नयाँ कक्षा, नयाँ किताबको सुगन्ध
२०५४ सालमा काठमाडौं छिर्नेबित्तिकै नयाँ सडकको आरएनएसी भवनअघि पुराना किताब र म्यागाजिनहरू बेच्न राखेको देख्दा मलाई मेरै गाउँको स्कुले समय याद आएको थियो । स्कुल पढ्दा हामी बाध्यताले अघिल्ला छाँवलका दाइदिदीहरूले पढेका पुराना किताब किनेर पढ्थ्यौं । किताब हात परेपछि सफा गर्ने, दोब्रिएका पाना सोझ्याउने, सक्कली गाता च्यातिएका भए टाल्ने वा सिलाउने गर्थ्यौं । पुराना किताब भएपनि जतनले नयाँ गाता हालेर स्नेहले स्याहारेर छातीमा टाँसेर झोलामा राख्थ्यौं । यता सहरतिर पनि पुराना किताब किन्ने मानिस हुँदा रहेछन् । गाउँतिर त कहिलेकाहीँ पैसा हुँदा पनि नयाँ किताब पढ्ने भाग्य हुन्थेन । चाहिएको बेला नयाँ किताब पाइँदैन थियो । तर, अधिकांश पैसा नहुने बाध्यताले नै यस्तो गरिन्थ्यो । सहरतिर पनि नयाँ किताब पाइँदैन रहेछ कि नयाँ किताब किन्न नसक्ने मानिस यता पनि हुँदा रहेछन् ? पुराना किताब सुम्सुम्याउँदै नयाँ सडकको पेटीमा मेरो मनमा प्रश्नहरू तेर्सिएका थिए । गाउँमा पुस्तक पसल हुँदैन थिए । स्कुले किताब किन्न तीन/चार घण्टा पैदल हिँडेर राजापुर पुग्नु पर्दथ्यो । त्यहाँ भनेको बेला किताब पाउन सजिलो थिएन । कहिले पाइन्थ्यो, कहिले उति टाढा पुगी खाली हात फर्किनु पर्दथ्यो । एकातिर यो झमेला थियो भने अर्कोतर्फ रुपैयाँको सकस । २०४० देखि २०५० साल आसपासको समयमा गाउँमा ५/१० रुपैयाँको पनि ठूलो महत्त्व हुन्थ्यो । गाउँमा सबैजसोले खेतीकिसानी गर्ने भएकाले खानेबस्ने पीर हुन्थेन । तर, नगद आम्दानीका स्रोत नहुनाले लाउने कपडा र अरू सहरबाट किनमेल गर्नुपर्ने कुराको जोरजाम ठूलो कष्टका साथ गर्नुपर्ने अवस्था हुन्थ्यो । कापी, कलम र किताबमा नगद खर्च गर्न अभिभावकहरूलाई गाह्रो हुन्थ्यो । त्यसैले आसपासका गाउँसम्मै आफूले पढ्ने किताब पाइएसम्म पुरानै किनेर पढ्ने चलन थियो । यसबाट टाढा किताब खोज्न जानुपर्ने झन्झट पनि हुँदैन थियो अनि नयाँ किताबमा लाग्ने जति रुपैयाँ खर्च पनि हुँदैन थियो । तीन/चार वर्ष पढेर नफाट्दासम्म पुराना किताब किनबेच हुन्थ्यो । आफूले पनि नयाँ किनिहाले अर्को वर्ष यसैगरी बेच्थ्यौं । एक कक्षा तलमाथिका दाइदिदी हुने घरमा त काइदा हुन्थ्यो । नयाँ कक्षा चढ्दाको रौनक नै छुट्टै हुन्थ्यो । नयाँ किताब पाएको केही दिन त हर्षले भुइँमा खुट्टो हुन्थेन । किताब हात परेपछि सबभन्दा पहिले अनौठो सुवास नाकमा पस्थ्यो । किताबलाई निकै जतनका साथ गाता लगाएर राख्थ्यौं । नयाँ किताब पाएको खुसी र त्यसको निख्खर अनि छापाखानाको छुट्टै गन्धले किताबप्रति झन् बढी स्नेह जोडिएजस्तो हुन्थ्यो । प्रसिद्ध अमेरिकी लेखिका ऐड्रिएना त्रैजियेनीले ‘मेरो लागि त किताबको गन्ध पनि प्रिय छ’ भने झैं हामीलाई पनि त्यो गन्ध निकै प्रिय लाग्थ्यो । अनि किताबलाई बडो जतनले राख्न कम्ती ध्यान लगाउँथ्यौं हामीले । खेतमा हाल्न ल्याएका यूरिया, डिएपी लेखेका रासायनिक मलका बोराभित्र बाक्लो सेतो प्लास्टिक हुन्थ्यो । मल खोलेर प्रयोग भैसकेपछि भित्रका प्लास्टिक धोएर सफा बनाएर स्याहारेर राख्थ्यौं । मललाई पानी र हावाबाट जोगाउन सिल गरिएको बोरा भित्रको त्यस्तो प्लास्टिक किताबको गाता हाल्न खास्साको हुन्थ्यो । बाक्लो हुनाले बलियो र पानीबाट जोगाउन मज्जाको हुन्थ्यो । यसको गाता लाएर सियोले सिइन्थ्यो । अहिलेजस्तो स्टिच गाउँमा कताबाट पाउनु ? सियोले सिलाउँदा झन् बलियो हुन्थ्यो किताबको गाता । यस्तो गाता लाएका किताब पानीबाट बचाउन पनि सजिलो हुन्थ्यो । स्कुलबाट फर्किँदा बाटोमा पानीले छोप्यो भने किताबलाई भुइँतिर फर्काएर बोक्दा सकेसम्म पानी तर्काएर बचाउन सकिन्थ्यो । अर्को वर्ष राम्रो मोल पाइयोस् भनेर वर्षभरि जतनले सफासँग पढ्न ध्यान दिइन्थ्यो । फटालेका वा केरमेट गरेका किताब बिक्न गाह्रो हुन्थ्यो भने मोल पनि कम आउँथ्यो । त्यसैले सफा किताव राख्नेको चर्चा हुन्थ्यो – ‘फलानाका किताब कस्ता सफा, नयाँ जस्ता हुन्छन् ।’ यसरी पुराना किताबसँग पनि मीठा यादका साथ हुर्किएकाले काठमाडौंमा सडकमै पुराना किताब बेच्न राखेको देख्दा अनौठो मात्र होइन, विगतको सम्झनासमेत ताजा गराएको थियो त्यो क्षणले । यसपालि छोरीले एसईई सकेर ए लेभल पढ्ने तय भयो । सेन्ट जेभियर कलेजमा भर्ना भएपछि पुस्तक किन्नु पर्ने भयो । अधिकांश किताब पाइने एकता बुक्सबाट ह्वाट्सएपमा मूल्यसूची मगाएँ । ओह...एउटा पुस्तकको मूल्य नै ७ हजार रुपैयाँभन्दा बढी हुँदो रहेछ । छोरीले कजेलमै पुराना किताब किनबेच गर्ने डिजिटल प्लेटफर्म भएको पत्ता पाएकी रहिछन् । लिंक खोजेर पठाइदिइन् । त्यो लिंक पछ्याउँदै गोकर्णेश्वर, ढुंगेधाराको एक घरमा पुगेँ । जहाँ अघिल्लो वर्षमात्र यही कलेजबाट ए लेभल सकेका विद्यार्थी असिम कोइरालाको पढ्ने कोठाबाट ए लेभल बुक्स स्टोर चलेको रहेछ । उनी फोन उठाउनसमेत भ्याइन-भ्याइको अवस्थामा देखिए । म पुग्नुअघि एक जोडी अभिभावक मोलमोलाई गरिरहेका थिए। उनका घरका बाबा, बहिनी आदि परिवार पनि उनलाई बेच्न आउनेको किताब रिसिभ गर्न, किन्न आउनेलाई लोकेशन दिन व्यस्त थिए । मैले छानेर पाएसम्म सफा र नफाटेका किताब किनेर फर्किएँ । ७५ सय पर्ने किताब प्रयोग भैसकेकोले ४ हजार ५ सय रुपैयाँमा पाइयो । ‘सफा र जतनका साथ राख्दा फेरि अर्को वर्ष पनि यो किताब मजाले बिक्छ अंकल,’ हिँड्ने बेला उनले भने । प्रयोग भएका किताब बेच्न उनले गज्जबको वेबसाइट बनाएका रहेछन् । अनि सोसल साइटहरूमा पनि मज्जाको उपस्थिति बनाएका रहेछन् । यस वर्षमात्रै २ सयभन्दा बढी विद्यार्थीलाई ५ सय बढी किताब बेचेको र यसबाट झण्डै १९ लाख बढीको कारोबार भएको उनले बताए । हाम्रा पालामा पुराना किताब खोज्न बुवाहरू पल्लो गाउँसम्म पुग्थे । अहिले अनलाइनले सजिलै जोडिदियो । प्रयोग भैसकेका पुराना किताब एक सिजनमा झण्डै २० लाख रुपैयाँको बिक्री हुनु आफैमा अपत्यारिलो जस्तो काम हो । यसरी एउटा सानो आइडियाले सयौं अभिभावकलाई राहत पुगेको छ भने लाखौं रुपैयाँ विदेशिनबाट जोगिएको छ । अनि पैसा कमाउन, काम गर्न उमेर वा अवस्थाले नभइ सोचले अर्थ राख्छ भन्ने उदाहरण पनि छर्लङ्ग देखिएको छ । क्याम्ब्रिज विश्वविद्यालय, बेलायतको कोर्षका यी नयाँ किताब किन्न साह्रै महँगो भएको, पैसा पनि विदेश जाने भएकाले प्रयोगमा आउन सक्ने अवस्थासम्म किताव ओहोरदोहोर हुनु आफैमा गजबको काम हो । यस्तो काम एउटा विद्यार्थीले सुरु गर्नु झन् प्रशंसनीय हो । पुराना किताब किन्दा सस्तो पर्ने हुँदा अभिभावकलाई पनि राहत हुने नै भयो । धेरै विद्यार्थी र अभिभावकसँग नेटवर्क बनेपछि अब ट्युसन पढाउने सोच बनाएको कोइराला बताउँछन् । एक महिना जति त बिहान ६ बजेदेखि बेलुका ९/१० बजेसम्म अस्तव्यस्त भएको सम्झँदै भिन्नभिन्न पृष्ठभूमिका मानिस भेट्दा नौलो अनुभूति भएको उनले सुनाए । हामीलाई बाटोमा पर्ने खोलामा बाढी आएका बेला किताब जोगाउन जुक्ति निकाल्नु पर्दथ्यो । खोला तर्दा टाउकोमा किताब र कपडा बोकेर हुत्तिएर छातीसम्म आउने पानी नाघ्नु पर्दथ्यो । आकाशे पानी