विकास नायकको सम्मान
काठमाडौंको टुँडिखेलमा विश्वका धनाढ्य एलन मस्कका विचार सुन्ने र उनीसँग हात मिलाएर फोटो खिच्ने कार्यक्रम राख्ने हो भने त्यहाँ नेपालीहरू भरिभराउ हुन्छन्, एक हजार रुपैयाँ प्रवेश शुल्क राखिए पनि । यस्तो कार्यक्रममा सरकारले तीनवटै सुरक्षा निकाय परिचालन गरेर कडा सुरक्षाको प्रबन्ध गर्नेछ । तर, मस्कको स्टारलिङ्क कम्पनीलाई नेपालमा व्यवसाय गर्न सरकारले अनुमति दिएन । गत भदौ २४ गते जसरी शेखर गोल्छा, उपेन्द्र महतो, विनोद चौधरीलगायत व्यवसायीहरूको घरमा आगो लगाइयो, त्यसरी नै मस्क, फेसबुकका मालिक मार्क जुकरवर्ग, टिकटकका मालिक झ्याङ यिमिङ नेपाली थिए भने उनीहरूको घरमा पनि त्यही भीडले आगो लगाउने थियो । र, सरकारले समाज विथोल्ने काम गरेको आरोप लगाउँदै फेसबुक, टिकटक र एक्सका मालिकहरूलाई जेलमा हाल्ने थियो । सामाजिक सञ्जालहरू बन्द गर्ने थियो । यस्तो सोंच, नीति र व्यवहार नेपाली समाजमा जीवित रहेसम्म देशको विकास हुँदैन । देश विकास चाहनाले मात्र हुँदैन । अरूलाई गाली गरेर, अरूका गल्ती कमजोरी आंैल्याएर मात्र पनि विकास हुँदैन । नेता, व्यवसायी र उनीहरूको व्यावसायिक प्रतिष्ठानहरूमा आगो लगाएर, कुटपिट, तोडफोड र विध्वंश मच्चाएर देशको विकास हुँदैन । विकासका लागि सिर्जनशील भएर कडा परिश्रमका साथ काम गर्नुपर्छ । विकासका काम सरकारले मात्र गर्ने हो भन्ने भ्रमबाट पनि समाज माथि उठ्नुपर्छ । देश विकासका बहुआयामिक धरातल हुन्छन् । त्यसको निर्माणमा सरकार, निजी क्षेत्र र नागरिक सबैको भूमिका हुन्छ । सरकारको प्रमुख काम नीति निर्माण गर्ने हो । नीति नियमको पालना गराउने हो । त्यसका लागि सुरक्षा, न्याय र प्रशासनिक सेवा सञ्चालन गर्ने हो । भौतिक पूर्वाधार निर्माणमा सरकारको निर्णायक भूमिका रहन्छ । शिक्षा र स्वास्थ सेवामा सरकारी लगानी विश्वभर नै बढ्दै गएको छ । सामाजिक सुरक्षा र कल्याणकारी कार्य सरकारले गर्नुपर्छ । वस्तु तथा सेवाको उत्पादन निजी क्षेत्रले गर्ने हो । बहुआयामिक सूचकाङ्कबाट देश विकासको मापन गर्न सकिन्छ । पर्याप्त अवसरसहित उच्चस्तरको आम्दानी र गुणस्तरीय जीवनशैली आधुनिक विकासको प्रमुख सूचक हुन् । त्यसको लागि लगानी वृद्धि र उच्चदरको आर्थिक वृद्धि पहिलो आधार हो । प्रभावकारी नीति निर्माण, प्रशासनिक सुधार, विश्वासिलो सुरक्षा तथा न्याय प्रणालीको विकास राज्यस्तरबाट अनिवार्य हुनैपर्छ । आधुनिक शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवा हरेक मानिसको लागि गाँस, बास र कपासजत्तिकै आधारभूत आवश्यकता हुन् । नवीन प्रविधिको विकास र प्रयोगले सबै मानिसको जीवनशैली सरल बन्दै गएको छ । अवसरहरू