दीपावलीमा स्वदेशी फूल र माला बिक्रीका लागि काठमाडौं महानगरले तोक्यो ३३ स्थान

काठमाडौं । दीपावली पर्वलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाले स्वदेशी फूल तथा माला बिक्री वितरणका लागि महानगर क्षेत्रभित्र ३३ स्थान तोकेको छ । नेपाली किसानले उत्पादन गरेका फूल र मालाको बिक्रीलाई प्रोत्साहन गर्ने उद्देश्यले महानगरले व्यवसायी तथा सर्वसाधारणका लागि बिक्रीस्थल निर्धारण गरेको हो ।

महानगरपालिकाले दीपावलीका अवसरमा प्लास्टिकजन्य फूल, माला तथा सजावटका सामग्री बिक्री वितरण नगर्न आग्रह गरेको छ । स्वदेशी फूल र मालाको बिक्रीलाई प्राथमिकता दिन व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई अनुरोध गर्दै महानगरले सूचनाको अवज्ञा गरी प्लास्टिकजन्य वा गुणस्तर कायम नभएका फूल, माला तथा सजावटका सामग्री बिक्री गरेको पाइएमा जफत गर्ने चेतावनीसमेत दिएको छ ।

महानगर प्रहरी बलले सरोकारवाला निकायसँग समन्वय गरी नेपाली किसानले उत्पादन गरेका फूल तथा माला बिक्री गर्न विभिन्न स्थान तोकेको जनाएको छ ।

नयाँ बानेश्वरस्थित एनबी सेन्टर र आइप्लेक्स मल, शंखमुलस्थित बिगमार्ट, मध्य बानेश्वरस्थित सेल्सबेरी, बत्तीसपुतलीस्थित फोनेक्स टावर, तीनकुने चौर, सिफल चौर, चाबहिल, स्वयम्भू, कालीमाटी, कलंकी, नयाँ बजार र माछापोखरी क्षेत्रमा बिक्रीस्थल तोकिएका छन् ।

त्यस्तै, हाँडीगाउँ, सामाखुशी, महाराजगञ्ज, गोंगबु, बालुवाटार, कमलादी, पुतलीसडक, अनामनगर, टेबहाल, सुन्धारा, न्यूप्लाजा, लगन, जैसिदेवल र भृकुटीमण्डपलगायतका स्थानमा पनि फूल तथा माला बिक्री गर्न सकिने व्यवस्था गरिएको छ ।

महानगरले केही बिक्रीस्थलका लागि सम्पर्क व्यक्ति र फोन नम्बरसमेत सार्वजनिक गरेको छ । नयाँ बानेश्वरको एनबी सेन्टरका लागि आकृति श्रेष्ठ, शंखमुलको बिगमार्टका लागि विपिन रावल, आइप्लेक्स मलका लागि शिशिरकुमार पोखरेल, मध्य बानेश्वरको सेल्सबेरीका लागि सपना सिजापती र बत्तीसपुतलीको फोनेक्स टावरका लागि सुरज थापालाई सम्पर्क व्यक्ति तोकिएको छ ।

त्यस्तै, चाबहिलको एसी कम्प्लेक्सका लागि गोविन्दराज गिरी, गणेशस्थान तरकारी बजारका लागि अज्जन श्रेष्ठ र केएल टावरअगाडिका लागि चेतना गुरुङलाई सम्पर्क गर्न सकिने महानगरले जनाएको छ । अन्य बिक्रीस्थलका लागि पनि महानगरले सम्पर्क व्यक्ति तथा फोन नम्बर उपलब्ध गराएको छ ।

null

Share News