बाढी प्रभावितका लागि बीएलसी ग्लोबल होल्डिङ्सको ३ करोड ३६ लाख सहयोग

काठमाडौं । बीएलसी ग्लोबल होल्डिङ्ससँग आबद्ध संस्थाहरूले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्निर्माणका लागि सरकारलाई ३ करोड ३६ लाख ७० हजार रुपैयाँ सहयोग गरेका छन् । होल्डिङ्ससँग आबद्ध नर्भिक इन्टरनेशनल हस्पिटल, बीएलसी ग्लोबल लजिस्टिक र नेपाल डिस्टिलरीजलगायत संस्थाको तर्फबाट उक्त रकम सहयोग गरिएको हो । बुधबार होल्डिङ्सका सहअध्यक्ष तथा नर्भिकका निर्देशक मेघा चौधरी, नर्भिकका अध्यक्ष राजेन्द्रबहादुर सिंह, सीईओ अजयकुमार मिश्र तथा नेपाल डिस्टिलरीजका शरद टिबरेवालले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर सहयोग रकमको चेक हस्तान्तरण गरे । चेक हस्तान्तरण गर्दै मेघा चौधरीले विपद्को अवस्थामा सरकारले सञ्चालन गर्ने राहत तथा पुनर्निर्माणका काममा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोडभन्दा बढी रकम सहयोग गरिएको बताइन् । उनले सहयोग रकम ठूलो नभए पनि बाढी प्रभावित परिवारको पुनर्वासमा प्रभावकारी रूपमा प्रयोग हुने विश्वास व्यक्त गरिन् । उनले अहिलेको विषम परिस्थितिमा होल्डिङ्ससँग आबद्ध सबै संस्था सरकारसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताइन् । उद्धार, राहत तथा पुनःस्थापनामा खटिएका संघसंस्था तथा व्यक्तिप्रति उनले सम्मानसमेत व्यक्त गरिन् । बीएलसी ग्लोबल होल्डिङ्सले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । होल्डिङ्सका संस्थापक बसन्त चौधरीले गत शनिबार नै बाढी प्रभावितको उद्धार तथा पुनःस्थापनाका लागि ३ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए । सोही घोषणाअनुसार होल्डिङ्ससँग आबद्ध विभिन्न संस्थामार्फत कुल ३ करोड ३६ लाख ७० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको हो ।

बाढी प्रभावित क्षेत्रमा रोग फैलिने जोखिम उच्च

काठमाडौं । उत्तर–पूर्वी सीमावर्ती तिब्बत क्षेत्रबाट भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित हिमाली तथा पहाडी भेगमा दोस्रो ठूलो विपद्का रूपमा स्वास्थ्य सङ्कट देखिने खतरा बढेको छ ।  बाढीका कारण ठूलो संख्यामा जनधनको क्षति हुनुका साथै मृत मानव शव र पशुचौपायाहरू कुहिन थालेपछि समुदायस्तरमै महामारी फैलिने उच्च जोखिम सिर्जना भएको हो ।  परिस्थिति गम्भीर बनेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सम्भावित जोखिम न्यूनीकरणका लागि आफ्ना सबै मातहतका निकाय तथा महाशाखाहरूलाई परिचालन गरेको छ ।   स्वास्थ्य अधिकारीहरूका अनुसार बाढी प्रभावित क्षेत्रमा पानीका मुहानहरू तीव्र रूपमा प्रदूषित बनेका छन् । दूषित पानी र वातावरणमा फैलिएको दुर्गन्धका कारण झाडापखाला, हैजा, हेपाटाइटिस ‘ए’ जस्ता पानीजन्य रोगका साथै फोहोर र जमेको पानीबाट लामखुट्टेको वंशवृद्धि भई डेंगु र औलो जस्ता कीटजन्य रोग फैलिने खतरा बढेको छ ।   बाढी प्रभावित क्षेत्रमा आकस्मिक तथा अन्य स्वास्थ्य सेवाको मन्त्रालयबाटै समन्वय गरिरहेका डा. समीरकुमार अधिकारीले अबको मुख्य चुनौती भनेको विस्थापितहरूको स्वास्थ्य सुरक्षा, पोषण, खोप, खानेपानी र मनोसामाजिक परामर्श रहेको बताए । ‘बाढीका कारण धेरै नागरिक विस्थापित भएका छन्,’ डा. अधिकारीले भने, ‘उनीहरूमध्ये धेरैले उच्च रक्तचाप, मधुमेहजस्ता दीर्घ रोगको नियमित औषधि सेवन गरिरहेका हुन सक्छन् ।’ ‘यस्तो अवस्थामा उनीहरूको नियमित स्वास्थ्य सेवा र औषधिको निरन्तरतामा ध्यान दिनु आवश्यक छ । यसका साथै सर्वस्व गुमाएका प्रभावितहरूका लागि यतिबेला मनोसामाजिक परामर्श अति अत्यावश्यक छ, जसका लागि हामीले मन्त्रालयका सबै संयन्त्रलाई द्रुत गतिमा खटाएका छौं,’ उनले भने ।  सङ्क्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले पनि बाढीपछि समय बित्दै जाँदा शवहरू कुहिएर ब्याक्टेरिया तथा भाइरसको सङ्क्रमण फैलिने जोखिम झनै बढ्ने चेतावनी दिएका छन् ।  बाढीबाट जोगिएका र शिविरहरूमा बसेका नागरिकहरूलाई सुरक्षित खानपान र सफा पानीको व्यवस्थापन गर्नु राज्यको पहिलो दायित्व हुने डा. पुनको भनाइ छ ।  रसुवाको लिङलिङमा सेना र ट्रमा सेन्टरको संयुक्त टोली   उद्धार र उपचारलाई चुस्त बनाउन नेपाली सेना र राष्ट्रिय ट्रमा सेन्टरको संयुक्त चिकित्सकीय टोली दुर्गम प्रभावित क्षेत्रसम्म पुगेको छ ।  नेपाली सेनाका क्याप्टेन डा. कुलदिप त्रिपाठीको नेतृत्वमा राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ चिकित्सकहरू डा. सरोजकुमार गोहिवार र डा. राजीव खड्का सम्मिलित टोली रसुवाको गोसाईंकुण्ड गाउँपालिका–३ स्थित लिङलिङ पुगेर बिरामीको उपचारमा जुटिसकेको छ । टोलीले हालसम्म ५० भन्दा बढी स्थानीय नागरिकको प्रत्यक्ष उपचार गरिसकेको छ । उपचारमा खटिएका डा. सरोजकुमार गोहिवारका अनुसार स्थानीय तहमा झाडापखालाका प्रारम्भिक बिरामीहरू देखिन थालेका छन् ।  ‘विपद्को ठूलो झट्काका कारण धेरैजसो स्थानीयमा डर र त्रास पैदा भई ‘पोस्ट ट्रम्याटिक स्ट्रेस डिसअर्डर’ अर्थात् गम्भीर मानसिक आघातको समस्या पाइएको छ,’ डा. गोहिवारले भने । यसैगरी, उच्च रक्तचाप, मधुमेह र हाडजोर्नी दुख्ने पुराना बिरामीहरू औषधि अभावका कारण थप समस्यामा परेका छन् । बाढीका कारण विद्युत् सेवा अवरुद्ध हुँदा सञ्चार सम्पर्कका लागि मोबाइल चार्ज गर्ने सुविधा, खाद्यान्न र नियमित औषधिको चर्को अभाव खड्किएको छ । स्वास्थ्य जोगाउन सावधानी अपनाउन अपिल बाढीपछि महामारीको जोखिमबाट जोगिन स्वास्थ्य मन्त्रालय र विशेषज्ञहरूले प्रभावित क्षेत्रका नागरिकलाई व्यक्तिगत र वातावरणीय सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेका छन् ।  उमालेको वा पीयूष/क्लोरिन हालेर शुद्धीकरण गरिएको पानी मात्र पिउने,  बाढीको दूषित पानीको सम्पर्कमा आएको वा बासी–कुहिएको खाना पूर्ण रूपमा बर्जित गर्ने, खाना खानुअघि, बालबालिकालाई खवाउनुअघि र शौचालय प्रयोग गरेपछि साबुनपानीले अनिवार्य हात धुने, घर र अस्थायी शिविर वरपर पानी जम्न नदिने, बालबालिकालाई बाढीको धमिलो पानी र फोहोर ठाउँमा खेल्न नदिनेजस्ता उपाय अपनाउन आग्रह गरेका हुन् । स्वास्थ्य मन्त्रालयले प्रभावित क्षेत्रमा कुनै पनि व्यक्तिमा झाडापखाला, उच्च ज्वरो वा हैजा जस्ता लक्षण देखिएमा तुरुन्त नजिकैको स्वास्थ्य चौकी वा खटिएका चिकित्सकसँग सम्पर्क गर्नसमेत भनेको छ ।  साथै स्वास्थ्यसम्बन्धी कुनै पनि जानकारी, परामर्श वा आपत्कालीन सहयोगका लागि सरकारको निःशुल्क हेल्पलाइन १११५ मा २४ सै घण्टा सम्पर्क गर्न सकिने जनाइएको छ ।