सिर्जना गर्नका लागि पूर्वाधार निर्माण, उद्योग, व्यापार, कृषि, पर्यटन, यातायात तथा विविध सेवा क्षेत्रमा लगानी वृद्धि हुनैपर्छ । बैंकिङ, बीमा, पुँजीबजार लगायत वित्तीय सेवाको क्षेत्रले अर्थतन्त्रमा रक्तसञ्चारको काम गरिरहेको छ । खेलकुद, कला, संस्कृति र समाज सेवाका कार्यले समाजलाई सुन्दर र सन्तुष्ट बनाउन मद्दत गर्छ । हरेक क्षेत्रमा उल्लेखनीय र दीर्घकालीन विकासमा उल्लेख्य योगदान गर्ने व्यक्ति (प्राकृतिक व्यक्ति तथा संस्था) नै विकास नायक हुन् । विकास नायकहरूले नै हो देश समृद्ध बनाउने । देश विकासको कार्य निरन्तर चलिरहन्छ । समाजमा विकास नायकको जन्म पनि भइरहन्छ । यही मान्यतामा आधारित रहेर विकास मिडियाले हरेक वर्ष १० विकास नायकको खोजी गर्ने र उनीहरूले गरेका अनुकरणीय कार्य र त्यसको प्रभावबारे रिपोर्टिङ गर्ने, देशविकास पत्रिका र विकासन्युज अनलाइनमा प्रकाशित गर्ने कार्य गर्दै आएको छ । हामी यस वर्षदेखि विकास नायकहरूलाई नेपाल सरकारका उच्च अधिकारीहरूसहित प्रबुद्ध वर्गको उपस्थितिमा विकास नायक अवार्डसहित सम्मान कार्यक्रम राखेका छौं । जसले देश विकासमा साहसिक काम गरेका छन्, उदाहरणीय काम गरेका छन् र अरूलाई उत्प्रेरित गरेका छन्, उनीहरूको खोजी गर्नु र कुनै एक स्थानमा भएको अनुकरणीय कार्यको सन्देश समाजका अन्य स्थानका समुदायसम्म पुर्याउनु, सफलताका कार्यानुभव अरूलाई पनि सुनाउनु र मानिसहरूमा सकारात्मक सन्देशसहित उत्प्रेरणा जगाउनु यस अभियानको लक्ष्य हो । पाठक तथा समाचार चक्रबाट प्राप्त सूचनाहरू, हाम्रा सहकर्मीहरूले संकलन गरेको सूचनाहरूको आधारमा हामी सम्भावित पात्रहरूको सूची बनाउने, उनीहरूले गरेको कार्यले अर्थतन्त्र र समाजमा परेको प्रभाव, त्यसमा अपनाइएको नवप्रवर्तन, सहभागिता, समावेशीता, पारदर्शिता, नैतिकता, त्यस कार्यको स्थायित्व र त्यसले दिने प्रेरणादायी सन्देशलगायत मानकका आधारमा विकास नायक छनोट निर्णायक समितिले लिएको निर्णयअनुसार फरक–फरक विधाबाट १० विकास नायकको काम र प्रभावसहित यस पत्रिका तयार भएको छ । इतिहासले राजा, नेता वा साहित्यकारलाई मात्र नायक मानेको छ । उनीहरूको कथा र गाथामात्र स्कूल र कलेजमा विद्यार्थीहरूलाई पढाउने अभ्यास चलिरहेको छ । वास्तवमा देश विकासका नायकहरू हरेक क्षेत्रमा छन् । उनीहरूको खोजी, सम्मान र योगदानको चर्चा निरन्तर गर्नुपर्छ । त्यो प्रयास हामीले थालेका हौं । तिनै विकास नायकको सम्मानमा देश विकासको यो विशेषाङ्क तयार गरिएको छ । सबैलाई एकै अङ्कमा समेट्न सकिँदैन । यस्ता विकास नायकको खोजी गर्ने र सम्मान गर्ने क्रम निरन्तर रहनेछ ।
नयाँ दलको उदयसँगै पतन श्रृंखला शुरु
