काठमाडौं । सचिव बन्ने पालो नजिकै आए पनि सहसचिवबाट सचिवमा बढुवा हुने प्रतीक्षामा रहेका पाल्पाका दुई वरिष्ठ सहसचिव इमनारायण श्रेष्ठ र श्रीकृष्ण नेपाल भने सचिवको कुर्सीमा पुग्न पाएनन् । ५८ वर्षे उमेरहद पूरा भएपछि दुवै जना सहसचिवबाटै अवकाशमा गए । श्रेष्ठको सचिव बन्ने सम्भावना भ्रष्टाचार मुद्दाका कारण रोकियो भने नेपालले बढुवाको अवसर नपाउँदै अवकाश लिनुपर्यो ।
श्रेष्ठलाई भ्रष्टाचार मुद्दा सचिव बन्ने बाटोमा तगारो बन्यो भने नेपाल सचिवमा बढुवा हुनुअघि नै उमेरहदका कारण सेवाबाट बाहिरिए । नेपाल सचिवमा बढुवाका लागि पहिलो नम्बरमा सिफारिस भएर पनि सचिव बन्न नपाएका वरिष्ठ सहसचिव हुन् ।
२०२४ चैत २६ गते पाल्पामा जन्मिएका इमनारायण श्रेष्ठ शिक्षा प्रशासनतर्फका सहसचिव थिए । आदिवासी जनजाति कोटाबाट २०७१ माघ २९ गते सहसचिव बनेका उनी सचिवमा बढुवा हुने सम्भावना भएका अधिकारीमध्ये थिए ।
मधेश प्रदेशको सामाजिक विकास मन्त्रालयको सचिव हुँदा श्रेष्ठ जनस्वास्थ्य प्रयोगशालाका लागि स्वास्थ्य उपकरण खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा मुछिएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त खरिदमा भ्रष्टाचार भएको अभियोग लगाउँदै श्रेष्ठसहित आपूर्तिकर्ता हस्पिटेक इन्टरप्राइजेजका सञ्चालक विशाल पण्डितविरुद्ध समेत विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारले उक्त मुद्दामा २१ करोड ९ लाख ३९ हजार ७० रुपैयाँ बिगो मागदाबी गरेको थियो । मुद्दा दायर भएपछि श्रेष्ठ निलम्बनमा परेका थिए । त्यससँगै सचिवमा बढुवा हुने उनको सम्भावना रोकिएको थियो ।
श्रेष्ठ निलम्बनमा परेपछि राजेन्द्रकुमार पौडेल सचिवमा बढुवा भएका हुन् । श्रेष्ठ निलम्बनमा नपरेको भए पौडेलको ठाउँमा उनी बढुवा हुन सक्ने सम्भावना थियो । तर, भ्रष्टाचार मुद्दा परेपछि सचिव बन्ने प्रतीक्षामा रहेका श्रेष्ठले सहसचिवकै हैसियतमा अवकाश लिनुपर्यो ।
यसअघि पाल्पाकै अर्का सहसचिव नेपाल पनि सचिवमा बढुवाका लागि पहिलो नम्बरमा सिफारिस भएका थिए । तर, नियमित मन्त्रिपरिषद्को बैठक नबस्दा उनी सचिवमा बढुवा हुन पाएनन् । सचिवमा बढुवाका लागि सिफारिस भए पनि बढुवा हुने अवसर आउनुअघि नै ५८ वर्षे उमेरहद पूरा भएपछि उनले पनि सहसचिवबाटै सरकारी सेवा टुंग्याएका थिए ।
सचिवको एक नम्बरमा सिफारिस भएका नेपाल अनिवार्य अवकाशमा