पर्दा चाहिँ केराका पातले टाउको र किताब जोगाउने जुगाड गर्दथ्यौं । नयाँ हुन् कि पुराना, मायाले सँगालेका किताब रुझ्दा रुवाबासी हुन्थ्यो । अलि पुराना किताब भए त झन् पानीले भिज्दा गलाउँथ्यो । गाउँको त्यो हाल थियो, यता सहरमा छोरीको उस्तै हाल छ । अधिकांश कलेजले विद्यार्थी बोक्ने सशुल्क गाडी राखेका हुन्छन् । छोरी पढ्ने सेन्ट जेभियर्सको सोच चाहिँ बच्चाहरू सार्वजनिक यातायातमा आफै आउनेजाने गरुन् र बाहिरी संसार बुझ्न थालून् भन्ने रहेछ । त्यसैले छोरी माइक्रोबस चढेर आऊजाऊ गर्छिन् । पब्लिक बस स्कुलसम्मै पुग्ने कुरा भएन । आकाशबाट गाग्री घोप्ट्याए झैं गरी पानी ओइरिएका बेला त उनको बेहाल भएको देख्छु । स्कुलदेखि बस चढ्ने ठाउँसम्म हिँडेर झण्डै साढे एक किलोमिटर पार गर्दा झिजेर निथु्रक्कै हुन्छिन् । अनि पानी परेका बेला ट्राफिक अस्तव्यस्त बनेर समयमा गाडी पाइँदैन । अनि कुरेर लामै समय सडकमा उभिँदा छाता भए पनि झोलाको किताब जोगाउन हम्मे हुने रहेछ । हुन त यसभन्दा धेरै दुःखका बीच अध्ययन गरिरहेका हजारौं बाबुनानीहरू छन् । तर, गाउँका ती दुःख र सहरका यी दुःखका पृष्ठभूमि र अवस्था फरक भए पनि अनुभवका पुलिन्दा उस्तै हुन् । पुरानो किताबको सम्झना भनेको बाल्यकालका दिन, कागजी सुवास र पुराना पानाहरूको ताजा स्मरण जस्तो रहेछ । सम्झिल्याउँदा पुरानै समयमा लिएर जाने । यसले पुरानो स्कुलको झोला, साथीहरू र ती दिनका शिक्षकहरूलाई पनि यादमा ल्याउँदो रहेछ ।
महिला नेतृत्वमा पुग्ने गरी नीतिगत लगानी
भर्खरै नेपाल राष्ट्र बैंकले दुई वटा महिलामैत्री निर्णय गर्यो । पहिलो, राष्ट्र बैंकले आफ्नै कर्मचारी सेवा विनियमावलीमा पाँचौँ संशोधन गरेर प्रसूति बिदासम्बन्धी प्रगतिशील प्रावधानहरू समावेश गर्यो । दोस्रो, समग्र बैंकिङ क्षेत्रका लागि नमूना विनियमावली जारी गर्न सुझाव सङ्कलनका लागि असारको पहिलो साता वेबसाइटमार्फत ‘मस्यौदा कर्मचारी विनियमावली’ सार्वजनिक गर्यो, जसको उद्देश्य यस्तै महिलामैत्री प्रावधानलाई समेत नमूना विनियमावलीमा समावेश गरी सबै बैंकिङ क्षेत्रमा लागू गर्न सकियोस् भन्ने हो । नेपाल राष्ट्र बैंकमा साविकको व्यवस्थाअनुसार महिला कर्मचारीले सेवा अवधिमा दुई पटकसम्म मात्र प्रसूति बिदा पाउने व्यवस्था थियो । यस्तो बिदा उपभोग गर्न सात महिनाभन्दा बढी अवधिको बच्चाको जन्म हुनुपर्ने प्रावधान थियो । संशोधित व्यवस्थाअनुसार अब महिला कर्मचारीले बच्चा जन्माउने सङ्ख्याका आधारमा मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार गुमाउनुपर्ने छैन । यति मात्र होइन, विशेषज्ञ चिकित्सकको राय सिफारिस र अस्पतालको कागजातका आधारमा तीन महिनाभन्दा बढी र पाँच महिनाभन्दा कम अवधिको मृत शिशु जन्मिएमा वा गर्भपतन भएमा दुई हप्ता आराम गर्ने बिदा पाउनेछन् । पाँच महिनाभन्दा बढी र सात महिनाभन्दा कम अवधिको शिशु मृत जन्मिएमा वा गर्भपतन भएमा छ हप्ता प्रसूति बिदा स्वरूप आराम गर्न बिदा पाइनेछ । साथै, सात महिना वा सोभन्दा बढी अवधिको गर्भ रहेको महिला कर्मचारीको शिशुको जन्म (मृत वा गर्भपतन समेत) भएमा उनीहरूले पूरा अवधि प्रसूति बिदा पाउने छन् । यो व्यवस्थाले महिला कर्मचारीको सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यको अधिकारसँगै सुखी परिवारको चाहनालाई समेत आत्मसात गरेको छ । नयाँ व्यवस्थाअनुसार महिला कर्मचारीले सुत्केरी हुनुअघि वा पछि गरी कुल ९८ दिन तलबभत्ता सहितको प्रसूति बिदा पाउनेछन् । साथै, आफ्नो