व्यवसायी बीरेन्द्र बहादुर बस्नेतको अगुवाईमा दीनेश प्रसाईको नेतृत्वमा गतिशिल लोकतान्त्रिक पार्टी दर्ता भएको छ । उर्जामन्त्री कुलमान घिसिङको अगुवाईमा पूर्व सचिव अनुप कुमार उपाध्ययको अध्यक्षतामा उज्यालो नेपाल पार्टी दर्ता प्रक्रियामा गएको छ । पूर्वमन्त्रीहरु जनार्दश शर्मा, सुधन किराती, राश्वपा छोडेका सन्तोष परियारसहितका नेताहरुले प्रगतिशिल अभियान नाममा नयाँ दल दर्ता गर्दै छन् । अझै सामाजिक सञ्जालमा लाखौले फलो गरेका बालेन, हर्क साम्पाङ जस्ता स्वतन्त्र मेयरहरु नयाँ दल गठनको तयारीमा रहेको, जेनजीहरु नयाँ दल गठनको तयारीमा रहेको समाचारहरु प्रकाशित भईरहेका छन् । जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा ५ वटा नयाँ दल दर्ता भईसकेका छन् भने २२ वटा नयाँ दल दर्ता प्रक्रियामा रहेका छन् । यसअघि निर्वाचन आयोगमा १२५ वटा राजनीतिक पार्टी दर्ता भएका छन् । सबैभन्दा पछि भएको २०७९ सालको निर्वाचनमा १ करोड ५ लाख मत खसेको थियो । त्यसको ५ प्रतिशत भन्दा बढी मत ल्याएर राष्ट्रिय दलको मान्यता पाँच वटाले मात्र पाएका थिए । जम्मा एक करोड मतदान हुने देशमा १५० भन्दा बढी राजनीतिक दल स्थापना हुनु नै देशको पहिलो दुर्भाग्य हो । जेनजी आन्दोलनपछि नेपालको राजनीतिक व्यापक फेरबदलको सम्भावना देखिएको थियो । सडकमा उग्र देखिएका जेनजी ऊर्जा, आम मानिसमा पुराना दलप्रतिको मोहभंग, नेतालाई सोधिने कठोर प्रश्न र सामाजिक सञ्जालमा देखिने व्यापाक आलोचनाले राजनीतिक वातावरण निकै ताताएका थिए । त्यसको प्रत्यक्ष असर अहिले देखिँदै गएको छ । नयाँ राजनीतिक दलहरू दर्ता हुन थालेका छन्, नयाँ नाम, नयाँ आदर्श, नयाँ नेतृत्व, नयाँ आशाका बटुवा जस्तै बनेर । तर यति धेरै नयाँ दलहरू उमारिँदा सबैभन्दा बढी लाभ स्वभाविक रुपमा पुरानै दलहरूलाई । कारणहरू धेरै छन्, र ती कारणहरू सतहमा देखिने भन्दा धेरै जटिल छन् । धेरै दल हुँदा मत विभाजित हुन्छ । नयाँ दलहरूले ल्याउने विचार र अभियानले समाजमा नयाँ तरंग त ल्याउँछन् तर चुनावी अंकगणितमा भने उनीहरू प्रायः निर्णायक शक्ति बन्न सक्दैनन् । उनीहरु राजनीतिक दल नभई केवल दवाव समूहको सीमित हुन्छन् । धेरै दलहरू खुलेपछि जनतामा “कसलाई विश्वास गर्ने’’ भन्ने संशय मतदातामा हुन्छ । भोट गर्ने भन्दा भोट माग्नेको भीड ठूलो भएपछि मतदाताहरु नै अलमलमा पर्छन । यस्तो अवस्थामा मतदानको दिन नजिकिँदै जाँदा नागरिकहरू फेरि परिचित नामतिरै फर्किने सम्भावना धेरै हुन्छ । उनीहरुले पुरानैलाई मतदान गर्नेछन् । नयाँ दलहरूको मुख्य कमजोरी संगठनात्मक कमजोरी नै हो । उत्साह बढि तर संरचना कमजोर । यही समीकरण वर्षौँदेखि दोहोरिन्छ । यता पुराना दलहरूले पालैपालो सरकार चलाएर, गाउँ–नगर–वडामा संरचना बनाएका छन् । ट्रेड यूनियनदेखि विद्यार्थी संगठनसम्म जालो बुनेका छन् । नयाँ दलका आकर्षक अभियानको चमक ओझेल पार्ने सबैभन्दा ठूलो हतियार यही संरचना हो । नयाँ दलहरू चुनावको पुरै चक्रमा टिकिरहन नसके पनि, उनीहरूले लिएर जाने भोटचाहिँ पुरानै दलको सन्तुलनमा मिलेर बस्छ । अन्ततः ठूलो वृक्ष छेउमा स–साना बिरुवा उमारिँदा, पानी त बिरुवाले खान्छन् तर छाया भने पुरानो वृक्षकै फैलिन्छ । समय वित्दै जाँदा ठूला विरुवाको सेपले साना विरुवा मासिन्छन् । पुराना र ठूला दलको विकल्पमा धेरै वटा नयाँ दलको उदय नै नयाँ दलको पतनको आधार हो । यस अवस्थामा चर्चित व्यक्तिहरु विरेन्द्रबहादुर बस्नेत वा कुलमान घिसिङ जस्ता पात्रहरुले स्वतन्त्र उम्मेदवारको हैसियतको निर्वाचन जित्न सक्छन् तर पार्टी पराजित हुनेछ । कुनै पनि नयाँ दलले समानुपातिक तर्फ ५ प्रतिशत मत पाएर राष्ट्रिय दल बन्ने सम्भावना हुँदैन ।
क्रिकेटलाई ‘क्यास’ गर्ने समय
कुनै समय विद्यालयको खेल मैदान र सहरका गल्लीहरुमा रमाइलोका लागि खेलिने क्रिकेट आज राष्ट्रिय गौरव र सम्भावनाको प्रतिक बनेको छ । मनोरञ्जनको सीमित दायराबाट उठ्दै यो खेल अहिले नेपालको पहिचान, युवा ऊर्जा र आर्थिक गतिशीलताको माध्यम बन्ने दिशामा अगाडि बढिरहेको छ । एक दशक अघिसम्म केवल समाचारको कुनामा सीमित रहने क्रिकेट आज देशको राष्ट्रिय विमर्शको केन्द्रमा छ । कुनै बेला पत्रपत्रिकाको अन्तिम पृष्ठमा सीमित स्पेस पाउने क्रिकेट आज सञ्चार माध्यमको मुख्य समाचार बनिरहेको छ । शुक्रबार सम्पन्न आईसीसी विश्वकप टी-२० छनोट प्रतियोगितामा नेपालले अपराजित यात्रा गर्दै ट्रफी हातमात्रै हात पारेन, सहजै विश्व कपको यात्रा पनि तय गर्यो । यो ट्रफीसँगै तेस्रो पटक विश्वकपमा प्रवेश गर्न सफल भएको यस ऐतिहासिक उपलब्धिले नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेट मानचित्रमा थप मजबुत बनाएको छ । यो केवल खेलाडीको जित होइन, यो सम्पूर्ण राष्ट्रको जित हो, जसले देखाएको छ कि सीमित स्रोतसाधन र संरचनामाझ पनि दृढ इच्छाशक्ति र सामूहिक भावना भए असम्भव केही हुँदैन । यो जितसँगै देशभर क्रिकेटप्रतिको क्रेज अभूतपूर्व रूपमा बढेको छ । नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेल यस्तै, पछिल्ला वर्षमा सुरु भएका विभिन्न फ्रेन्चाइज प्रतियोगिताहरू, एभरेष्ट प्रिमियर लिग, नेपाल प्रिमियर लिग र धनगढी प्रिमियर लिग लगायतले खेलकुद क्षेत्रमा नयाँ आयाम थपेका छन् । यी प्रतियोगिताले खेलाडीलाई मात्र होइन, व्यवसायी, विज्ञापनदाता, मिडिया र स्थानीय पर्यटनलाई पनि थप