काठमाडौं । कुनै समय अरूको कम्पनीमा जागिर गरेर व्यवसाय सिकिरहेका पुस्कर ओझा अहिले आफैं सफल व्यवसायीका रुपमा स्थापित छन् । दुई दशकअघि २० वर्षको उमेरमा धनगढीको दिनेश ग्रुपबाट सुरु भएको उनको व्यावसायिक यात्रा आज सुदूरपश्चिमको निजी क्षेत्रको नेतृत्वसम्म आइपुगेको छ । बजाजका मोटरसाइकलबाट सुरु भएको उनको व्यावसायिक यात्रा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्ड हुँदै विद्युतीय गाडीको बजारसम्म विस्तार भएको छ ।
कुनै समय अरूको व्यवसायको व्यवस्थापन सम्हालेका उनी अहिले आफ्नै व्यावसायिक समूहको नेतृत्व गरिरहेका छन् । अटोमोबाइल व्यवसायसँगै उद्योग वाणिज्य क्षेत्रको संस्थागत नेतृत्व र स्थानीय उद्यमशीलता प्रवद्र्धनमा समेत उनको सक्रियता छ । व्यवसायमा प्रवेश गर्दा उनीसँग ठूलो पुँजी थिएन, तर काम सिक्ने उत्साह र भविष्यमा आफ्नै उद्यम गर्ने हुटहुटी थियो । कलेजको पढाइसँगै सुरु भएको जागिरे जीवनले उनलाई बजार, ग्राहक, व्यवस्थापन र व्यवसाय सञ्चालनका व्यावहारिक पक्ष बुझ्ने अवसर दियो । दिनेश ग्रुपमा करिब १० वर्ष महाप्रबन्धकको जिम्मेवारी सम्हाल्दा उनले अटोमोबाइल व्यवसायको व्यवस्थापकीय अनुभव हासिल गरे ।
स्नातक तहको अध्ययन पूरा गरेका उनले व्यवसायमा पूर्णकालीन रूपमा लागेपछि स्नातकोत्तर अध्ययनलाई निरन्तरता दिन सकेनन् । तर कामबाटै सिक्ने र अनुभवलाई व्यवहारमा उतार्ने उनको क्रम रोकिएन । लामो समय अरूको कम्पनीमा काम गरेपछि उनले आफ्नै व्यवसाय सुरु गर्ने निर्णय लिए ।
आज उनी धनगढीस्थित बीवाईडी शोरूमका सञ्चालक, कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष तथा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका केन्द्रीय कार्यसमिति सदस्य हुन् । नाडाको उपाध्यक्षको जिम्मेवारीसमेत सम्हालिसकेका ओझा व्यवसायलाई केवल नाफा कमाउने माध्यमका रूपमा मात्र हेर्दैनन् । ग्राहकको विश्वास, सेवाको गुणस्तर र स्थानीय अर्थतन्त्रमा व्यवसायको योगदानलाई पनि उत्तिकै महत्त्व दिन्छन् ।
जागिरभन्दा आफ्नै पहिचान बनाउने हुटहुटी
धनगढीमा जन्मिएका ओझाको पुख्र्यौली घर डोटी हो । उनका बुवा कैलाली जिल्ला प्रशासन कार्यालयमा अधिकृतका रूपमा कार्यरत थिए । सरकारी सेवामा रहेका बुवाको जीवनशैली नजिकबाट देखेका उनले जागिरको निश्चित तलब र त्यसका सीमितता पनि बुझेका थिए । परिवारको आवश्यकता र आकांक्षा पूरा गर्न एउटै व्यक्तिको तलबमा भर पर्न सहज नभएको उनको अनुभव थियो । यही अनुभवले उनलाई जागिरभन्दा व्यवसायप्रति आकर्षित ग¥यो । सरकारी सेवामा प्रवेश गर्नेभन्दा आफ्नै काम गर्ने र मेहनतअनुसार अघि बढ्ने बाटो रोज्ने सोच युवावस्थामै बनेको थियो ।
