दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन

काठमाडौं । दिग्गज बलिउड अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उनको गोवास्थित निवासमा हृदयाघात भएपछि निधन भएको हो ।

पाटेकरलाई बिहीबार बिहान ५ बजेर २० मिनेटमा मृत घोषणा गरिएको जनाइएको छ । उनलाई बचाउन चिकित्सकले करिब ४५ मिनेटसम्म लगातार मुटुको पुनर्जीवन प्रक्रिया (सीपीआर) गरेका थिए ।

नाना पाटेकर हिन्दी र मराठी चलचित्रका चर्चित अभिनेतामध्ये एक थिए । उनको जन्म १ जनवरी १९५१ मा महाराष्ट्रको मुरुड–जञ्जिरामा भएको थियो । उनी अभिनेता मात्र नभई चलचित्र निर्माता, निर्देशक तथा लेखकका रूपमा पनि सक्रिय थिए ।

भारतीय चलचित्रका प्रभावशाली अभिनेतामध्ये गनिने पाटेकरले आफ्नो फरक अभिनय शैली र दमदार संवाद प्रस्तुतिका कारण छुट्टै पहिचान बनाएका थिए । उनले सन् १९७८ मा ‘गमन’बाट हिन्दी चलचित्रमा पाइला राखेका थिए । सुरुवाती चरणमा उनले मराठी र हिन्दी दुवै चलचित्रमा काम गरे ।

सन् १९८९ मा आएको ‘परिन्दा’ उनको अभिनय यात्राको महत्वपूर्ण मोड बन्यो । उक्त चलचित्रमा उनले निर्वाह गरेको भूमिकाका लागि राष्ट्रिय चलचित्र पुरस्कार र फिल्मफेयर पुरस्कार प्राप्त गरेका थिए ।

लामो अभिनय यात्रामा पाटेकरले विभिन्न किसिमका भूमिका निर्वाह गरे । ‘अंकुश’, ‘प्रतिघात’, ‘प्रहार’, ‘तिरंगा’, ‘क्रान्तिवीर’, ‘अग्निसाक्षी’, ‘खामोशीः द म्युजिकल’, ‘अब तक छप्पन’, ‘अपहरण’, ‘राजनीति’, ‘वेलकम’ र ‘वेलकम ब्याक’ उनका चर्चित चलचित्र हुन् ।

गम्भीर र दमदार भूमिकामा आफूलाई प्रमाणित गरेका पाटेकरले हास्य तथा व्यावसायिक चलचित्रमा पनि प्रभाव छाडेका थिए । ‘वेलकम’मा उदय शेट्टीको भूमिकाले उनको हास्य अभिनयको अर्को पक्षलाई दर्शकमाझ लोकप्रिय बनाएको थियो ।

पाटेकर पछिल्लो समय पनि चलचित्र क्षेत्रमा सक्रिय थिए । उनको पछिल्लो चलचित्रमा ‘ओ’रोमियो’ पनि रहेको थियो, जसमा शाहिद कपुर र तृप्ति डिमरी मुख्य भूमिकामा थिए । उक्त चलचित्रमा पाटेकरले मुम्बई इन्टेलिजेन्स ब्युरोका प्रमुख इस्माइल खानको भूमिका निर्वाह गरेका थिए ।

Share News