इच्छाअनुसार कुनै पनि बिदाबाट कट्टा नहुने गरी थप छ महिनासम्म बेतलबी प्रसूति बिदा लिन सक्नेछन् । यो व्यवस्था श्रम ऐन, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसम्बन्धी कानुन र सो सम्बन्धमा सर्वोच्च अदालतबाट भएको आदेशको भावना समेतलाई आत्मसात गर्दै महिला कर्मचारीको आत्मबल बढाउन गरिएको नीतिगत पहल हो । अन्तर्राष्ट्रिय अनुभवले पनि देखाउँछ कि महिलाको नेतृत्व विकासमा सबैभन्दा ठूलो चुनौती जागिर पाउनु मात्र होइन, करिअरको उत्प्रेरणात्मक निरन्तरता हो । गर्भावस्था, सुत्केरी अवस्था र शिशु स्याहारको प्रारम्भिक चरणमा धेरै महिला पेसागत रूपले पछाडि पर्न सक्छन् । परिवारमैत्री नीति भएका संस्थाले भने प्रतिभा संरक्षण गर्न, कर्मचारीको सन्तुष्टि बढाउन र नेतृत्व तहसम्म महिलाको पहुँच विस्तार गर्न सफलता हासिल गरेका छन् । यही कारणले विश्वका कतिपय केन्द्रीय बैंक तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले नेतृत्व विकास कार्यक्रम, मार्गदर्शन प्रणाली, उत्तराधिकार योजना र मातृत्वमैत्री नीतिलाई विशेष प्राथमिकता दिएका छन् । नेपाल राष्ट्र बैंकले प्रसूति बिदासम्बन्धी सुधारमार्फत महिला कर्मचारीलाई केवल सुविधा मात्र प्रदान गरेको छैन, भावी महिला नेतृत्वमा सघाउ पुग्ने गरी लगानीसमेत गरेको छ । यस्तो नीति दीर्घकालमा महिला प्रतिभालाई संस्थामा टिकाइराख्न, उनीहरूको पेसागत विकासलाई निरन्तरता दिन र नेतृत्व तहमा पहुँच विस्तार गर्न प्रभावकारी आधार बन्न सक्ने देखिन्छ । राष्ट्र बैंकमा महिलाको उपस्थिति २०८३ असार मसान्तको आँकडाअनुसार नेपाल राष्ट्र बैंकमा १ हजार १६६ जना कर्मचारी कार्यरत छन् । तीमध्ये ३४७ जना अर्थात् करिब ३० प्रतिशत महिला कर्मचारी छन् । अधिकृतस्तरका ७०२ जना कर्मचारीमध्ये १९८ जना अर्थात् करिब २८ प्रतिशत महिला छन् भने सहायकस्तरका ४६४ जनामध्ये १४९ जना अर्थात् ३२ प्रतिशत महिला छन् । समग्र रूपमा हेर्दा महिलाको प्रतिनिधित्व पुरुषको तुलनामा कमै भए तापनि सार्वजनिक क्षेत्रका धेरै संस्थाको तुलनामा भने यो अवस्थालाई उत्साहजनक मान्न सकिन्छ । नेपाल राष्ट्र बैंकमा महिला सहभागिताको सबैभन्दा महत्वपूर्ण पक्ष उमेरगत संरचनामा देखिन्छ । बैंकमा २५ वर्षभन्दा कम उमेर समूहका २८ जना कर्मचारी छन्, जसमध्ये ८ जना (२९ प्रतिशत) महिला छन् । यसै गरी, २५ देखि ३५ वर्ष उमेर समूहका ४१२ जना कर्मचारीमध्ये महिलाको सहभागिता ४५ प्रतिशत पुगेको छ । यसको अर्थ केन्द्रीय बैंकमा पछिल्ला वर्षहरूमा महिलाको प्रवेश उल्लेख्य मात्रामा बढेको छ । बैंकमा ३५ देखि ५० वर्ष उमेर समूहका कुल कर्मचारी सङ्ख्या ४७२ रहेकोमा महिलाको हिस्सा करिब २५ प्रतिशत र ५० वर्षभन्दा माथिको उमेर समूहका २६९ जनामध्ये १३ प्रतिशत मात्र महिलाको उपस्थिति रहेको छ । यसले विगतमा महिलाको प्रवेश सीमित भए पनि पछिल्लो समयमा यो अवसर विस्तार हुँदै गएको स्पष्ट सङ्केत गर्दछ । मानव संसाधन व्यवस्थापनको भाषामा यसलाई बलियो ‘नेतृत्व पाइपलाइन’ मानिन्छ । आजका युवा महिला कर्मचारीहरू नै भविष्यका निर्देशक, कार्यकारी निर्देशक तथा उच्च नेतृत्व वर्ग हुन् । राष्ट्र बैंकमा श्रेणीगत विश्लेषण गर्दा अधिकृत तृतीय श्रेणीतर्फ महिलाको उल्लेख्य उपस्थिति देखिन्छ । सो श्रेणीमा कार्यरत ४०५ कर्मचारीमध्ये महिलाको सङ्ख्या १४८ हुनु भनेको भविष्यको नेतृत्व विकासका लागि सकारात्मक आधार हो । अधिकृत प्रथम श्रेणी (निर्देशक)मा कार्यरत कुल सङ्ख्या ५९ मध्ये १४ महिला र अधिकृत द्वितीय (उप–निर्देशक) मा २०४ मध्ये ३२ महिला छन् । अधिकृत विशिष्ट श्रेणीमा हाल महिला कर्मचारी नभए पनि विगतमा महिला डेपुटी गभर्नर रहिसकेको इतिहास र निकट भविष्यमै कार्यकारी निर्देशकमा महिला कर्मचारीकै पदोन्नति हुने सम्भावनाले शीर्ष नेतृत्वमा महिलाको पहुँच क्रमशः विस्तार भइरहेको देखिन्छ । नेपाल राष्ट्र बैंकको अर्को उल्लेखनीय पक्ष भनेको उच्च शैक्षिक योग्यता हो । बैंकका अधिकृतस्तरका कुल कर्मचारीमध्ये करिब ९५ प्रतिशतले कम्तीमा स्नातकोत्तर गरेका छन् । त्यसमा महिला कर्मचारीको शैक्षिक अवस्था अझ सबल देखिन्छ। अधिकृत प्रथममा कार्यरत सबै महिला स्नातकोत्तर छन् भने अधिकृत द्वितीयतर्फ एमफिलसम्मको उपाधि हासिल गरेका महिला कर्मचारी छन् । अधिकृत तृतीयमा १४० महिला स्नातकोत्तर छन् । यसले महिला कर्मचारीको नेतृत्व विकासमा आवश्यक बौद्धिक र प्राविधिक क्षमता पर्याप्त मात्रामा रहेको पुष्टि गर्दछ । त्यसैले नेतृत्व तहमा महिलाको प्रतिनिधित्व कम हुनुको कारण योग्यता वा क्षमता नभई अवसर, करिअर निरन्तरता र नेतृत्व विकाससँग सम्बन्धित पक्षहरू हुन सक्छन् । भौगोलिक प्रतिनिधित्वका आधारमा नेपाल राष्ट्र बैंकमा सातवटै प्रदेशबाट महिलाको उपस्थिति रहेको छ । जसमध्ये बागमती प्रदेशबाट महिलाको सहभागिता तुलनात्मक रूपमा उच्च देखिन्छ । यो प्रदेशबाट राष्ट्र बैंकमा जम्मा ३८० जना कर्मचारीले प्रतिनिधित्व गर्छन्, जसमा ३२.२ प्रतिशत महिला छन् । कोशी प्रदेशका २२७ कर्मचारीमध्ये महिला ६२ जना अर्थात् १९.२ प्रतिशत छन् । लुम्बिनीबाट १६५ मध्ये महिला ४४ जना अर्थात् करिब १४ प्रतिशत, गण्डकीका १४३ मध्ये महिला ४६ जना अर्थात् करिब १२ प्रतिशत, मधेश प्रदेशबाट १५५ कर्मचारीमध्ये महिला ३५ जना अर्थात् करिब १३ प्रतिशत, सुदूरपश्चिम प्रदेशबाट जम्मा ८७ जना रहेकोमा महिला १३ अर्थात् ७.४ प्रतिशत र कर्णाली प्रदेशबाट २४ जनाको प्रतिनिधित्व रहेकोमा दुई प्रतिशत मात्र महिला छन् । तथ्याङ्कले मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट महिलाको सहभागिता अझ बढाउन सकिने सम्भावना रहेको देखाउँछ । यसले क्षेत्रीय विविधता र समावेशितालाई अझ सुदृढ बनाउन सकिने अवसर प्रदान गर्दछ । समग्रमा हेर्दा नेपाल राष्ट्र बैंकमा महिलाको उपस्थिति सङ्ख्यात्मक रूपमा सन्तोषजनक, शैक्षिक योग्यताको दृष्टिले सबल, उमेरगत संरचनाका आधारमा आशाजनक र नेतृत्व विकासको कोणबाट सम्भावनायुक्त देखिन्छ । बैंक तथा वित्तीय संस्थामा महिला प्रतिनिधित्व नेपालमा चार वर्गका बैंक तथा वित्तीय संस्थामा करिब ७८ हजार जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् । बैंकिङ क्षेत्रमा महिलाहरूको उपस्थिति भने करिब ४१ प्रतिशत छ, जसलाई उल्लेख्य मान्न सकिन्छ । निक्षेप, कर्जा लगानी तथा वासलातको आकारमा वाणिज्य बैंकहरूको करिब ८० प्रतिशत हिस्सा रहे तापनि रोजगारीमा भने बाणिज्य बैंकहरूले करिब ५८ प्रतिशत अंश मात्र ओगटेका छन् । लघुवित्त संस्थामा करिब २२ हजार अर्थात् समग्र बैंकिङ क्षेत्रको करिब २८ प्रतिशतले रोजगारी पाएका छन् । एउटा रोचक तथ्य के छ भने सबै वर्गका बैंक तथा वित्तीय संस्थाका कुल कर्मचारी सङ्ख्यामा ४० देखि ४१ प्रतिशत महिला कर्मचारी छन् भने कुल कर्मचारी सङ्ख्याको करिब २८ प्रतिशत अधिकृतस्तरमा कार्यरत छन् । विशेषतः लघुवित्त क्षेत्रमा महिला कर्मचारीको उल्लेख्य उपस्थिति रहेको छ, यो क्षेत्रले वित्तीय पहुँच विस्तार, ग्रामीण