‘सरकारी जागिरमा मेरो कहिल्यै खासै रुचि भएन । एउटा तलबले परिवारका सबै आवश्यकता र रहर पूरा गर्न कति कठिन हुन्छ भन्ने मैले महसुस गरेको थिएँ । व्यवसायमा भने आफूले जति समय र मेहनत दिन सकिन्छ, त्यहीअनुसार अघि बढ्ने अवसर हुन्छ,’ उनी भन्छन् । उनका लागि व्यवसाय रोज्नुको अर्थ केवल बढी आम्दानी गर्नु थिएन । आफ्नै निर्णयमा काम गर्ने, नयाँ अवसर खोज्ने र आफ्नो क्षमताअनुसार पहिचान निर्माण गर्ने चाहना पनि थियो । त्यसैले उनले हतारमा व्यवसाय सुरु गर्नुभन्दा पहिले काम सिक्ने र बजार बुझ्ने बाटो रोजे ।
दिनेश ग्रुपमा काम गर्दा उनले व्यवस्थापनसँगै अटोमोबाइल बजारका विभिन्न पक्ष बुझ्ने अवसर पाए । ग्राहकको आवश्यकता, बिक्री व्यवस्थापन, ब्रान्डको बजार रणनीति र सेवा सञ्चालनको अनुभवले उनलाई आफ्नै व्यवसायका लागि तयार बनायो ।
बजाजदेखि बीवाईडीसम्मको व्यावसायिक फड्को
ओझाको व्यावसायिक परिचय अटोमोबाइल क्षेत्रसँग जोडिएको छ । उनले आफ्नो करियरको सुरुवात बजाजका दुईपाँग्रे सवारीसाधनसँग सम्बन्धित व्यवसायबाट गरेका थिए । जागिरे जीवनमा हुन्डाईका गाडीको व्यवसायमा समेत संलग्न हुने अवसर पाए । आफ्नै व्यवसाय सुरु गरेपछि सुजुकीका दुईपाङ्ग्रे सवारीसाधनबाट यात्रा अघि बढाए । त्यसपछि रेनोल्ट, मारुती सुजुकी र एमजीका गाडीको व्यवसायमा जोडिए । हिरो मोटरसाइकलको व्यवसाय पनि उनको व्यावसायिक यात्राको एउटा महत्त्वपूर्ण हिस्सा बन्यो ।
अहिले भने उनको विशेष ध्यान बीवाईडीका विद्युतीय गाडीको बिक्री, सेवा र बजार विस्तारमा केन्द्रित छ । विभिन्न ब्रान्डसँग काम गरेको अनुभवले उनलाई अटोमोबाइल बजारको परिवर्तन नजिकबाट नियाल्ने अवसर दिएको छ । कुनै समय पेट्रोल र डिजेलका गाडीको वर्चस्व रहेको बजारमा विद्युतीय सवारीसाधनको आकर्षण बढ्दै गएको उनी देख्छन् ।
‘अहिले मानिसहरू पेट्रोल र डिजेलका गाडीमा हुने इन्धन खर्च र मर्मतसम्भारको भारबाट छुटकारा खोजिरहेका छन् । विद्युतीय गाडीमा इन्धन खर्च कम हुन्छ, नियमित सर्भिसिङमा पनि बचत हुन्छ । त्यसैले उपभोक्ताको आकर्षण बढिरहेको छ,’ उनी भन्छन् ।
तर, विद्युतीय गाडीको बजार बढ्दै जानु मात्रै पर्याप्त नभएको उनको बुझाइ छ । गाडीको गुणस्तर, ब्याट्री र मोटरको क्षमता, टिकाउपन तथा बिक्रीपछिको सेवा पनि उत्तिकै महत्त्वपूर्ण हुन्छन् । ग्राहकले तत्कालीन मूल्य र सुविधाभन्दा लामो समयको प्रयोगलाई ध्यान दिएर गाडी छनोट गर्नुपर्ने उनको सुझाव छ ।
लगानी विस्तारको तयारी