बल पुर्याएको छ । यसले क्रिकेटलाई अब मनोरञ्जनभन्दा बढी अर्थतन्त्रको हिस्सा बनाउने सम्भावना उजागर गरेको छ । अब नेपालमा क्रिकेटलाई व्यवस्थित क्षेत्रका रूपमा विकास गर्न आवश्यक भइसकेको छ । यसका लागि व्यवसायी, लगानीकर्ता र निजी क्षेत्रले पनि खेल पूर्वाधारमा लगानी गर्नुपर्छ । देशभर अन्तर्राष्ट्रिय मापदण्डअनुसारका क्रिकेट मैदान, अभ्यास केन्द्र र एकेडेमीहरु निर्माण गर्न जरुरी छ । आज क्रिकेटको लोकप्रियताले दर्शक, विज्ञापन र प्रसारणको बजार विस्तार गरिरहेको छ, यसले स्पष्ट सन्देश दिन्छ कि क्रिकेट अब राम्रो प्रतिफल पाउने क्षेत्रका रूपमा विकसित हुन सक्छ । व्यवसायीहरूले यस क्षेत्रको सम्भावना बुझेर दीर्घकालीन लगानी गर्नुपर्छ, जसबाट उनीहरूलाई पनि आर्थिक लाभ मिल्नेछ र देशको खेलकुद अर्थतन्त्र सुदृढ हुनेछ । सरकारको भूमिका पनि यहाँ निर्णायक हुन्छ । खेल क्षेत्रलाई राष्ट्रको प्राथमिकताको सूचीमा राख्दै खेलकुद पूर्वाधारमा बजेट विनियोजन बढाउनुपर्छ । रोकिएका खेलकुदका पूर्वाधार निर्माणमा जोड दिनुपर्छ । खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र स्थानीय तहबीच सहकार्यको संयन्त्र विकास गर्न सकिए मात्र दीर्घकालीन परिणाम सम्भव हुन्छ । सार्वजनिक–निजी साझेदारीमार्फत खेल स्टेडियम, क्रिकेट एकेडेमी र प्रशिक्षण केन्द्रहरू निर्माण गर्न सकिन्छ । साथै, विद्यालय र विश्वविद्यालय तहमा क्रिकेटलाई पाठ्यक्रमसँग जोडेर प्रतिभा विकासको सुनिश्चितता गर्नुपर्छ । क्रिकेटले अब नेपालमा राष्ट्रिय एकताको भावनालाई सुदृढ बनाएको छ । प्रत्येक जितमा सर्वसाधारणको आँसु र हर्ष मिश्रित प्रतिक्रिया देखिन्छ । यो केवल खेलमात्र होइन, राष्ट्रिय गर्व र साझा भावनाको प्रतिक हो । यही भावनालाई उत्पादनमुखी दिशामा मोड्न सकियो भने क्रिकेटले हजारौं युवालाई रोजगारी दिने, खेल पर्यटन प्रवद्र्धन गर्ने र अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्ने माध्यम बन्न सक्छ । यो उत्साहलाई दीर्घकालीन योजनामा रूपान्तरण गर्न ढिला गर्नु हुँदैन । सरकारले खेलकुदलाई दीगो नीति अन्तर्गत राखेर दीर्घकालीन योजना बनाउनुपर्छ । निजी क्षेत्रले लगानी बढाउनुपर्छ । मिडियाले पारदर्शिता र उत्तरदायित्वमा जोड दिनुपर्छ । अनि मात्रै क्रिकेट नेपालको आर्थिक इन्जिनका रूपमा अघि बढ्न सक्छ । नेपालले अहिले ऐतिहासिक मोडमा उभिएको छ, जहाँ क्रिकेटले केवल खेल होइन, भविष्यको सम्भावना पनि बोकेको छ । यसलाई क्यास गर्न सक्ने हो भने क्रिकेटले राष्ट्रिय अर्थतन्त्रमा नयाँ उचाइ ल्याउनेछ । भावनात्मक उत्साहका साथ अब योजनाबद्ध लगानी, पूर्वाधार र व्यवस्थापन गर्ने समय हो ।