अर्थतन्त्रको सशक्तीकरण र महिलाको आर्थिक/सामाजिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्याएको छ । समग्रतामा हेर्दा नेपालको बैंकिङ क्षेत्र महिला सहभागिताका दृष्टिले क्रमशः थप समावेशी बन्दै गएको देखिन्छ । अबको चुनौती महिला सहभागितालाई केवल सङ्ख्यात्मक उपस्थितिमा सीमित नराखी व्यवस्थापकीय र नेतृत्व तहमा समेत समान रूपमा विस्तार गर्नु हो, जसले बैंकिङ क्षेत्रको सुशासन, नवप्रवर्तन, क्षमता र दिगो विकासलाई अझ सुदृढ बनाउनेछ । नेपाल राष्ट्र बैंकको कर्मचारी विनियमावलीमा हालै गरिएको प्रसूति बिदा सम्बन्धी सुधारले वित्तीय क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गर्न सकिन्छ । आशा गरौँ हालसालै सुझावका लागि माग गरिएको बैंक तथा वित्तीय संस्थाको ‘नमूना कर्मचारी सेवा विनियमावली’मा यो विषय समावेश गर्न यथेष्ट सुझावहरू प्राप्त हुनेछन् । निष्कर्ष अबको प्राथमिकता संस्थामा महिलाको उपस्थिति थप बढाउनुसँगै उनीहरूलाई नेतृत्व तहसम्म पुर्याउने, उत्तराधिकार योजनालाई सुदृढ गर्ने र समावेशी संस्थागत संस्कृतिलाई थप बलियो बनाउनेतर्फ हुनुपर्छ । यद्यपि, महिला नेतृत्व विकासको यात्रा संस्थागत सुधारबाट मात्र पूर्ण हुँदैन । महिलाहरू स्वयंले पनि आफ्नो क्षमता, आत्मविश्वास, व्यावसायिक उत्कृष्टता र नेतृत्वप्रतिको प्रतिबद्धतालाई अझ सुदृढ बनाउँदै लैजान आवश्यक छ । नेतृत्व कुनै लैङ्गिक विशेषाधिकार होइन । यो ज्ञान, क्षमता, इमानदारिता, निर्णय क्षमता, परिणाममुखी कार्यशैली र जिम्मेवारी बहन गर्ने इच्छाशक्तिको समष्टिगत अवस्था पनि हो । त्यसैले नेतृत्वको अवसर प्राप्त हुँदा महिलाहरूले आफूलाई सक्षम नेतृत्वका रूपमा स्थापित गर्ने आत्मविश्वासका साथ अघि बढ्नुपर्छ । सामाजिक परिवेशका कारण कहिलेकाहीँ विकसित हुने अनेकन धारणा, अनावश्यक सङ्कोच वा चुनौतीपूर्ण जिम्मेवारीबाट पछि हट्ने प्रवृत्तिलाई क्रमशः पछाडि पार्दै ‘‘डिमान्ड–साइड रेडिनेस’ लाई पनि समान रूपमा सुदृढ बनाउन आवश्यक छ । प्रदेश स्तरका कार्यालयको नेतृत्व सम्हाल्ने कुरा होस् वा विभागीय प्रमुखका जिम्मेवारीसम्म पुग्ने स्पष्ट आकांक्षा, निरन्तर क्षमता विकास र परिणाममुखी कार्यसम्पादन नै महिला नेतृत्वको दिगो आधार बन्न सक्छ । जब संस्थाले अवसर सिर्जना गर्छ र महिलाले ती अवसरलाई आत्मविश्वास, दक्षता र नेतृत्वदायी दृष्टिकोणका साथ ग्रहण गर्छन्, तब मात्र वास्तविक समानता र समावेशी नेतृत्वको लक्ष्य सार्थक रूपमा हासिल गर्न सकिन्छ । (पौडेल नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक हुन् । नेपाल राष्ट्र बैंक समाचार मासिकको साउन अङ्कबाट साभार)
हराएको एउटा तस्बिर, बाँचेको एउटा स्मृति
समय यस्तो थियो, जतिबेला घरमा कम्युनिस्ट आन्दोलनका संस्थापक नेता पुष्पलाल श्रेष्ठको एउटा सानो तस्बिर राख्नु पनि अपराधसरह मानिन्थ्यो । आजका पुस्तालाई त्यो कुरा अविश्वसनीय लाग्न सक्छ । तर पञ्चायती व्यवस्थाको त्यो कालखण्डमा पुष्पलालको नाम लिनु, उनको विचारबारे खुलेर बोल्नु वा घरमा उनको तस्बिर राख्नु मात्र पनि राज्यको निगरानीमा पर्न पर्याप्त कारण हुन्थ्यो । प्रहरीको सोधपुछ, निगरानी, यातना र सामाजिक ताडना त्यतिबेला असामान्य होइन, सामान्यजस्तै थियो । राज्यको डर यति धेरै थियो कि पुष्पलालको मृत्यु भएपछि पनि उनको अस्थि नेपाल ल्याउन प्रतिबन्ध लगाइएको थियो । एउटा विचारसँग यति धेरै त्रसित थियो त्यो व्यवस्था कि मृत्युपछि पनि उसले एउटा नेताको अस्तित्वसँग