ट्रम्पको दावी– मैले आठ युद्ध रोकेको छु, मलाई नोबेल शान्ति पुरस्कार दिनुपर्छ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार आफूले नोबेल शान्ति पुरस्कार पाउनुपर्ने बताएका छन् ।

पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘कुनै पनि राष्ट्रपतिले यसअघि युद्ध अन्त्य गराएका छैनन् । मैले आठवटा युद्ध अन्त्य गराएको छु र सायद विश्वलाई पूर्ण रूपमा ध्वस्त हुनबाट समेत रोकेको छु । त्यसैले मैले नोबेल शान्ति पुरस्कार पाउनुपर्छ ।’

सन् २०२६ को नोबेल शान्ति पुरस्कारको घोषणा नर्वेजियन नोबेल समितिले शुक्रबार गर्नेछ ।

पुरस्कारबारे सोधिएको प्रश्नमा ट्रम्पले भने, ‘उनीहरूको निर्णय के हुन्छ, मलाई थाहा छैन । उनीहरूको यस्तो छवि छ कि सायद उनीहरूले मजस्ता व्यक्तिलाई यो पुरस्कार दिँदैनन् ।’

दोस्रो पटक सत्तामा फर्किएपछि ट्रम्पले आफू विश्वकै प्रतिष्ठित पुरस्कारमध्ये एक नोबेल शान्ति पुरस्कारका लागि योग्य रहेको दाबी गर्दै आएका छन् ।

यसअघि पुरस्कार पाएका व्यक्तिले इतिहासमा अरू कसैभन्दा बढी यसको हकदार राष्ट्रपति ट्रम्प रहेको बताएका थिए । 

ट्रम्पले भने, ‘उहाँमार्फत अप्रत्यक्ष रूपमा यस्तो सम्मान पाइसकेकोमा म निकै सम्मानित महसुस गरिसकेको छु ।’

भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोले जनवरीमा आफ्नो सन् २०२५ को नोबेल शान्ति पुरस्कारको पदक ट्रम्पलाई दिएकी थिइन् ।

Share News