रसुवा । भदौ १० गते बिहान समृद्धि न्यौपाने सधैंझैं तरकारी किन्न त्रिशूली किनारको बजार पुगेकी थिइन् । तरकारी किन्दाकिन्दै प्रहरीको सूचना उनको कानमा पर्यो- बाढी आउँदैछ, सुरक्षित स्थानतर्फ जानूहोस् ।
सूचना सुन्नेबित्तिकै उनी घरतर्फ दौडिइन् । घर पुग्न नपाउँदै उनले आफ्नै आँखाअगाडि त्रिशूलीको बाढी घरनजिकैको बिजुलीको पोलसमेत नाघेर उर्लिरहेको देखिन् । दृश्य भयावह थियो । ज्यान जोगाउन माथितिर भाग्नुपर्ने अवस्था थियो । तर, समृद्धिको मनले भाग्न मानेन ।
किनकि उनको ९ महिनाको छोरा घरभित्रै मस्त निदाइरहेको थियो । आमाको मनले छोरालाई छाडेर सुरक्षित ठाउँ खोज्न सकेन । बाढी घरनजिकै आइपुगिसकेको थियो । जोखिम मोलेर उनी घरभित्र पसेर छोरालाई खोज्न थालिन् ।
‘आमाको मन बच्चालाई नजोगाई आफू सुरक्षित स्थानतर्फ जान मानेन । घरमा छोरा सुतिरहेको थियो । बाढी नजिकै आए पनि कुद्दै गएर झुल च्यातेरै उसलाई निकालें । बिना कपडा च्यापेर उकालोतिर भागें,’ उनले त्यो दिन सम्झिँदै भनिन् ।
त्यो दिन उनले छोरा त जोगाइन्, तर घर, खेतबारी र वर्षौंको सम्पत्ति जोगाउन सकिनन् ।
समृद्धि न्यौपाने ।
‘सम्पत्तिको नाममा ज्यानबाहेक केही छैन’
अहिले २० वर्षीया समृद्धिको चार सदस्यीय परिवार बाढीबाट जोगिएको एउटा घरमा भाडा तिरेर बसेको छ । बेत्रावती बजारदेखि करिब पाँच सय मिटरको दूरीमा रहेको त्यो घरले उनीहरूलाई तत्कालका लागि छानो दिएको छ । तर, मनले भने अझै सुरक्षित महसुस गर्न सकेको छैन ।
आकाशमा बादल मडारिन थाल्यो कि उनको मनमा फेरि भदौ १० गतेको दृश्य घुम्न थाल्छ । खोलाको आवाज केही ठूलो सुनियो वा आकाश गड्याङगुडुङ गर्यो भने पनि उनीहरू राति नै घर छाडेर माथितिर भाग्छन् ।
‘खोला अलिक बढी सुसाएको सुनियो, आकाश गड्याङगुडुङ भयो भने राति २-३ बजे पनि हामी यहाँबाट माथि-माथि भागिहाल्छौं । डर लागिराख्छ । सबै एकै ठाउँ जम्मा भएर रात बिताउँछौं,’ उनले भनिन् ।
बाढीअघि उनका श्रीमान् अटो चलाउँथे । समृद्धि बच्चा हुर्काउँदै घरखेतको काम गर्थिन् । दुवैको कमाइ र उत्पादनले चार सदस्यीय परिवारको गुजारा चलिरहेको थियो । घरनजिकैको खेतबारीमा अन्न र तरकारी फल्थ्यो । तर, अहिले त्यो सबै एकादेशको कथाजस्तै भएको छ ।
बाढीले घरखेत बगाएर बगर बनाइदिएपछि उनको परिवारसँग अब खेती गर्ने जमिनसमेत बाँकी छैन ।
‘घरखेत सबै बाढीले लग्यो । अब सम्पत्तिको नाममा ज्यानबाहेक केही बाँकी छैन,’ भारी स्वरमा उनले भनिन्, ‘श्रीमानले अहिले पनि अटो चलाइरहनुभएको छ । बस्ने ठाउँ छैन, पहिले जस्तो कमाइ छैन । घर बनाउने कसरी ?’
