काठमाडौं । नेपाली बजारमा अत्यधिक रुचाइएको टाटा पन्च ईभी अब अझ शक्तिशाली र परिमार्जित भर्सनमा भित्रिएको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले नयाँ पन्च ईभी (४० किलोवाट) को मिडिया टेस्ट ड्राइभ आयोजना गर्दै यसका नयाँ विशेषताहरू सार्वजनिक गरेको हो ।
भक्तपुरको राधेराधेदेखि धुलिखेलको टेम्पल डर्टसम्म आयोजना गरिएको टेस्ट ड्राइभका क्रममा गाडीको अफ-रोड क्षमता, कम्फर्ट र ड्राइभिङ डाइनामिक्सको प्रदर्शन गरिएको थियो । सिप्रदी ट्रेडिङका प्यासेन्जर भेहिकल डिभिजनका जनरल म्यानेजर सावन्तजंग सिजापतिका अनुसार नयाँ पन्च ईभी पहिलाको तुलनामा धेरै फरक र शक्तिशाली छ ।

‘पहिलाको पन्च ईभी मुख्यतया सहर केन्द्रित (सिटी कार) थियो । तर अबको ४० किलोवाट ब्याट्री प्याकसहितको पन्चले हाइवेमा पनि उत्कृष्ट प्रदर्शन गर्नेछ,’ उनले भने ।
उनका अनुसार ३०० किलोमिटरभन्दा बढीको रेन्ज दिने भएकाले अब ग्राहकहरूले ढुक्कसँग एक सहरबाट अर्को सहरसम्म यात्रा गर्न सक्नेछन् ।
के-के छन् नयाँ विशेषता ?
पहिला २५ किलोवाटमा उपलब्ध पन्च ईभीमा अहिले ४० किलोवाटको ठुलो ब्याट्री प्याक राखिएकाे छ ।नेपाली सडकलाई सुहाउँदो १९५ एमएमको उच्च ग्राउण्ड क्लियरेन्स रहेको छ । ५-स्टार सेफ्टी रेटिङ प्राप्त यो गाडीमा ६ वटा एयरब्याग र ६० भन्दा बढी सुरक्षा फिचर्सहरू रहेका छन् ।
३६० डिग्री क्यामेरा, अपग्रेड गरिएको इन्फोटेनमेन्ट सिस्टम र फराकिलो क्याबिन स्पेसलगायत छन् । यसको आधिकारिक मूल्य र लन्चिङ आगामी नाइमा मोबिलिटी एक्स्पोमा गरिने सेजापतिले जानकारी दिए । ‘हामीले गाडीमा धेरै फिचर्स थपे पनि ग्राहकका लागि उचित मूल्य कायम गर्ने कोसिस गरेका छौं,’ उनले भने ।
साथै नाइमा एक्स्पोमा टाटाले पन्चबाहेक अर्को एउटा नयाँ मोडल पनि सार्वजनिक गर्ने बताएको छ । जसकाे बारेमा कम्पनीले केही पनि खुलाएकाे छैन ।
सिप्रदीले ईभी इको-सिस्टममा ठुलो लगानी गरेको छ । हाल देशभर २१ वटा ईभी केन्द्रित सर्भिस सेन्टर, ३८ वटा डीसी फास्ट चार्जर र १५० भन्दा बढी एसी चार्जरहरू सञ्चालनमा छन् । साथै प्रत्येक गाडीको खरिदमा घरमै निःशुल्क होम चार्जर जडान गरिदिने सुविधालाई पनि कम्पनीले निरन्तरता दिएको छ ।

नाइमा मोबिलिटी एक्स्पोमा बुकिङ गर्ने ग्राहकहरूका लागि विशेष मूल्य र इमिडिएट डेलिभरी अर्थात् तुरुन्तै गाडी उपलब्ध गराउने योजनासहित टाटाले आफ्नो उपस्थिति बलियो बनाउने तयारी गरेको छ ।
