ऊर्जा सङ्कटपछि भारतले तेल अन्वेषण विस्तार गर्ने

काठमाडौँ । मध्यपूर्वमा भएको युद्धका कारण ऊर्जा आपूर्तिमा आएको अवरोधपछि भारतले स्वदेशी कच्चा तेलको अन्वेषण तथा उत्पादन विस्तार गर्ने योजना अघि बढाएको छ । भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हर्दिपसिंह पुरीले ऊर्जा सङ्कटले स्वदेशी स्रोतको विकासलाई प्राथमिकता दिन नयाँ प्रेरणा दिएको बताए । विश्वको तेस्रो ठूलो कच्चा तेल आयातकर्ता तथा दोस्रो ठूलो एलपीजी आयातकर्ता भारतले अमेरिका–इरान द्वन्द्वका क्रममा ‘स्ट्रेट अफ होर्मुज’मा लगाइएका प्रतिबन्धका कारण ऊर्जा आपूर्तिमा अवरोधको सामना गरेको थियो । अमेरिका र इरानबीच युद्ध रोक्ने अस्थायी सहमतिपछि खाडी क्षेत्रबाट तेल तथा ग्यास ढुवानी पुनः सुरु भएको छ भने बजारमा मूल्य स्थिर हुन थालेको छ । मन्त्री पुरीका अनुसार भारतले हालसम्म अन्वेषण नगरिएका करिब दुई लाख ५० हजार वर्ग किलोमिटर क्षेत्रमा तेल तथा ग्यास अन्वेषणका लागि बोलपत्र आह्वान गर्ने तयारी गरिरहेको छ । भारतको तेल मन्त्रालयका अनुसार आर्थिक वर्ष २०२५/२६ मा स्वदेशी कच्चा तेल उत्पादन दुई करोड ५९ लाख ८० हजार मेट्रिकटन रहेको थियो । यो उत्पादनले भारतको कुल कच्चा तेल आवश्यकताको करिब १० प्रतिशत मात्र पूरा गर्छ । ऊर्जा आपूर्तिको विविधिकरणका लागि भारतले कच्चा तेल आयात गर्ने देशको सङ्ख्या २७ बाट बढाएर ४१ पुर्‍याएको छ । यस क्रममा इरान, भेनेजुएला, रुस तथा विभिन्न अफ्रिकी मुलुकबाट पनि आयात बढाइएको छ । रुसी तेल खरिदका विषयमा अमेरिका र युरोपबाट आलोचना भए पनि मन्त्री पुरीले भारतले वैचारिक दृष्टिकोणभन्दा आफ्ना ऊर्जा आवश्यकतालाई प्राथमिकता दिएको बताए । भारतको स्वदेशी कच्चा तेल उत्पादन मुख्यतः मुम्बईको अपतटीय क्षेत्र, राजस्थान, गुजरात तथा आसाममा केन्द्रित छ । मन्त्री पुरीले अन्डमान तथा निकोबार द्वीप आसपासको समुद्री क्षेत्रलाई ऊर्जा सम्भावनाले भरिएको क्षेत्रका रूपमा उल्लेख गर्दै त्यहाँ गहिरो समुद्री क्षेत्रमा अन्वेषणलाई तीव्र पारिने बताए ।  उनका अनुसार भारतले गहिरो समुद्री अन्वेषणका लागि पेट्रोब्रास, टोटलएनर्जीज, बीपी, शेल तथा एक्सनमोबिलजस्ता अन्तरराष्ट्रिय कम्पनीसँग सहकार्य गरिरहेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२५ मा ’समुद्र मन्थन’ अभियान घोषणा गर्दै समुद्रमुनिको तेल तथा ग्यास भण्डारको खोजीलाई राष्ट्रिय प्राथमिकतामा राखेका थिए । सरकारले सन् २०७० सम्म कार्बन तटस्थता हासिल गर्ने लक्ष्य राखे पनि तीव्र आर्थिक वृद्धि र बढ्दो ऊर्जा मागका कारण तेलको खपत निरन्तर बढिरहेको छ । भारतले नवीकरणीय ऊर्जा, आणविक ऊर्जा तथा इथेनोल मिश्रित इन्धनको प्रयोग विस्तार गर्दै ऊर्जा स्रोतको विविधिकरणमा पनि लगानी बढाइरहेको छ । मन्त्री पुरीले भारतको ऊर्जा खपत सन् २०२१ मा दैनिक ५० लाख ब्यारेलबाट बढेर हाल करिब ५६ लाख ब्यारेल पुगेको र निकट भविष्यमै दैनिक ६० लाख ब्यारेल पुग्ने अनुमान गरिएको बताए । उनले करिब १० अर्ब अमेरिकी डलरको लगानीमार्फत तेल तथा ग्यास अन्वेषणलाई तीव्र बनाइने र अहिलेसम्म अन्वेषण नगरिएको करिब १० लाख वर्ग किलोमिटर क्षेत्रमा पनि अध्ययन अघि बढाइने जानकारी दिए । 