राहतमा पाएको कपडाले अहिले शरीर ढाकिएको छ । कसैले खाद्यान्न वा अन्य सामग्री दिए त्यसैबाट चुलो बल्छ । त्यसबाहेक तत्कालका लागि उनीहरूसँग अर्को आधार छैन ।
‘राहतमा पाएको सामानले जसोतसो गुजारा गरेका छाैं । यसरी कति दिन बस्ने ? सरकारले सबैभन्दा पहिले बास बस्ने ठाउँ बनाइदिए हुने हो । बनाइदिनुहुन्छ होला नि !,’ उनले आशा व्यक्त गरिन् । तर, त्यो आशाभित्र अन्याैल पनि उत्तिकै छ ।

मेसेजले जोगिएको ज्यान
उत्तरगया गाउँपालिका-५ बोगटीटारकी सुस्मा अधिकारीको कथा पनि समृद्धिको जस्तै बाढीको त्रास, क्षति र भविष्यको चिन्तासँग जोडिएको छ । उनको घर बेत्रावती बजारदेखि करिब पाँच सय मिटरको दूरीमा छ ।
भदौ १० गते बिहान उनी घरमा खाना बनाउने तयारीमा थिइन् । छोरीलाई बेत्रावती बजारमा रहेको मोर्डन ट्रिनिटी इङ्लिस स्कुलमा पुर्याएर उनी बजारमै रहेको एनएमबी लघुवित्तको कार्यालय पुगिन् ।
अफिस पुगेर कम्प्युटर खोलेकी मात्र थिइन्, छोरीको विद्यालयको ग्रुपमा मेसेज आयो– बाढी आउँदैछ, छोरी लिन आउनूहोस् ।
मेसेज पढेपछि उनको मनमा कार्यालयको कामभन्दा छोरीको चिन्ता ठूलो भयो । उनले कम्प्युटर बन्द गरिन् र छोरी लिन विद्यालयतर्फ लागिन् ।
‘छोरीको स्कुलबाट बाढी आउँदैछ, छोरी लिन आउनूस् भनेर मेसेज आयो । त्यसपछि कम्प्युटर बन्द गरेर छोरी लिन जाने सोचें,’ उनले भनिन् ।
त्यतिबेला कार्यालयमा उनीसहित तीनजना महिला कर्मचारी थिए । अन्य दुई जना भने गर्दै गरेको काम सकेर मात्रै निस्कने भन्दै कार्यालयमै बसे ।
बीचमा सुस्मा अधिकारी ।
‘उहाँहरू काम गर्दै हुनुहुन्थ्यो, निस्कन मान्नुभएन । मचाहिँ छोरी लिन गएँ,’ उनले भनिन् ।
छोरी लिएर घर फर्कंदा सुस्मा र उनकी छोरी बाढीको मुखबाट बालबाल जोगिए । तर, कार्यालयमा रहेका उनका दुई सहकर्मी भने त्यसपछि कहिल्यै फर्किएनन् ।
एक वर्षदेखि सँगै काम गरेका ती दुई सहकर्मीलाई बाढीले बेपत्ता बनायो । ‘छोरीको स्कुलको मेसेजले हामी त बच्यौं, तर साथीहरू बग्नुभयो,’ उनले भनिन् ।
बाढीले उनका सहकर्मी मात्र होइन, आमालाई समेत खोस्यो । उनकी आमा थ्री ए त्रिशूली जलविद्युत आयोजनामा कार्यरत थिइन् । आफूले समयमै सूचना नपाएको गुनासो पनि उनको छ ।
‘सरकारले यता म्यासेज पठाएको भन्ने सुनेँ, तर मेरोमा चाहिँ केही आएन,’ उनले भनिन् ।
‘गाउँलेले सुन्ने साइरन चाहियो’
