२.८५ अर्बमा कुपण्डोलमा पाँचतारे होटल बन्दै, प्रतिकोठा लागत २.७० करोड

काठमाडौं । ललितपुरको कुपण्डोलमा अन्तर्राष्ट्रिय होटल ब्रान्ड हायात प्लेसको पाँचतारे होटल निर्माण भइरहेको छ । अनिशा अग्रवाल र गणेश अग्रवालको समान लगानी रहेको सायन होटल्स प्रालिले १०५ कोठाको होटल निर्माण गरिरहेको हो । कम्पनीले सन् २०२८ अप्रिलको मध्यदेखि होटल सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ ।

व्यावसायिक प्रतिस्पर्धा, बढ्दो निर्माण लागत र उच्च ऋणभारका बीच अघि बढिरहेको यो परियोजना निर्धारित समयमै सम्पन्न गर्नु कम्पनीका लागि महत्त्वपूर्ण चुनौती बनेको छ । होटल निर्माणको काम सन् २०२६ सेप्टेम्बर २१ सम्म करिब ४८ प्रतिशत पूरा भएको कम्पनीले जनाएको छ । 

सन् २०२१ सेप्टेम्बरमा स्थापना भएको सायन होटल्सले सुरुमा ११२ कोठाको होटल निर्माण गर्ने योजना बनाएको थियो । पछि योजनामा संशोधन गर्दै कोठाको संख्या १०५ मा सीमित गरिएको हो । करिब १५ हजार ५७ वर्गफिट क्षेत्रफलको जग्गामा निर्माण भइरहेको होटलको बाँकी काम निर्धारित समयभित्र पूरा गर्ने कम्पनीको लक्ष्य छ ।

कम्पनीले होटल निर्माणको काम सन् २०२७ अक्टोबरको मध्यसम्ममा सम्पन्न गर्ने योजना बनाएको छ । तर, हायातको मापदण्ड पूरा गर्ने प्रक्रिया तथा सञ्चालनपूर्वका तयारीका कारण व्यावसायिक सेवा सुरु हुन सन् २०२८ अप्रिलको मध्यसम्म लाग्ने अनुमान गरिएको छ । यसअघि सन् २०२७ जुलाईको मध्यदेखि सञ्चालन सुरु गर्ने योजना थियो ।

होटल निर्माणका लागि परियोजनाको संशोधित कुल लागत २ अर्ब ८५ करोड ७० लाख रुपैयाँ अनुमान गरिएको छ । यो यसअघिको अनुमानभन्दा करिब चार प्रतिशत कम हो । यद्यपि, निर्माण सामग्रीको मूल्यवृद्धि, अमेरिकी डलर तथा चिनियाँ युआनको तुलनामा नेपाली रुपैयाँ कमजोर हुनु र निर्माण अवधि लम्बिनुले लागत बढ्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार परियोजनाको लागतमा जग्गा खरिदले पनि ठूलो हिस्सा ओगटेको छ । हालसम्मको वित्तीय प्रगतिमा जग्गा खरिदको लागतबाट मात्रै करिब १७ प्रतिशत योगदान रहेको छ । कुपण्डोलमा जग्गा खरिद गर्नुपर्दा होटलको प्रतिकोठा लागत करिब दुई करोड ७० लाख रुपैयाँ पुगेको छ । उक्त लागतमा क्यासिनो र भोजभतेर आयोजना गर्ने हल निर्माणको खर्चसमेत समावेश रहेको कम्पनीले जनाएको छ ।

सायन होटल्सले परियोजनाका लागि दुई अर्ब रुपैयाँ ऋण लिएको छ । यसअघि दुई अर्ब पाँच करोड रुपैयाँ ऋणको प्रस्ताव गरिएको थियो । परियोजनाको कुल लागतको करिब ७० प्रतिशत ऋणबाट जुटाउने योजना रहेको छ ।

परियोजनाका लागि आवश्यक ऋणको व्यवस्था पूरा भएको कम्पनीको भनाइ छ । यसअघि आवश्यक ऋणको करिब ३९ प्रतिशतको मात्रै व्यवस्था भएको थियो । त्यस्तै, प्रवर्द्धकले हालसम्म आवश्यक स्वपुँजीको करिब ३२ प्रतिशत लगानी गरेका छन् । यसअघि यस्तो लगानी करिब १७ प्रतिशत थियो ।

अनिशा अग्रवाल र गणेश अग्रवालको कम्पनीमा समान ५०-५० प्रतिशत सेयर स्वामित्व रहेको छ । परियोजनाको वित्तीय संरचनामा ऋणको हिस्सा ठूलो रहेकाले होटल सञ्चालनमा आएपछि आम्दानी अपेक्षाअनुसार हुन नसके ऋणको साँवा तथा ब्याज भुक्तानीमा दबाब पर्न सक्छ । होटल व्यवसायमा कर्मचारी, भवन मर्मतसम्भार, ऊर्जा तथा अन्य सञ्चालन खर्चको ठूलो हिस्सा नियमित रूपमा व्यहोर्नुपर्ने हुन्छ । त्यसैले कोठा उपयोग दर कम हुँदा वा आम्दानी अनुमानभन्दा घट्दा नाफा र नगद प्रवाहमा प्रत्यक्ष असर पर्न सक्छ ।

होटलले अन्तर्राष्ट्रिय ब्रान्डको पहिचान र सुविधाका आधारमा ग्राहक आकर्षित गर्ने कम्पनीले अपेक्षा गरेको छ । तर, बजारमा पहिलेदेखि सञ्चालनमा रहेका होटल तथा नयाँ प्रवेश गर्ने प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता छ ।

Share News