ट्रम्पले भने : अमेरिकी पहिचान संकटमा छ

काठमाडौं । संयुक्त राज्य अमेरिकाको २५०औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको पहिचानमाथि नयाँ खतरा उत्पन्न भएको दाबी गर्दै कडा राजनीतिक सन्देश दिएका छन् । उनले देशभित्रैबाट ‘कट्टरपन्थी र अतिवादीहरू’ बाट चुनौती बढेको आरोप लगाए ।       देशभक्तिले ओतप्रोत भाषणका क्रममा राष्ट्रपति ट्रम्पले ‘अमेरिकी विशिष्टता’को प्रशंसा गर्दै माउन्ट रसमोरमा उभिएर राष्ट्रका चार महान् पूर्ववर्ती नेताहरूलाई श्रद्धा व्यक्त गरे । सोही ऐतिहासिक स्मारकको फेदमा उनले भने, 'हामी यस भव्य वार्षिकोत्सवको नजिक पुग्दै गर्दा हाम्रो अमेरिकी पहिचानमाथि नयाँ आक्रमण भइरहेको देखिरहेका छौँ ।'       उनले ‘देशभित्र कम्युनिष्ट खतरा पुनःबढिरहेको’ आरोप लगाए । डेमोक्रेटिक पार्टीभित्रको वामपन्थी धारलाई लक्षित गर्दै ट्रम्पले पछिल्ला हप्ताहरूमा यस्ता टिप्पणी दोहोर्याउँदै आएका छन् ।        'हालैका वर्षहरूमा हाम्रो विशिष्ट चरित्र परिवर्तन गर्ने, अमेरिकी भावनालाई कमजोर पार्ने र इतिहासबाट टाढा लैजाने अस्वीकार्य प्रयास हुँदै आएको छ', ट्रम्पले भने ।         यद्यपि उनको भाषण अपेक्षाकृत नरम शैलीको भए पनि सन्देश स्पष्ट रूपमा राजनीतिक थियो । उनले थप भने, 'तपाईं यहीँ जन्मिनु आवश्यक छैन, तर हामीले निर्माण गरेको कुरालाई तपाईंले माया गर्नैपर्छ ।'          माउन्ट रसमोरजस्तो ऐतिहासिकस्थलमा गरिएको यो सम्बोधनलाई ट्रम्पका समर्थकहरूले प्रतीकात्मक महत्वपूर्ण अवसरका रूपमा लिएका छन् । केहीले जर्ज वासिङ्टन, थोमस जेफरसन, अब्राहम लिङ्कन र थियोडोर रुजवेल्टसँगै ट्रम्पको आकृति पनि कुँद्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।          यसैबीच, ट्रम्पले आगामी जुलाई ४ मा वाशिङ्गटनको नेशनल मलमा चुनावी शैलीको राजनीतिक सभा गर्ने घोषणा गरेका छन्, जहाँ सैन्य जेट विमानहरूको उडान र विशाल आतिशबाजी प्रदर्शन हुने बताइएको छ ।      राष्ट्रिय एकताको अवसर मानिने वार्षिकोत्सव नजिकिँदै गर्दा अमेरिकामा राजनीतिक विभाजन अझ गहिरिँदै गएको देखिन्छ । इरानसँगको तनाव, बढ्दो जीवनयापन लागत र आप्रवासन नीतिलाई लिएर ट्रम्प प्रशासन आलोचनाको सामना गरिरहेको छ ।      हालैका सर्वेक्षणहरूमा अमेरिकी ‘ड्रीम’ प्रति जनविश्वास कमजोर भएको देखिएको छ । क्विनिपियाक विश्वविद्यालयको सर्वेक्षणअनुसार ६१ प्रतिशत अमेरिकीले देश स्वतन्त्रताको घोषणापत्रमा उल्लेखित आदर्शअनुसार नचलेको धारणा राखेका छन् ।     यसैबीच, लसएन्जलसकी शिक्षिका एमी किमाराले एएफपीलाई भने, 'जुलाई ४ स्वतन्त्रताको दिन हो, तर अहिलेको राजनीतिक अवस्थाका कारण यो उत्साहजनक लाग्दैन ।' रासस