बाढीले घर, आफन्त र सहकर्मी गुमाएपछि अब सुस्माको माग राहतमा मात्रै सीमित छैन । उनलाई आगामी दिनमा आउने सम्भावित विपत्तिबाट जोगिने भरपर्दो प्रणाली चाहिएको छ ।
अझै पानी पर्नेबित्तिकै उनीहरू राति घर छाडेर माथितिर भाग्छन् । दिनमा कामका लागि घरबाहिर पुगेका बेला विपत्तिको सूचना कसरी पाउने भन्ने चिन्ता पनि छ ।
‘पानी रोकिएको छैन । त्यसैमाथि फेरि बाढी आउँछ, के-के सुन्न परिराखेको छ । मध्यरातमा पानी पर्यो कि भागेका छौं । विपत्ति फेरि नआउला भन्न सकिँदैन,’ उनले भनिन् ।
मोबाइलमा पठाइएको सूचना मात्रै पर्याप्त नहुने उनको अनुभव छ ।
‘दिउँसो काम गर्न कता–कता पुग्छौं । सरकारले मेसेज पठायौं भनेर हामीले हेर्ने अवस्था हुँदैन,’ उनले भनिन्, ‘यहाँका नागरिकले जुनसुकै कुनामा काम गर्दा पनि सुन्नेगरी माथि डाँडामा साइरन तत्काल सरकारले राखिदिनुपर्छ ।’
सुस्माको घर खोलाबाट अलि उचाइमा रहेकाले तत्काल बसोबासको समस्या छैन । तर, सडक सञ्जाल टुटेका कारण खाद्यान्नको चिन्ता बढ्दै गएको छ ।
‘घर खोलादेखि अलिक उचाइमा रहेकाले बासका लागि समस्या छैन । खानेकुरा भने अभाव हुँदै गएको छ,’ उनले बताइन् ।

‘बास हुनेलाई रासनको चिन्ता, नहुनेको बिजोग’
सोही क्षेत्रकी रश्मी कार्की न्यौपानेको चिन्ता पनि अहिले परिवारको रासनपानी कसरी जुटाउने भन्नेमा केन्द्रित छ । उनले राहतका नाममा एक बोरा चामल र एक पोका नुन पाएकी छन् । तत्कालका लागि त्यसैले गुजारा चले पनि भोलिका दिनमा खाद्यान्नको समस्या बढ्ने उनको चिन्ता छ ।
‘राहत राखेको यहीँ नजिकैको नीलकण्ठ मावितिरका मान्छेले राहत अलिक पाउनुभएको छ । हामी अलिक टाढा भएकाले खासै पाएका छैनौं । पहिलोपटक पाएको अलिकति छ, त्यही खाइरहेका छौं,’ उनले भनिन् ।
स्वास्थ्योपचारमा भने तत्काल समस्या नभएको उनले बताइन् । ‘औषधीहरू पनि पाएका छौं । बच्चाहरूलाई पनि लिटो बनाउने पिठो पाइरहेका छौं,’ उनले भनिन् ।
रश्मी कार्की न्यौपाने ।
तर खाद्यान्न किनेरै खाने परिवार भएकाले सडक नखुलेसम्म दैनिक आवश्यकता कसरी पूरा गर्ने भन्ने चिन्ता भने कायमै छ । रश्मीलाई आफ्नै परिवारको भन्दा घर गुमाएका परिवारको अवस्था झन् पीडादायी लाग्छ ।
‘हामी बास हुनेलाई त रासनको मात्रै चिन्ता हो । नहुनेको बिजोग भएको छ । सरकारले तत्काल बासको व्यवस्था गरिदिनुपर्छ,’ उनले भनिन् ।