बीवाईडीको आधिकारिक विक्रेताका रूपमा ओझाले धनगढीमा बिक्रीसँगै सेवाको पूर्वाधार विस्तारलाई प्राथमिकता दिएका छन् । सुरुमा सानो शोरूमबाट सञ्चालन भएको व्यवसाय अहिले बिक्री, सर्भिस र स्पेयर पाट्र्सको सुविधा एकै ठाउँमा उपलब्ध गराउने संरचनामा विस्तार भएको छ ।
उनका अनुसार शोरूम र सर्भिस सेन्टरमा हालसम्म तीन करोड रुपैयाँ लगानी भइसकेको छ । आगामी चरणमा डेन्टिङ-पेन्टिङ, कार वास, चार्जिङ स्टेसन र अन्य सहायक सेवा थप्ने योजना छ । यी पूर्वाधार निर्माण पूरा हुँदा लगानी पाँच करोड रुपैयाँसम्म पुग्ने उनको अनुमान छ ।
गाडीको मौज्दात, खरिद तथा बिक्रीका लागि आवश्यक पुँजीसमेत जोड्दा कुल लगानी २० करोड रुपैयाँसम्म पुग्न सक्ने उनी बताउँछन् । उनको व्यावसायिक योजना गाडी बिक्रीमा मात्र सीमित छैन । तिहारलगत्तै बीवाईडीका एसयूभी मोडेलका लागि छुट्टै आउटलेट सञ्चालन गर्ने तयारी छ । अन्य ब्रान्डका विद्युतीय तथा पेट्रोल–डिजेल गाडीले समेत केही सेवा लिन सक्ने व्यवस्था गर्ने उनको लक्ष्य छ ।
‘गाडी बिक्री गर्नु मात्रै व्यवसायको उद्देश्य हुन सक्दैन । ग्राहकले भोलि समस्या पर्दा कहाँ जाने, स्पेयर पाट्र्स पाइन्छ कि पाइँदैन र समयमै सर्भिस पाउँछन् कि पाउँदैनन् भन्ने कुरा महत्त्वपूर्ण हुन्छ,’ उनी भन्छन् ।
व्यवसायमा ग्राहकको विश्वासलाई दीर्घकालीन पुँजी मान्ने ओझा बिक्रीपछिको सेवामा लगानी गर्नुपर्नेमा जोड दिन्छन् । उनका अनुसार सुदूरपश्चिममा विद्युतीय गाडीको बजार विस्तारसँगै स्थानीय स्तरमै गुणस्तरीय सेवा उपलब्ध गराउनु आवश्यक छ ।

सुदूरपश्चिममा विद्युतीय गाडीको सम्भावना
ओझाका अनुसार अहिले सुदूरपश्चिमका सडकमा बीवाईडीका करिब ३५० गाडी गुडिरहेका छन् । धनगढी, कैलाली र कञ्चनपुरमा बजार बढी केन्द्रित भए पनि डोटी, डडेल्धुरा, अछाम, बझाङ, बैतडी र बाजुरालगायत पहाडी जिल्लामा समेत विद्युतीय गाडी पुगेका छन् ।
पहाडी सडक, भौगोलिक अवस्था र चार्जिङ सुविधालाई लिएर ग्राहकमा केही जिज्ञासा रहने गरेको उनी बताउँछन् । तर, चार्जिङ स्टेसन विस्तार र सर्भिस नेटवर्कको विकासले विद्युतीय गाडीको प्रयोग क्रमशः सहज बनाउँदै लगेको उनको अनुभव छ ।
नेपालका विभिन्न सहरमा बीवाईडीको राष्ट्रिय वितरक साइमेक्स इंकमार्फत सेवा सञ्जाल विस्तार भएको छ । धनगढीबाट सेवा लिन कठिन हुने ठाउँका ग्राहकलाई नेपालगन्ज, सुर्खेत, दाङ, बुटवल र चितवनलगायतका सर्भिस नेटवर्कबाट सहयोग लिन सकिने उनी बताउँछन् ।
‘धनगढीबाट काठमाडौं जाँदा बाटोमा दुईदेखि तीन ठाउँमा चार्ज गरेर पुग्न सकिने गाडी पनि आएका छन् । चार्ज गर्ने समयमा केहीबेर आराम गर्न र खाजा खान सकिन्छ । त्यसैले लामो दूरीको यात्रामा पनि विद्युतीय गाडीको प्रयोग सहज हुँदै गएको छ,’ उनी भन्छन् ।
