भिजन लुम्बिनीले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौं । भिजन लुम्बिनी लिमिटेडले सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

यससम्बन्धी सम्झौतापत्रमा भिजन लुम्बिनीका अध्यक्ष जगतबहादुर पोखरेल र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

कम्पनीले जारी पुँजीको २० प्रतिशत अर्थात् १२ लाख ५० हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कम्पनीले कुल १२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्नेछ ।

भिजन लुम्बिनी नेपालको लगानी क्षेत्रको विकास र विस्तारमा सक्रिय सार्वजनिक लगानीमूलक कम्पनी हो । कम्पनीले ऊर्जा, यातायात, सञ्चार, कृषि, पर्यटन, सूचना प्रविधि तथा खनिज उत्खननलगायतका क्षेत्रमा लगानीका अवसर पहिचान, अध्ययन र प्रवर्द्धन गर्दै आएको छ ।

कम्पनीले विशेषगरी जलविद्युत् तथा नवीकरणीय ऊर्जा, कृषि र अन्य उत्पादनशील क्षेत्रमा लगानी गर्दै आएको जनाएको छ । स्वदेशी पुँजी र स्रोतसाधनको प्रभावकारी परिचालन गर्दै नयाँ लगानीका सम्भावना खोजी गर्ने तथा राष्ट्रिय अर्थतन्त्रलाई सबल बनाउने कम्पनीको लक्ष्य छ ।

आगामी दिनमा नयाँ तथा सम्भावनायुक्त परियोजनामा लगानी विस्तार गरी रोजगारी सिर्जना, राष्ट्रिय पुँजी निर्माण र नेपालको आर्थिक विकासमा योगदान पुर्याउने कम्पनीले जनाएको छ । 

Share News