उत्तरगया गाउँपालिका छाडेर करिब २४ किलोमिटर यात्रा गरेपछि बाढीले प्रत्यक्ष क्षति नपुर्याएको रसुवाको सदरमुकाम धुञ्चे पुगिन्छ । तर, त्यहाँ पुग्दा पनि बाढी प्रभावितको गुनासो र चिन्ता उस्तै सुनिन्छ ।
असोज लागेसँगै धुञ्चे बजारमा स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल बढ्नुपर्ने हो । कैलाश मानसरोवर, गोसाइँकुण्ड, रुबी भ्याली र लाङ्टाङ भ्यालीलगायत गन्तव्यतर्फ जाने पर्यटक बोकेका साना सवारीले सडक भरिनुपर्ने हो । रसुवागढी नाकाबाट आवतजावत गर्ने मालवाहक सवारीको चाप पनि बढ्नुपर्ने समय हो ।
तर, अहिले धुञ्चेको दृश्य त्यसको ठीक विपरीत छ । होटल सुनसान छन्, सडकमा सवारीको चहलपहल छैन । बाढीका कारण सडक सञ्जाल टुटेपछि पर्यटक र व्यापार दुवै रोकिएका छन् । व्यवसायी आफैं राहतको प्रतीक्षामा छन् ।
लामा तामाङ ।
‘पकाउने ग्यास छैन । दाल-चामल पनि पसलमा भएको स्टक बेचेर सकिन लाग्यो । ल्याउन सडक छैन, चिन्ता छ । हामी आफैले राहत माग्नुपर्ने होला जस्तो भएको छ,’ स्थानीय लामा तामाङले भनिन् ।
उनका अनुसार ग्यासको आपूर्ति पनि नियमित छैन । स्थानीय तहले ढुवानीको व्यवस्था गरेपछि मात्रै केही समयका लागि ग्यास भित्रिएको थियो ।
बारीमा तरकारी छ, बेच्ने बजार छैन
धुञ्चेबाट करिब १४ किलोमिटर तल सानो भार्खुतर्फ पुग्दा त्रिशूली किनारमाथिको भिरालो पाखामा आफ्नो घरबारी देखाउँदै कृषक छिरिङ वाङ्बु तामाङ भेटिए । भदौ १० गते बिहान उनी त्यही बारीमा लगाएको खुर्सानीको गोडमेल गरिरहेका थिए ।
उनका अनुसार बिहान करिब ९ बजेर ६ मिनेट गएको थियो । एक्कासि ठूलो आवाज सुनियो । हेलिकप्टर उड्ने क्षेत्र भएकाले सुरुमा उनले हेलिकप्टरकै आवाज होला भन्ने ठाने । तर, आवाजसँगै जमिन थर्कियो । तुवाँलोसहित त्रिशूलीको असामान्य बहाव देखेपछि भने उनको मनमा चिसो पस्यो ।
‘बुढी स्याफ्रु गएको थियो । म बारीमा काम गरिरहेको बेला बिहान ९ बजेर ६ मिनेट जाँदा होला, ठूलो आवाजसित माथि-माथि कालो-कालो पानी दूध उम्लिएजस्तो आयो । जमिन पनि हल्लियो,’ उनले त्यो क्षण सम्झिए ।
छिरिङ वाङ्बु तामाङ ।
बाढी आएको महिनादिन बितिसक्दा पनि उनलाई अझै चक्कर लाग्न छाडेको छैन । ‘घुमाउँछ, लड्ला-लड्ला जस्तो हुन्छ,’ उनले भने, ‘अलिअलि सामान दिएका छन् । गाडी त चलेको छैन, त्यही खाएका छौं ।’
उनको परिवारले प्रत्यक्ष जनधनको क्षति बेहोर्नुपरेन । तर, बाढीले उनीहरूको गरिखाने बाटो भने खोसिदिएको छ ।