विश्वकपबाट लुका मोड्रिकलाई बिदाइ

काठमाडौं । क्रोएसियाका महान् मिडफिल्डर लुका मोड्रिकको विश्वकप यात्रा लगभग अन्त्यतिर पुगेको मानिँदै गर्दा उनीप्रति आफ्नै टोलीका प्रशिक्षक ज्लाटको डालिच र पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजले उच्च सम्मान व्यक्त गरेका छन् । पोर्चुगलसँग २–१ ले पराजित भएपछि ४० वर्षीय मोड्रिकले सम्भवतः आफ्नो अन्तिम विश्वकप खेल खेलेका मानिएको छ ।      खेलपछि मोड्रिक र ४१ वर्षीय क्रिस्टियानो रोनाल्डोबीच लामो आत्मीय संवाद भएको थियो । रियल म्याड्रिडमा छ सिजन सँगै बिताउँदै चार पटक च्याम्पियन्स लिग जितेका यी दुई महान् खेलाडी अन्तर्राष्ट्रिय फुटबल यात्राको अन्तिम चरणमा पुगेका मानिन्छन् ।      क्रोएसियाका प्रशिक्षक डालिचले मोड्रिकको बिदाइ यसरी हुनुपरेकोमा दुःख व्यक्त गर्दै उनले अन्तिम क्षणसम्म पनि आफ्नो नेतृत्व, चरित्र र उत्कृष्ट खेल प्रदर्शन कायम राखेको बताए । उनका अनुसार मोड्रिक सधैँ क्रोएसियाका प्रमुख खेलाडीमध्ये एक रहेका छन् ।      पोर्चुगलका प्रशिक्षक मार्टिनेजले मोड्रिकले लाखौँ बालबालिकालाई प्रेरणा दिएको उल्लेख गर्दै उहाँको खेल्ने शैली फुटबल इतिहासमा सधैँ सम्झिने खालको रहेको बताए । बल आफ्नो नियन्त्रणमा लिएपछि सही निर्णय गर्ने क्षमता, खेलको गति बुझ्ने शैली र खाली स्थान सिर्जना गर्ने कौशलका कारण मोड्रिक अझै पनि युवा खेलाडीजस्तै प्रभावशाली देखिएको उनको भनाइ थियो ।      सन् २०१८ को विश्वकपमा क्रोएसियालाई उपविजेता तथा २०२२ मा तेस्रो स्थानसम्म पुर्‍याउने यात्रामा मोड्रिकले निर्णायक भूमिका खेलेका थिए । हाल एसी मिलानबाट खेलिरहेका उनले गत महिना आफ्नो २००औँ अन्तर्राष्ट्रिय खेल पूरा गरेका थिए । जुन २३ मा पानामामाथिको जितपछि टोलीका खेलाडीहरूले उनलाई सम्मानस्वरूप काँधमा उचालेर बिदाइको सङ्केत दिएका थिए ।      यता समूह चरणमा आलोचना खेपेका रोनाल्डोले पोर्चुगलको यस जितमा महत्त्वपूर्ण योगदान दिँदै दोस्रो हाफमा पेनाल्टीमार्फत बराबरी गोल गरेका थिए । रासस