ग्राहकको विश्वास जित्न बिक्रीपछि पनि साथ दिनुपर्ने उनको मान्यता छ । दसैं–तिहारजस्ता चाडपर्वमा देशका विभिन्न भागबाट सुदूरपश्चिम घुम्न आउने पर्यटकको गाडी बाटोमा बिग्रिए सहयोग पु¥याउने उद्देश्यले २४ घण्टे सहायता उपलब्ध गराउने गरिएको उनी बताउँछन् ।
‘काठमाडौंबाट घुम्न आएका ग्राहकको गाडी बाटोमा बिग्रियो भने पनि हामीले सम्भव भएसम्म मेकानिक पठाएर सहयोग गर्छौं । चाडपर्वमा पनि ग्राहकलाई सेवा उपलब्ध गराउन हाम्रो प्रयास रहन्छ,’ उनी भन्छन् ।

परिवारसँगै व्यवसायको नेतृत्व
ओझाको व्यवसाय सञ्चालनको अर्को विशेषता परिवारभित्र जिम्मेवारी बाँडफाँट हुनु हो । उनी बीवाईडीको व्यवसायमा केन्द्रित छन् भने भाइले सुजुकीको व्यवसाय सम्हालिरहेका छन् । उनकी श्रीमतीले हिरो मोटरसाइकलको व्यवसाय हेर्छिन् । फरक ब्रान्डको जिम्मेवारी परिवारका सदस्यले सम्हाल्दा प्रत्येक व्यवसायमा छुट्टाछुट्टै ध्यान दिन सहज भएको उनी बताउँछन् ।
व्यवसाय विस्तारसँगै उनले भविष्यका सम्भावनालाई पनि नियालिरहेका छन् । अटोमोबाइल क्षेत्रमा लामो समय बिताएका ओझाको रुचि अब पर्यटन तथा आतिथ्य क्षेत्रमा समेत विस्तार गर्ने योजना छ । धनगढीबाट माथि बुढीतोलामा जग्गा लिएका उनले त्यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने सम्भावना अध्ययन गरिरहेका छन् ।
विशेषगरी भारतको उत्तर प्रदेशबाट पर्यटक आकर्षित गर्न सके सुदूरपश्चिमको पर्यटन र स्थानीय अर्थतन्त्रमा योगदान पुग्ने उनको विश्वास छ । करिब २२-२३ करोड जनसंख्या रहेको उत्तर प्रदेशको बजारलाई लक्ष्य गर्न सके पर्यटन व्यवसायमा राम्रो सम्भावना देख्ने उनी यस योजनालाई अहिले प्रारम्भिक चरणमा रहेको बताउँछन् ।
व्यवसायी मात्रै होइनन्, संस्थागत नेतृत्वमा पनि सक्रिय
ओझाको परिचय व्यापार र लगानीमा मात्र सीमित छैन । उनी कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका केन्द्रीय कार्यसमिति सदस्य तथा पूर्वउपाध्यक्ष हुन् । रोटरी क्लब अफ धनगढी, कैलालीका पूर्वअध्यक्ष र नेपालीज यङ इन्टरप्रेनर्स फोरमका संस्थापक अध्यक्षसमेत रहेका उनी ह्युम्यानिटी फाउन्डेसन नेपालका उपाध्यक्षका रूपमा पनि आबद्ध छन् । कोभिड-१९ महामारीका बेला उद्धार र अक्सिजनलगायत सहयोगका काममा सक्रिय रहेको ह्युम्यानिटी फाउन्डेसनसँगको आबद्धताले उनको सामाजिक सक्रियतालाई पनि देखाउँछ ।