सानो भार्खुका अधिकांश परिवार नगदेबाली र पशुपालनमा निर्भर छन् । भिरालो जमिनमा खुर्सानी, इस्कुस, सिमी, बैगुनलगायत तरकारी फलाएर उनीहरू स्याफ्रुबेंसीमा बिक्री गर्थे । अहिले पनि गाउँका बारीमा तरकारी लटरम्म देखिन्छ । समस्या उत्पादनको होइन, बजारको हो ।
किनकि उनीहरूले उत्पादन बेच्ने स्याफ्रुबेंसी बजार नै बाढीले उजाड बनाइदिएको छ ।
‘यहाँ के-के तरकारी, कोदो फलाएर, बाख्रा, कुखुरा, बंगुर हुर्काएपछि स्याफ्रुमा लगेर बेच्ने हो । धुञ्चे यहाँबाट महँगो भाडा पर्छ । त्यही पनि लिन आउँदैनन् । हाम्रो बजार त्यता होइन, हामीलाई चिन्दैनन् । अब कहाँ बेच्ने खोइ ?’ तामाङले गुनासो गरे ।
गाउँको तल्लो भागबाट त्रिशूलीले जमिन कटान गरिरहेकाले पहिरो जाने हो कि भन्ने डर पनि उनलाई उत्तिकै छ ।
२५० घरको बजार, १२ घरमा ताला
सानो भार्खुबाट करिब एक किलोमिटर तल स्याफ्रुबेँसी बजार पुगिन्छ । कुनै समय बिहानको मिर्मिरेदेखि मध्यरातसम्म चहलपहल हुने यो बजार अहिले भग्नावशेषमा परिणत भएको छ ।
बाढीले बजारका २५० भन्दा बढी घर बगरमा परिणत गरिदिएको छ । माथिल्लो भागमा जोगिएका १२-१३ घरमा पनि अहिले ताला झुण्डिएका छन् । घर जोगिए पनि स्थानीयले त्यहाँ बस्न सुरक्षित ठानेका छैनन् । त्रासका कारण धेरैजसो काठमाडौं तथा अन्यत्र सरेका छन् ।
‘सक्ने जति त यहाँबाट काठमाडौं गइसके । हामी ४०-५० जना मात्रै स्कुलमा बसेका छौं । यहाँबाट कतै जान सकिँदैन । हामी त यहीँ बस्नैपर्ने हो,’ गोसाइँकुण्ड गाउँपालिका-५ स्याफ्रुबेंसीका कर्पुसोनाम तामाङले भने ।
कर्पुसोनाम तामाङ (बीचमा)।
उनको परिवारको पीडा झन् गहिरो छ । परिवारका दुई सदस्य-दिदी र नातिलाई बाढीले बगायो । उनीहरू स्याफ्रुबेंसी बजारमा रहेको बैंकमा काम गर्ने भएकाले भाग्ने अवसर नपाएको उनको भनाइ छ ।
कर्पुसोनाम, उनकी श्रीमती, दुई छोरा र दुई छोरी भने बजारमाथिको चौकीडाँडाबाट बाढी आएको देखेपछि भागेर ज्यान जोगाउन सफल भए । त्यसयता उनीहरूको रात विद्यालयमा बनाइएको होल्डिङ सेन्टरमा बितिरहेको छ ।
‘मेरो दिदी र नाती गुम्यो । उनीहरू स्याफ्रुबेंसी बजारमा रहेको बैंकमा काम गर्ने हुँदा भाग्न पाएनन् । हामी भने बजारमाथि चौकीडाँडामा बाढी आएको देखेपछि भागेर ज्यान जोगायौं । त्यसपछि स्कुलमै बसेका छौं,’ उनले बताए ।
दिनभर भने उनी घर पुग्छन् । घरमा पालेका कुखुरा र बंगुरलाई दाना हाल्छन् । तर, दाना पनि सकिन लागेको छ ।
