शंखधर साख्वाको परोपकारी भावनाबाट प्रेरित लोककल्याणकारी राज्य निर्माणमा जुट्नुपर्छ: कार्यवाहक प्रमुख डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शंखधर साख्वाको परोपकारी भावनालाई आत्मसात गर्दै नागरिक केन्द्रित लोककल्याणकारी राज्य निर्माणमा जुट्नुपर्ने बताएकी छन् । मंगलबार नेपाल संवत् ११४७ को अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

नेपाल संवतका प्रवर्तक शंखधर साख्वालाई केवल नेपाल संवतका संस्थापकका रूपमा मात्रै लिन नहुने उनले बताइन् । समाजप्रतिको उत्तरदायित्व र परोपकारका प्रतीकका रूपमा साख्वालाई स्मरण गर्नुपर्ने उनको भनाइ छ । 

व्यक्तिगत सम्पती र सुखसुविधा आर्जन गर्नुभन्दा समाजको हित, नागरिकको दुःख निवारण र सकारात्मक परिवर्तनका लागि योगदान गर्नु नै व्यक्तिको वास्तविक महानता भएको उनले बताइन् । राज्य कर संकलन र प्रशासन सञ्चालन गर्ने संयन्त्रमा मात्र सिमित हुन नहुने उनको भनाई छ । 

उनले विपन्न, सीमान्तकृत, पिछडिएका तथा दुःखमा परेका नागरिकको हित सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व भएको बताइन् । उनकाअनुसार लोककल्याणकारी राज्यको केन्द्रमा आम नागरिक हुनुपर्छ । स्वास्थ्य, शिक्षा, न्याय र सामाजिक अधिकार सुनिश्चित गर्न नागरिकमैत्री नीति, कानुन तथा कार्यक्रम आवश्यक रहेको उनले बताए । 

उनले भने, ‘नेपाल संवतममा हामीले शंखधर साख्वालाई सम्झिनै पर्छ । शंखधर साख्वा नेपाल संवतको संस्थापककर्ता मात्र होइन, उहाँ प्रवर्धक मात्र होइन, उहाँलाई समाजप्रतिको उत्तरदायी र परोपकारको प्रतीकको रुपमा हामीले लिनुपर्दछ । व्यक्ति कति सुखी छ, कति सम्पति छ भन्ने भन्दा समाज, जनताको हितका लागि काम गर्नुपर्छ, दुःख निवारणको निवारणका लागि काम गर्नुपर्छ । कोही पनि व्यक्तिको महानता भनेको कति कमायौं हामीले जिन्दगीमा भन्दा पनि हामीले समाजमा कति दिन सक्यौं, समाजको परिवर्तनका लागि समाजमा सकारात्मक परिवर्तन ल्याउन हामीले के योगदान गर्न सक्यौं भन्ने कुरामा मापन हुनुपर्दछ । ’

काठमाडौं महानगरपालिकाले नागरिकको सहजताका लागि स्वास्थ्य र न्याय क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उनले बताइन् । उनकाअनुसार महानगरले ‘बाइक एम्बुलेन्स’ सेवा, निःशुल्क कानूनी सहायता कार्यक्रम, झिलिमिली सहर बनाउने अभियान लगायतका कार्यक्रम संचालन गरिएको छ । 

उनले तिहारसम्म अँध्यारा स्थानमा सडकबत्ती जडान गर्ने लक्ष्यसहित टेन्डर प्रक्रिया अघि बढाइएपनि प्राविधिक कारणले यसपटक प्रक्रिया पूरा हुन नसकेको बताइन् । आगामी दिनमा भिलिमिली अभियानलाई निरन्तरता दिने उनले बताइन् । उनले महानगरपालिकाले श्री गणेश र श्री भैरवको निवास निर्माण गर्ने घोषणा समेत गराइन् ।

उनकाअनुसार निवास निर्माण कार्यका लागि मंसिर ५ गते पूजाआजासहित शिलान्यास गर्ने तयारी गरिएको छ । जीवित देवी कुमारीसँगै जीवित देवता श्री गणेश र श्री भैरवको पनि एकै स्थानमा निवास हुनुपर्ने स्थानीय समुदायको लामो समयदेखिको मागलाई सम्बोधन गर्दै महानगरले निर्माण प्रक्रिया अघि बढाएको उनले जानकारी दिए । 

Share News