काठमाडौं । नेपाली बजारमा आइतबार पनि सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार एकैदिन तोलामा १२ हजार ६०० रुपैयाँले घटेको सुनको मूल्य आइतबार थप १ हजार ५०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला २ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँ रहेको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार प्रतितोला ३ हजार ७०० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १०० रुपैयाँले घटेर ३ हजार ६०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस ३ हजार ८७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।