‘पालेका जनावरलाई खान दिनैपर्यो । दाना पनि सकिन लागेको छ, ल्याउन समस्या छ । दिनभर यतै बसेर यिनीहरूको रेखदेख गर्छु । रात पर्न लागेपछि स्कुलमै जाने गरेको छु,’ उनले भने ।
आफ्ना पशुपन्छीको चिन्ता गरिरहेका कर्पु सोनामलाई आफ्नै परिवारको गासको भने ठेगान छैन । पालिकाले एकपटक राहत दिए पनि त्यसपछि कोही फर्केर नआएको उनको गुनासो छ ।
‘हाम्रो वडाध्यक्ष गयो । पालिकाले एकपटक राहत त बाँड्यो । त्यसपछि कोही पनि यहाँ फर्किएर आएको छैन । अरू केही पाएको पनि छैन । आफै पकाएर खाऊँ भने पनि ग्यास छैन,’ उनले भने ।
उनको माग अरू प्रभावितको जस्तै छ- पहिले सडक जोडियोस् ।’
क्षतिग्रस्त स्याफ्रुबेंसी बजार ।
‘सबै थियो, अब केही बाँकी रहेन’
कर्पुसोनामको घरमाथि लाङ्टाङ तामाङको घर थियो । बाढीले स्याफ्रुबेंसी बजारको रूप नै बदलिदिएपछि लाङ्टाङको स्मृतिमा अहिले पनि पुरानो बजारको चित्र ताजा छ ।
‘यो बजार धेरै व्यवस्थित थियो । पारिपट्टि लाङ्टाङ हाइड्रो पनि थियो । बाटो राम्रै थियो । एउटै होटलमा सय-डेढ सय पर्यटक अट्ने थिए । सिजनभरि भरिभराउ हुन्थ्यो । ती सबै बगे । साथी बगे । सबै बैंक, संघ-संस्था थिए,’ उनले लामो सुस्केरा हाल्दै भने ।
लाङ्टाङ बजारमा तरकारी र मासुको पसल चलाउँथे । राँगा, कुखुरा, खसी र बंगुरको मासु बिक्री गरेर परिवारको गुजारा चलाउँथे । बाढीले पसलसहित उनको व्यवसाय बगायो ।
‘मैले राँगा, कुखुरा, खसी, बंगुरको मासु बेच्थें । पसल बग्यो । यहाँका सबैको आफ्नो व्यवसाय थियो,’ उनले भने, ‘जवानहरू गाडी चलाउने, पठाओ चलाउने गरेर गुजारा गर्थे । ती सबै साथी गुमाउँदा बेहोसजस्तै भएको थिएँ । भर्खर होसमा फर्कंदै छु ।’
लाङ्टाङका अनुसार रसुवाका धेरै युवाका लागि चीनतर्फको केरुङ रोजगारीको महत्त्वपूर्ण गन्तव्य थियो । स्थानीयलाई सहजै केरुङसम्म आवतजावत गर्न दिइने भएकाले धेरै युवा त्यही क्षेत्रमा काम गर्थे । तर, अहिले सडक र बजारको संरचना भत्किएपछि त्यो अवसर पनि टुटेको उनको भनाइ छ ।
तर, उनको सबैभन्दा ठूलो चिन्ता आफूले गुमाएको व्यवसायभन्दा पनि बाढीमा आमाबुबा गुमाएर बाँचेका बालबालिकाप्रति छ ।
‘स्कुलमा भएका बच्चा बाचेका छन्, बुवाआमा छैनन् । तिनीहरूलाई कसरी शान्त पार्ने, कसरी पढाउने, कसले पाल्ने ? त्यही कुरा सबैभन्दा बढी दुःख लागेको छ,’ उनले भने ।
त्यसपछि केहीबेर रोकिएर उनले थपे, ‘सरकारले केही त गर्ला नि !’