बाढीपछि बालबालिकामा रोगको जोखिम बढ्यो, स्वच्छ पानीको अभाव

काठमाडौं । भोटेकोशीमा बुधबार आएको विनाशकारी बाढीपछि विस्थापित बालबालिकामा पानीजन्य तथा अन्य संक्रामक रोगको जोखिम बढेको सेभ द चिल्ड्रेनले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा खानेपानीका स्रोतहरू फोहोर तथा भग्नावशेषका कारण दूषित हुनुका साथै सार्वजनिक आश्रयस्थलमा अत्यधिक भीडभाड भएपछि बालबालिकाको स्वास्थ्यमा थप जोखिम देखिएको संस्थाले जनाएको हो । सेभ द चिल्ड्रेनका अनुसार कुहिएका मानव तथा पशुका शव, अव्यवस्थित फोहोर र जमेको पानीका कारण झाडापखाला तथा छालासम्बन्धी संक्रमण फैलिने जोखिम बढेको छ । केही बालबालिकामा खोकी, ज्वरो तथा श्वासप्रश्वाससम्बन्धी संक्रमण देखिएको संस्थाले जनाएको छ । बाढी प्रभावित रासुवा तथा नुवाकोटका विभिन्न क्षेत्रमा परिवारहरू सुरक्षित स्थानमा पुगे पनि स्वच्छ खानेपानी र सरसफाइको पर्याप्त व्यवस्था हुन सकेको छैन ।  वर्षा जारी रहँदा थप बाढी तथा पहिरोको जोखिमसमेत कायम रहेको छ । जमेको पानीका कारण डेंगु फैलाउने लामखुट्टेको प्रजननस्थल बढ्न सक्ने भन्दै बालबालिकामा लामखुट्टेबाट सर्ने रोगको जोखिमसमेत रहेको विज्ञले बताएका छन । सेभ द चिल्ड्रेन नेपालकी कन्ट्री डाइरेक्टर तारा छेत्रीले बाढीको तत्कालीन खतरा कम हुँदै गए पनि अर्को स्वास्थ्य संकटको जोखिम बढिरहेको बताइन् । ‘भीडभाड भएका स्थान, दूषित पानी, कमजोर सरसफाइ र स्वास्थ्य सेवामा सीमित पहुँचले रोगको प्रकोप फैलिन सक्ने अवस्था सिर्जना गरेको छ,’ उनले भनिन् ।  उनका अनुसार अस्थायी आश्रयस्थल तथा होल्डिङ सेन्टरमा बालबालिकाहरू खोकी र अन्य स्वास्थ्य समस्या लिएर पुगिरहेका छन् ।  कतिपय स्थानमा आवश्यक औषधिसमेत उपलब्ध नहुँदा ग्रामीण तथा सम्पर्कविहीन क्षेत्रमा अवस्था अझ गम्भीर हुन सक्ने उनको भनाइ छ ।