लडिरह्यो । तर विचारहरू प्रतिबन्धले मर्दैनन् । तस्बिर लुकाउन सकिन्छ । पुस्तकहरू जफत गर्न सकिन्छ । मानिसहरूलाई जेल हाल्न सकिन्छ तर स्मृतिलाई कैद गर्न सकिँदैन । साउन ७ गते नेपाली कम्युनिस्ट आन्दोलनका प्रणेता पुष्पलाल श्रेष्ठको ४८औं स्मृति दिवस हो । हरेक वर्ष साउन ७ आउँदा मेरो मनमा भने एउटा फरक स्मृति जाग्छ । एउटा यस्तो घटना जसले पुष्पलाललाई मात्र होइन, मेरो आफ्नै बाल्यकाललाई पनि सधैंका लागि बाँधेर राखेको छ । सम्भवतः त्यो २०४४ सालको साउन ७ थियो । त्यतिबेला म ९ वर्षको थिएँ । विद्यालयमा बर्खेबिदा थियो । हाम्रो गाउँको जीवन अहिलेको जस्तो सहज थिएन । बिहान घाँस काट्ने, दिउँसो गाईबाख्रा चराउन जंगल जाने, बेलुका घरको काममा सघाउने यही हाम्रो दिनचर्या थियो । बाल्यकालका खेल, साथीभाइ र प्रकृतिको सान्निध्यबीच जीवन सरल थियो, तर गाउँको राजनीतिक वातावरण भने असाध्यै जटिल थियो । त्यो दिन घरमा बुबा हुनुहुन्थेन । अहिले सम्झँदा लाग्छ, उहाँ कतै भूमिगत शैलीमा आफ्ना श्रद्धेय नेता पुष्पलालको स्मृति दिवस मनाउन जानुभएको हुनुपर्छ । गाउँका अन्य कमरेडहरूसँग गोप्य रूपमा कार्यक्रम भइरहेको हुनुपर्छ । त्यतिबेला खुला रूपमा स्मृति सभा गर्ने अवस्था थिएन । सबै कुरा लुकाएर, विश्वासपात्र मानिसबीच मात्र कार्यक्रम आयोजना हुन्थ्यो । घरमा हजुरआमा हुनुहुन्थ्यो । त्यही बेला एक जना कमरेड घरमा आउनुभयो । उहाँले हजुरआमासँग पुष्पलालको तस्बिर माग्नु भयो । तर उहाँले कुन पुष्पलाल भनेर स्पष्ट गर्नुभएन । हजुरआमाले पनि थप केही सोध्नुभएन । उहाँलाई थाहा थियो घरमा एउटा पुष्पलाल त म नै थिएँ । त्यसैले उहाँले खुरुक्क मेरो तस्बिर निकालेर ती कमरेडलाई दिनुभएछ । उहाँहरूले खोजेको त नेता पुष्पलाल श्रेष्ठको तस्बिर थियो । तर हातमा परेको थियो एउटा सानो बालक पुष्पलालको तस्बिर । नेता पुष्पलालको तस्बिर घरको कतै सुरक्षित ठाउँमा लुकाएर राखिएको थियो । सम्भवतः त्यो कहाँ छ भन्ने कुरा बुबाबाहेक घरका अरूलाई पनि थाहा थिएन । किनभने त्यतिबेला एउटा तस्बिर सुरक्षित राख्नु पनि डरलाग्दो अवस्था थियो । प्रहरीले घर खानतलासी गर्न सक्छ भन्ने डर सधैँ रहन्थ्यो । अझ हाम्रो त नेताको घर जिल्लामा कतै केही भए पहिलोपटक हाम्रै घर खानतलासीमा पर्दथ्यो । त्यसैले कमरेडले नेताको तस्बिर मागे, हजुरआमाले बालकको तस्बिर दिनुभयो । कति सरल थियो त्यो भ्रम । तर त्यही सरलताले एउटा जीवनभरि सम्झिने स्मृति बनाइदियो । त्यो बालक म थिएँ । त्यो बालक जसले आफ्नो नामसँगै पुष्पलाल पढ्दै हुर्किरहेको थियो । जसले अक्षर चिन्न थालेदेखि नै घरमा भएका पुष्पलालसम्बन्धी पुस्तक पल्टाउन खोज्थ्यो । सबै कुरा बुझ्दैनथ्यो, तर पढ्न खोज्थ्यो । नेताको तस्बिर हेरेर मोहित हुन्थ्यो । विचारको गहिराइ थाहा थिएन, तर घरको वातावरणले पुष्पलालप्रति एउटा सम्मान मनमा बसिसकेको थियो । सायद त्यसैले मेरो बाल्यकालको स्मृतिमा पुष्पलाल एउटा राजनीतिक नेता मात्र होइन, घरको सदस्यजस्तै हुनुहुन्थ्यो । कमरेड मेरो तस्बिर लिएर कार्यक्रमतर्फ लाग्नुभयो । तर त्यो कार्यक्रम पूरा हुन पाएन । पञ्चायती प्रहरीले कार्यक्रमको सूचना पाएछ । अचानक प्रहरी पुगेछ । कार्यक्रम बिथोलियो । सहभागीहरू भागाभाग भए । कोही खेततिर दौडिए, कोही जंगल पसे, कोही खोल्सामा लुके । त्यही भागदौडमा मेरो तस्बिर पनि हरायो । प्रहरीले जफत गर्यो कि भाग्ने क्रममा कतै झर्यो, आजसम्म कसैलाई थाहा छैन । तर हराएको केवल एउटा कागजको