गर्नुपर्ने संघको सुझाव छ ।  संघले बहुदरको मूल्य अभिवृद्धि कर (भ्याट) लागू गर्न तथा स्वदेशी उद्योगको संरक्षण र प्रवद्र्धनका लागि कच्चा पदार्थ आयातमा १ देखि ५ प्रतिशतसम्म मात्रै भन्सार महसुल कायम गर्न माग गरेको छ । निर्यातलाई प्रोत्साहन गर्न मूल्य अभिवृद्धिका आधारमा ५ देखि ८ प्रतिशतसम्म निर्यात अनुदान उपलब्ध गराउन तथा निर्यातकर्ता कर्पोरेटलाई दिइँदै आएको २५ प्रतिशत आयकर छुटको व्यवस्था पुनः कायम गर्नुपर्ने संघको माग छ । त्यस्तै, ‘एक नागरिक, एक प्यान’ नीति लागू गर्न, कृषि सामग्री तथा दैनिक उपभोग्य वस्तुमा भ्याट र अन्तःशुल्क खारेज गर्न तथा गैरकानुनी मानिएको कार्गो भेइकल फी (सीभीएफ) खारेज गर्न पनि संघले सुझाव दिएको छ । सुझाव पत्र बुझ्दै मन्त्री साहले संघले उठाएका विषय वस्तुनिष्ठ र समयसापेक्ष रहेको बताएका थिए । उनले मोरङ–सुनसरी औद्योगिक करिडोरको पुनरुत्थानसँगै निजी क्षेत्रको मनोबल उच्च बनाउन संघले दिएका सुझावलाई मन्त्रालयले प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । अध्यक्ष साहको नेतृत्वमा गएको टोलीमा संघका निवर्तमान अध्यक्ष अनुपम राठी, वरिष्ठ उपाध्यक्ष अनिल सारडा, वाणिज्य उपाध्यक्ष विकास कुमार बेगवानी, उद्योग उपाध्यक्ष सञ्जय कुमार श्रेष्ठ, महासचिव अमित कुमार सारदा तथा प्रमुख कार्यकारी अधिकृत भरत शर्मा प्रसाईंलगायत सहभागी थिए । सो अवसरमा नेपाल उद्योग परिसंघ, कोशी प्रदेशको टोलीले पनि मन्त्री साहलाई स्वागत तथा भेटघाट गरेको थियो ।

यातायात तथा पारवहन समितिको उपसभापतिमा मेघराज पौडेल

काठमाडौं । अटोमोबाइल क्षेत्रका अनुभवी व्यवसायी मेघराज पौडेल नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको यातायात तथा पारवहन समितिको उपसभापतिमा मनोनीत भएका छन् । एफएनसीसीआईले कार्यकारिणी समिति सदस्य लिलेन्द्र प्रसाद प्रधानको सभापतित्वमा गठित यातायात तथा पारवहन समितिमा पौडेललाई उपसभापतिको जिम्मेवारी दिएको हो । महासंघले यातायात तथा पारवहन क्षेत्रका चुनौती समाधान, व्यापार सहजीकरण तथा महासंघका कार्यक्रमलाई प्रभावकारी बनाउन पौडेलको अनुभव, ज्ञान र सक्रिय सहभागिताले महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ । पौडेल हाल नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का सचिव तथा अल्फा अटोमोटिभ प्रालि का निर्देशकका रूपमा कार्यरत छन् । उनी लामो समयदेखि नेपालको अटोमोबाइल व्यवसाय, बजार विस्तार तथा नीतिगत विषयमा सक्रिय रहँदै आएका छन् । नेपालमा दुईपांग्रे सवारीसाधनको बजार विस्तारको सुरुआती चरणदेखि नै अटोमोबाइल व्यवसायमा आबद्ध रहेका पौडेलले एउटा शोरुमबाट वार्षिक करिब ५० वटा मोटरसाइकल बिक्री हुने अवस्थादेखि अहिलेको विस्तारित बजारसम्मको यात्रा नजिकबाट अनुभव गरेको उल्लेख गरिएको छ । व्यवसायिक भूमिकासँगै पौडेल नाडामार्फत अटोमोबाइल क्षेत्रसँग सम्बन्धित कर तथा राजस्व नीति, एसेम्बली उद्योग, एमआरपी, व्यवसाय सञ्चालनको वातावरण तथा स्थानीय उत्पादन र स्वदेशी पार्ट्सको प्रयोगलगायत विषयमा सरकार र सम्बन्धित निकायसँग हुने छलफलमा पनि सक्रिय सहभागी रहँदै आएका छन् । स्थानीय उत्पादन र एसेम्बली उद्योगको विकास, अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्वदेशी पार्ट्सको प्रयोग तथा व्यवसायमैत्री नीतिगत वातावरण निर्माणमा उनले निरन्तर जोड दिँदै आएको पनि विज्ञप्तिमा उल्लेख छ । एफएनसीसीआईको यातायात तथा पारवहन समितिले यातायात व्यवसाय, पारवहन, व्यापार सहजीकरण तथा यस क्षेत्रसँग सम्बन्धित नीतिगत विषयमा निजी क्षेत्रको धारणा प्रस्तुत गर्दै आएको छ । महासंघले पौडेलको अनुभवले समितिका आगामी पहल र नीतिगत छलफलमा थप योगदान पुग्ने अपेक्षा गरेको छ ।