काठमाडौं । अमेरिकाको टेनेसी राज्यमा गत साता मृत्युदण्ड दिने प्रयास असफल भएपछि अस्पताल भर्ना गरिएकी क्रिस्टा पाइक अहिले हिँडडुल गर्न सक्ने अवस्थामा पुगेकी छन् ।
उनको कानुनी टोलीका एक सदस्यले यसबारे जानकारी दिएका हुन् ।
बुधबार राति बीबीसी रेडियो–४ को ‘टुडे’ कार्यक्रममा बोल्दै वकिल स्टेफन फेरेलले आफूले पाइकसँग प्रत्यक्ष कुराकानी नगरेको बताए ।
तर, आफूले पाएको जानकारीअनुसार पाइक पहिलोपटक अस्पतालको आफ्नो कोठाभित्र यताउता हिँडडुल गर्न थालेकी छन् । यद्यपि, मानसिक रूपमा भने अझै पनि ‘धुमिलपन’ महसुस गरिरहेको बताइएको छ ।
गत साता पाइकलाई घातक इन्जेक्सनमार्फत मृत्युदण्ड दिने प्रयास गरिएको थियो । तर, दुई पटकको प्रयास असफल भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।
कोलिन स्लेमरको हत्या गरेको अभियोगमा सन् १९९५ मा पाइकलाई मृत्युदण्डको सजाय सुनाइएको थियो । गत बुधबार टेनेसीमा उनलाई घातक इन्जेक्सन दिने दुई प्रयास असफल भएपछि उनी जीवित रहेकी हुन् ।
त्यसपछि उनलाई अस्पताल लगिएको थियो, जहाँ उनी केही दिनसम्म बेहोस अवस्थामा रहिन् । यस क्रममा चिकित्सकहरूले उनको शरीरमा इन्जेक्सनमार्फत प्रवेश गराइएको रसायन बाहिर निकालेका थिए ।
विशेषज्ञ तथा पाइकको कानुनी टोलीले उनको यसरी स्वास्थ्यलाभ हुनु अभूतपूर्व घटना भएको बताएका छन् । घातक इन्जेक्सनबाट बचेको यो घटना सम्भवतः पहिलो भएको बताइएको छ ।