काठमाडौं । नेपालका लागि लिपमोटरको आधिकारिक बिक्रेता साङ्ग्रिला मोटर्सले नयाँ विद्युतीय एसयूभी लिपमोटर बी ०३ याक्स नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ ।
एक कार्यक्रमका बीच कम्पनीले यस गाडीको बिक्री सुरु गरेको जानकारी दिएको हो ।
लिपमोटर स्टेलान्टिसको आधिकारिक साझेदार ब्रान्ड हो । स्टेलान्टिस अन्तर्गत जीप, प्युजो, सिट्रोन र मासेराटी जस्ता ब्रान्डहरू पर्दछन् ।
नेपालमा सार्वजनिक गरिएको यो गाडी प्रिमियम डिजाइन र उच्च प्रविधिका साथ उपलब्ध छ ।
गाडीका विशेषताहरूको बारेमा जानकारी दिँदै साङ्ग्रिला मोटर्सका महाप्रबन्धक किरण श्रेष्ठले यसमा १४५ किलोवाट क्षमताको शक्तिशाली मोटर र ५३ किलोवाट आवरको एलएफपी ब्याट्री जडान गरिएको बताए ।
कम्पनीका अनुसार यो गाडीले एक पटकको फुल चार्जमा ५०५ किलोमिटर सम्मको रेन्ज दिनेछ । साथै नेपाली सडकलाई मध्यनजर गर्दै यसमा १९० एमएमको उत्कृष्ट ग्राउन्ड क्लियरेन्स दिइएको छ ।
आधुनिक फिचरहरूले भरिपूर्ण यस गाडीको भित्री भागमा १४.६ इन्चको ठूलो इन्फोटेनमेन्ट स्क्रिन, १०।२५ इन्चको इन्स्ट्रुमेन्ट क्लस्टर, प्यानोरामिक सनरुफ, १२ वटा स्पिकर र ६४ रङको एम्बियन्ट लाइटिङ उपलब्ध छ ।
सुरक्षाका लागि यसमा ६ वटा एयरब्याग, एडास लेभल २ सुरक्षा प्रविधि, ३६० डिग्री क्यामेरा र ट्रान्सपेरेन्ट च्यासिस जस्ता सुविधाहरू रहेका छन् ।
नेपाली बजारका लागि लिपमोटर बी ०३ याक्स प्रो म्याक्सको मूल्य ४५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । तर, पहिलो १०० ग्राहकलाई ४४ लाख ९९ हजार रुपैयाँमै उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
यो गाडी विभिन्न पाँच आकर्षक रङहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
प्रिमियम एसयूभी खोज्ने ग्राहकहरूका लागि यो गाडी उत्कृष्ट विकल्प हुने साङ्ग्रिला मोटर्सको विश्वास छ ।