आप्रवासन नीतिमा आवश्यकताभन्दा बढी कडाइ भएको ट्रम्पले स्वीकारोक्ति

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सरकारले अवैध आप्रवासीविरुद्ध आवश्यकताभन्दा बढी कडा नीति अपनाएको स्वीकार गरेका छन् ।

सीबीएसको कार्यक्रम ‘६० मिनेट्स’लाई दिएको अन्तर्वार्तामा ट्रम्पले अमेरिकाको सीमा हुँदै अवैध रूपमा प्रवेश गर्ने मानिसको संख्या घटाउन आफ्नो प्रशासनले उल्लेखनीय सफलता हासिल गरेको दाबी गरे । 

यसका लागि आफूले ‘ए प्लस’ अंक पाउनुपर्ने उनको भनाइ थियो ।

यद्यपि, ठूलो संख्यामा आप्रवासीलाई देशबाट निष्कासन गर्ने नीतिका कारण आफूलाई राजनीतिक क्षति पुगेको पनि उनले स्वीकार गरे ।

गत मंगलबार सम्पन्न मध्यावधि निर्वाचनमा आप्रवासनको मुद्दा आफ्नो रिपब्लिकन पार्टीका लागि फाइदाजनक र हानिकारक दुवै बनेको ट्रम्पले बताए ।

उनले भने, ‘खराब मानिसहरूलाई देशबाट बाहिर निकाल्ने कामका लागि मैले निकै राम्रो अंक पाउनुपर्छ ।’

यता, अमेरिकी गृह सुरक्षा विभागले भने अवैध आप्रवासीविरुद्ध सरकारले अपनाउँदै आएको कडा नीतिबाट पछि नहट्ने स्पष्ट पारेको छ ।

मध्यावधि निर्वाचनकै दिन गरिएको सर्वेक्षणअनुसार मतदाताका लागि आप्रवासन तेस्रो सबैभन्दा महत्त्वपूर्ण मुद्दा बनेको थियो ।

Share News