जलवायु परिवर्तनबारे एक मिनेटको भिडियो बनाए ७५ हजार जित्ने मौका

काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यालय तहका बालबालिकालाई जलवायु परिवर्तनका विषयमा सिर्जनात्मक अभिव्यक्ति दिन प्रोत्साहित गर्ने उद्देश्यले एक मिनेटसम्मको भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ । महानगरपालिकाले काठमाडौं जलवायु कार्य सप्ताह २०८३ अन्तर्गत ‘बालबालिकाको दृष्टिमा जलवायु परिवर्तन’ शीर्षकमा भिडियो प्रतियोगिता गर्न लागेको हो ।

जलवायु परिवर्तनले विश्वव्यापी रूपमा पारिरहेको असर न्यूनीकरण गर्न समुदायस्तरमा गर्न सकिने प्रयासको प्रवद्र्धन तथा वातावरण संरक्षणमा व्यक्ति र समुदायको जिम्मेवारीबारे सचेतना फैलाउने उद्देश्यले महानगरपालिकाले जलवायु कार्य सप्ताह आयोजना गर्न लागेको जनाएको छ ।

महानगरपालिकाका अनुसार मङ्सिर ७ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने जलवायु कार्य सप्ताहमा हरेक दिन फरक–फरक कार्यक्रम आयोजना गरिनेछ । सोही कार्यक्रमअन्तर्गत विद्यालय उमेरका बालबालिकाको सहभागिता र सिर्जनशीलता बढाउन भिडियो प्रतियोगिता समावेश गरिएको हो ।

प्रतियोगितामा कक्षा ६ देखि १२ सम्म अध्ययनरत बालबालिकाले सहभागिता जनाउन सक्नेछन् । काठमाडौं महानगरपालिकाका स्थायी बासिन्दा बालबालिका तथा महानगरभित्रका सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थी प्रतियोगितामा सहभागी हुन योग्य हुनेछन् ।

प्रतियोगितामा उत्कृष्ट हुने सहभागीलाई आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ । प्रथम हुनेले ७५ हजार रुपैयाँ, दोस्रो हुनेले ५० हजार रुपैयाँ र तेस्रो हुनेले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै, पाँच जनालाई जनही १० हजार रुपैयाँका दरले सान्त्वना पुरस्कार प्रदान गरिनेछ ।

यस प्रतियोगितामार्फत बालबालिकाले जलवायु परिवर्तनका कारण वातावरण, जनजीवन र भविष्यमा पर्न सक्ने असरलाई आफ्नो दृष्टिकोणबाट प्रस्तुत गर्न सक्नेछन् । भिडियोमार्फत उनीहरूले जलवायु परिवर्तनका चुनौतीसँगै समाधानका उपाय र वातावरण संरक्षणका लागि गर्न सकिने प्रयाससमेत उजागर गर्न सक्नेछन् ।

Share News