काठमाडौं । इजरायलका राष्ट्रपति इसाक हर्जोगले राजनीतिक दलका नेताहरूसँग परामर्श गरेपछि बेन्जामिन नेतन्याहूका कट्टर आलोचक गादी आइजेनकोटलाई नयाँ सरकार गठन गर्न निमन्त्रणा दिएका छन् ।
राष्ट्रपति हर्जोगले यस्तो निर्णय सार्वजनिक गर्नुभन्दा एक घण्टाअघि कार्यवाहक प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले विपक्षी दल र अरब पार्टीहरूबीच हुन सक्ने गठबन्धनले देशलाई पतनतर्फ धकेल्ने चेतावनी दिएका थिए ।
बीबीसी फारसीका अनुसार नेतन्याहूले भिडियो सन्देश जारी गर्दै इस्लामवादीहरूसँग सम्बन्धित यस्तो सरकारले इजरायललाई भित्रैबाट कमजोर बनाउने बताएका थिए ।
उनले भनेका थिए, ‘यस्तो सरकारले युरोपेली देशहरूमा भइरहेको जस्तै अवस्था निम्त्याउनेछ र त्योभन्दा पनि खराब स्थिति सिर्जना गर्न सक्छ ।’
आइजेनकोट इजरायली सेनाका पूर्वप्रमुख हुन् । उनले सन् २०२२ मा राजनीतिमा प्रवेश गरेका थिए ।
सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गरेपछि उनी नेतन्याहू नेतृत्वको युद्ध मन्त्रिपरिषदमा समेत सहभागी भएका थिए । तर, पछि उनी नेतन्याहूका आलोचक बने ।
पछिल्ला वर्षहरूमा उनले गाजा युद्धप्रति नेतन्याहूले अपनाएको रणनीतिको आलोचना गर्दै आएका छन् । त्यस्तै, प्यालेस्टिनीहरूमाथि इजरायली बस्तीका बासिन्दाले गरेको हिंसाको समेत उनले निन्दा गरेका छन् ।
गाजा युद्धमा आफ्नो एक छोरा र दुई भतिजा गुमाएका आइजेनकोटले चुनावी अभियानका क्रममा आफ्नो सैनिक तथा सुरक्षा क्षेत्रको अनुभवलाई प्रमुखताका साथ प्रस्तुत गरेका थिए ।