परिवारका सदस्य गुमाएका केही प्रभावित दाहसंस्कार र किरियाका लागि काठमाडौं गएको उनले बताए । त्यहाँ पुग्न र दाहसंस्कार गर्नसमेत प्रभावितले आफै खर्च जुटाउनुपरेको उनको गुनासो छ ।
सरकारले हेलिकप्टरमार्फत उद्धार गरेकोमा धन्यवाद दिँदै उनले अब राहतभन्दा दीर्घकालीन पूर्वाधार आवश्यक रहेको बताए ।
‘यहाँ एउटा आमा बिरामी हुनुभयो, हेलिकप्टरबाट काठमाडौं लगिदियो । चामल, नुन, तेल पनि दिएको छ । अब हामीलाई राहतभन्दा पुल चाहिएको छ । सरकारलाई त्यही अनुरोध छ,’ उनले भने ।
बाढीले बगाएकाे बेत्रावती बजार ।
‘मान्छे बगे, सूचना आएन’
स्याफ्रुबेंसीमै चार दशकदेखि ‘घले स्टोर’ सञ्चालन गर्दै आएका लक्षिन घले पनि बाढीबाट जसोतसो ज्यान जोगाउनेमध्येका एक हुन् । उनको पसलमा खाद्यान्नदेखि दैनिक उपभोग्य किराना सामानसम्म पाइन्थ्यो ।
बाढी आएको बेला उनी पसलमै थिए । सुरुमा पहिरो आएको ठानेर उनी तल्लो क्षेत्रमा भागे । तर खोलाको सतह अस्वाभाविक रूपमा बढेको देखेपछि मात्रै बाढी आएको थाहा पाए । त्यसपछि उनी उचाइतर्फ भागे र ज्यान जोगाए । तर, घर र पसल भने जोगाउन सकेनन् ।
‘मान्छे त तीन भागमा दुई भाग बगायो । सूचना दिएको भन्छन्, हामीले त केही थाहा पाएनौं,’ उनले भने ।
अहिले त्रासका कारण स्थानीय होल्डिङ सेन्टरमा बसिरहेका छन् । तर, लामो समयसम्म त्यहाँ बस्न सम्भव नहुने उनको अनुमान छ ।
लक्षिन घले ।
‘अहिले त्रासमा मान्छे होल्डिङ सेन्टरमा बसे पनि केही समयपछि उनीहरू फर्किन्छन् होला,’ उनले भने ।
सरकारले प्रभावितको व्यवस्थापन गरिदिने आशा उनीसँग पनि छ । तर, अहिलेसम्म सरकारले आफूहरूलाई पुनर्वास वा दीर्घकालीन व्यवस्थापनबारे कुनै स्पष्ट आश्वासन नदिएको उनको गुनासो छ ।
‘सरकारले व्यवस्थापन मिलाइदिनुहुन्छ कि ? अहिलेसम्म त केही भनेको छैन । राहत त चामल, ओढ्ने-के-के दिएको छ,’ उनले भने ।
भदौ १० गतेको बाढीले रसुवाको भूगोल मात्रै बदलेन, यहाँका मानिसको जीवन, व्यवसाय र भविष्यको बाटोसमेत फेरिदियो । स्थानीयका लागि सडक खुलेपछि मात्रै बजार फर्कनेछ, व्यवसाय चल्नेछ र बारीमा फलेको तरकारीले फेरि मूल्य पाउनेछ । त्यसैले उनीहरूको अहिलेको सबैभन्दा ठूलो अपेक्षा राहतको पोकोभन्दा टुटेको सडक र पुल जोडिनु हो ।
अन्य पठनीय सामग्रीहरू :
आफ्नो पीडा भुलेर सामाजिक काममा सक्रिय वेदबहादुरको कथा
विवश छन् विद्यार्थी, सकसमा शिक्षक
सातामै १२ लाख कमाउँथे, ५ हजारमा झरे
बाढीपछि विद्यार्थीको छात्रावासमै आश्रय, महिनादिन बित्दा समेत सरकाले सुनेन विद्यालयको माग
६१ जनाको जीवन बचाउन अनुजाले देखाएको अदम्य साहस
बस्ने गाउँ छैन, भाग्ने ठाउँ छैन