फोटो थिएन । त्यो मेरो जीवनको पहिलो तस्बिर थियो । त्यतिबेला गाउँमा फोटो खिच्नु आफैमा ठूलो कुरा थियो । अहिले जस्तो मोबाइल थिएनन्, क्यामेरा थिएनन् । एउटा तस्बिर खिच्न वर्षौं कुर्नुपर्ने अवस्था थियो । गाउँमा अमेरिकी पिस कोर कार्यक्रममार्फत आएका मिस्टर माइकलले त्यो तस्बिर खिचिदिनुभएको थियो । टोपी, कमिज र सुरुवाल लगाएको स्यामस्वेत फोटो । सानो उमेरको निष्कपट अनुहार । त्यो मेरो पहिलो परिचय थियो, जसलाई मैले आफ्नै आँखाले धेरैपटक हेरेको थिएँ । तर त्यो तस्बिर पनि अन्ततः पुष्पलालको स्मृतिमा हरायो । त्यो दिनपछि मैले त्यो फोटो कहिल्यै हेर्न पाइनँ । समय बित्दै गयो । पञ्चायत ढल्यो । बहुदलीय व्यवस्था आयो । लोकतन्त्र आयो । गणतन्त्र आयो । आज त पुष्पलालको तस्बिर खुला रूपमा कार्यालयमा झुन्ड्याइन्छ । मञ्चमा राखिन्छ । फूलमाला अर्पण गरिन्छ । जुन तस्बिर कुनै बेला लुकाएर राख्नुपथ्र्याे, आज त्यही तस्बिर सार्वजनिक सम्मानको प्रतीक बनेको छ । समयले धेरै कुरा बदल्यो । तर मेरो एउटा स्मृति भने बदलिएको छैन । हरेक साउन ७ आउँदा म अनायास त्यही हराएको तस्बिर सम्झिन्छु । मलाई लाग्छ, त्यो तस्बिर कतै पुरानो किताबको बीचमा अझै बाँचेको होला । कुनै पुरानो झोलामा थन्किएको होला । कुनै कमरेडको पुरानो सन्दुकमा सुरक्षित होला वा सायद त्यो भागदौडमै माटोमा पुरियो होला अनि समयसँगै कुहियो होला । तर सम्झना भने अझै हराएको छैन । कहिलेकाहीँ लाग्छ, त्यो तस्बिर भेटिए कस्तो हुन्थ्यो ? त्यो बालकलाई फेरि एकपटक हेर्न पाउँदा कस्तो अनुभूति हुन्थ्यो ? त्यो त केवल मेरो बाल्यकालको तस्वीर मात्र नभई एउटा युगको दस्तावेज हुने थियो । एउटा यस्तो समयको प्रमाण, जहाँ एउटा नेताको नाम, एउटा तस्बिर र एउटा विचारसँग जोडिनु नै जोखिम थियो । आजका पुस्ताले सायद कल्पना पनि गर्न सक्दैनन् कुनै समय एउटा फोटोले पनि राजनीतिक अर्थ बोकेको हुन्थ्यो । एउटा तस्वीरका कारण मानिसहरू पक्राउ पर्थे । एउटा पुस्तकका कारण प्रहरीको निगरानीमा पर्नुपर्थ्यो । एउटा स्मृति दिवस मनाउन पनि जंगल, खोल्सा र गोप्य स्थान रोज्नुपर्थ्यो । तर त्यही समयका मानिसहरूले लोकतन्त्रका लागि मूल्य चुकाए । उनीहरूले आफ्ना सपना, कहिलेकाहीँ आफ्ना निजी स्मृतिहरू पनि गुमाए । मैले पनि त्यही समयमा आफ्नो जीवनको पहिलो तस्बिर गुमाएँ । सायद त्यो इतिहासको दृष्टिले ठूलो घटना होइन । देशको राजनीतिक परिवर्तनमा त्यसको कुनै प्रत्यक्ष योगदान पनि छैन । तर मेरो व्यक्तिगत इतिहासमा त्यो सबैभन्दा ठूलो गुमाई हो । त्यसैले पुष्पलालको स्मृति दिवस मेरा लागि केवल एउटा राजनीतिक दिवस होइन । यो एउटा व्यक्तिगत सम्झनाको दिन पनि हो । एउटा यस्तो दिन, जसले मलाई हरेक वर्ष सम्झाइरहन्छ । विचारका लागि लडिएका संघर्षहरूले केवल शासन परिवर्तन मात्र गर्दैनन् । तिनले हजारौं मानिसका निजी जीवनमा पनि कहिल्यै नमेटिने कथा छोडेर जान्छन् । आज ३९ वर्षभन्दा बढी समय बितिसकेको छ । म अझै पनि कहिलेकाहीँ त्यो श्यामश्वेत तस्बिरको खोजी गर्छु । भेटिने आशा धेरै छैन । तर सम्झनाको संसारमा त्यो तस्बिर अझै जीवित छ । पुष्पलालका हरेक स्मृति दिवसमा म मेरा श्रद्धेय नेताप्रति श्रद्धाञ्जली अर्पण मात्र गर्दिन, आफ्नै बाल्यकालको त्यो हराएको तस्बिरलाई पनि सम्झन्छु । किनकि त्यो तस्बिर हराए पनि त्यसले बोकेको समय, संघर्ष र स्मृति आजसम्म हराएको छैन । बरु समयसँगै त्यो स्मृति अझ गाढा, अझ अर्थपूर्ण र अझ ऐतिहासिक बन्दै गएको छ ।