युक्रेन : यात्रुबाहक बसमा रुसी हमला, ३३ जनाको मृत्यु

काठमाडौं । युक्रेनको क्रामातोर्स्क सहरमा यात्रुबाहक दुई बसलाई लक्षित गरी रुसी ग्लाइड बम हमला भएको छ ।

उक्त हमलामा ३३ जनाको मृत्यु भएको र १८ जना घाइते भएको अधिकारीहरूले जनाएका छन् ।

डोनेत्स्क क्षेत्रका प्रमुख वादिम फिलाश्किनका अनुसार रुसी सेनाले सर्वसाधारण यात्रु सवार बसलाई निशाना बनाएर हमला गरेको हो । 

उनले धेरैभन्दा धेरै सर्वसाधारणको ज्यान लिने उद्देश्यले बसलाई लक्षित गरिएको आरोप लगाएका छन् ।

स्थानीय अधिकारीहरूले सार्वजनिक गरेका तस्बिरमा सडकमा छरिएको भग्नावशेष र आगलागी भएको बस देखिएको छ ।

क्रामातोस्र्क र छिमेकी सहर स्लोभियांस्क रुसी सेनाले कब्जा गर्ने प्रयास गरिरहेको किल्लाबन्दी गरिएको क्षेत्रमा पर्छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको औद्योगिक क्षेत्र डोनबासमाथि आफ्नो दाबी गर्दै आएका छन् ।

रुसले भने पछिल्लो हमलाबारे अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन । यो घटना युक्रेनभर रुसी हमलामा वृद्धि भइरहेका बेला भएको हो ।

संयुक्त राष्ट्रसंघका अनुसार सन् २०२६ को अगस्टसम्म युक्रेनमा रुसी हमलामा मारिएका सर्वसाधारणको संख्या सन् २०२५ को पूरै वर्षमा मारिएका सर्वसाधारणको संख्याभन्दा बढी भइसकेको थियो ।

Share News