कैलाली उद्योग वाणिज्य संघको नेतृत्वमा पुगेपछि उनले स्थानीय व्यवसायीका समस्या, सीमावर्ती नाकामा हुने अवैध व्यापार नियन्त्रण र व्यवसायमैत्री वातावरण निर्माणका विषयलाई प्राथमिकतामा राखेका छन् । संघमा आबद्ध व्यवसायीका लागि प्रतिव्यक्ति एक लाख रुपैयाँ बराबरको दुर्घटना बीमा व्यवस्था गरिएको र सुदूरपश्चिम महोत्सवमा स्टल शुल्क छुटलगायत सुविधा उपलब्ध गराइएको उनी बताउँछन् ।
स्थानीय युवालाई स्वरोजगार बनाउने उद्देश्यले महोत्सवका अवसरमा इनोभेसन सेन्टरको अवधारणा अघि सारिएको छ । यस कार्यक्रममार्फत करिब ७० युवालाई लक्षित गरिएको उनको भनाइ छ । कलेजबाट अध्ययन पूरा गरेका ३५ जना र विदेशबाट सीप सिकेर फर्किएका वा स्थानीय स्तरमै व्यवसाय सुरु गर्न चाहने अन्य ३५ जनालाई लक्षित गरी स्वरोजगारका अवसर सिर्जना गर्ने योजना बनाइएको छ ।
उनको बुझाइमा स्थानीय स्तरमा रोजगारी र उद्यमशीलता बढाउन सके युवालाई आफ्नै ठाउँमा सम्भावना खोज्न प्रेरित गर्न सकिन्छ । यसका लागि निजी क्षेत्रले लगानी मात्र होइन, नीतिगत पैरवी र संस्थागत सहकार्यमा पनि भूमिका खेल्नुपर्छ । अटोमोबाइल क्षेत्रका संस्था नाडा र नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) बीच सहकार्य आवश्यक रहेको उनको धारणा छ । दुवै संस्थाले केही दिनको अन्तरमा छुट्टाछुट्टै अटो शो आयोजना गर्नुभन्दा संयुक्त रूपमा कार्यक्रम गर्न सके व्यवसायी र उपभोक्ता दुवैलाई लाभ पुग्ने उनको व्यक्तिगत बुझाइ छ ।

अनुभवलाई नयाँ सम्भावनासँग जोड्ने लक्ष्य
दुई दशक लामो व्यावसायिक यात्राले ओझालाई एउटा कुरा सिकाएको छ- व्यवसायमा सफलता पाउन बिक्री गर्न जान्नु मात्रै पर्याप्त हुँदैन, ग्राहकको आवश्यकता बुझ्न र उनीहरूको विश्वास कायम राख्न पनि सक्नुपर्छ । अहिले नेपालमा विद्युतीय गाडीका नयाँ ब्रान्ड थपिँदै गएका छन्। यस्तो अवस्थामा उपभोक्ताले मूल्य र सुविधाको आकर्षणमा मात्र निर्णय नगरी ब्याट्री, मोटर, गुणस्तर, स्पेयर पाट्र्सको उपलब्धता र बिक्रीपछिको सेवाबारे जानकारी लिनुपर्ने उनको सुझाव छ ।
जागिरे जीवनमा सिकेको व्यवस्थापन, बजारमा कमाएको अनुभव र ग्राहकसँगको सम्बन्धलाई उनले आफ्नै व्यवसायको आधार बनाएका छन् । बजाजका मोटरसाइकलबाट सुरु भएको यात्रा आज बीवाईडीका विद्युतीय गाडीको बजारसम्म आइपुग्दा उनको व्यावसायिक प्राथमिकता पनि फेरिएको छ ।
अब उनको ध्यान धनगढीमा बिक्री, सर्भिस र आवश्यक पूर्वाधारलाई एउटै संरचनामा विस्तार गर्ने तथा प्रदेशभर ग्राहकलाई सहज सेवा उपलब्ध गराउनेतर्फ छ । साथै, पर्यटन र स्थानीय उद्यमशीलतामा नयाँ सम्भावना खोज्ने उनको योजना पनि छ । जागिरमा सिकेको सीपलाई उद्यममा बदल्दै संस्थागत नेतृत्वसम्म पुगेका ओझाका लागि व्यावसायिक यात्रा अझै जारी छ ।